प्रमुख समाचार

पर्वतको मल्लाजमा दम्पती हत्यामा संलग्नको आरोपमा दुई पक्राउ

By लोकतन्त्र अनलाईन

April 30, 2024

पर्वत १८ वैशाख ः पर्वतको जलजला गाउँपालिका-२, मल्लाजमा एक महिना अघि भएको दम्पती हत्यामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

निरन्तरको अनुसन्धान र खोजतालसपछि मंगलवार दुई युवा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), जिल्ला प्रहरी कार्यालय पर्वत र गण्डकी प्रदेश प्रहरी कार्यालयको निरन्तरको अनुसन्धानपछि दुई जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा म्याग्दीका कृष्ण विक र दिपक परियार रहेका छन् । उनिहरुको थप विवरण भने पत्रकार सम्मेलन गरेर जानकारी दिईने प्रहरी नायब उपरिक्षक खुमलाल भुसालले जानकारी दिनुभयो । प्रहरीका अनुसार विकलाई म्याग्दी र परियारलाई पोखराबाट पक्राउ गरेर थप अनुसन्धान भैरहेको छ ।

अहिलेसम्मको सोधपुछ र अनुसन्धानमा लुटपाट गर्ने उद्देश्यले नै हत्या भएको देखिएको प्रहरीले जनाएको छ । गत चैत्र १९ गते राती ९ बजेसम्म आफन्तसँग फोनमा कुराकानी गरेर सुतेका ६९ वर्षीय सूर्यबहादुर जिसी र उहाँकी श्रीमती ६७ वर्षीया गमला जिसी चैत्र २० गते विहान ९ बजे मृत अवस्थामा भेटिएका थिए ।

पर्वतका प्रहरी नायब उपरिक्षक खुमलाल भुसालले हत्या घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको बताउनुभयो । हत्यामा संलग्न प्रहरी नियन्त्रणमा आइसकेको बताउँदै अबको चौविस घण्टा भित्रमा पत्रकार सम्मेलन गरेर हत्यामा संलग्नलाई सार्वजनिक गर्ने बताउनुभयो । हत्या घटनाको अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले गरेको थियो ।

नियन्त्रणमा लिएका माथि थप अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ । घटनास्थल जिल्ला प्रहरी कार्यालय पर्वत भन्दा म्याग्दीबाट नजिक पर्ने भएकाले म्याग्दी सदरमुकाम बेनीलाई आधार बनाएर प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

जिल्ला प्रहरी कार्यालय पर्वत र म्याग्दी, गण्डकी प्रदेश प्रहरी कार्यालय गरी तीन कार्यालयका अब्बल अनुसन्धान अधिकृतले हत्यारा पत्ता लगाउन खटिँदा समेत आरोपी पत्ता लाग्न नसकेपछि प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरको निर्देशनमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले २८ चैतमा प्रहरी निरिक्षकको नेतृत्वमा तीन जनाको टोली पठाएको थियो ।