प्रमुख समाचार

मोदीमा ‘सिक्दै कमाउँदै, पढ्दै रमाउँदै’ कार्यक्रमका लागि दुई विद्यालय छनौट

By लोकतन्त्र अनलाईन

April 30, 2024

पर्वत- व्यवाहारिक ज्ञान र सीपमुलक शिक्षा तर्फ आकर्षण बढाउने उद्धेश्यले पर्वतका विभिन्न स्थानीय तहले विद्यार्थीलाई कृषि कर्ममा लगाउन थालेका छन् ।

जिल्लाको मोदी गाउँपालिकाले विद्यार्थीकेन्द्रीत कार्यक्रम थालेको हो । विद्यालयमा पढाई हुने भन्दा अतिरिक्त समयमा करेसावारीमा तरकारी, फलफुल लगायत मौसम अनुसारका अन्नपात उत्पादन गर्नतर्फ आकर्षित गराउन मोदी गाउँपालिकाले ‘सिक्दै कमाउँदै, पढ्दै रमाउँदै’ कार्यक्रम संचालन गरेको छ ।

चालु आर्थिक वर्षवाट शुरुवात गरिएको यो कार्यक्रममा दुवै गाउँपालिकाले दुई दुईवटा विद्यालय छनौट गरेर विद्यार्थीलाई कृषि कर्ममा लगाउन थालेका हुन् । मोदी गाउँपालिकाले उक्त कार्यक्रमका लाग चालु आर्थिक वर्षमा रु. दुई लाख रुपैया बिनीयोजन गरेको छ । यो कार्यक्रमका लागि वडा नं. २ मा रहेको जननेत्र मावि देउपुर र वडा नं. ६ मा रहेको तुलोदय मावि छनौट गरिएको छ । बैकिल्पक विद्यालयको रुपमा गुरुङगाउँ आधारभुत विद्यालय खुईजरी छनौट गरिएको उपाध्यक्ष बिमल लामिछानेले जानकरी दिनुभयो ।

छनौट भएका विद्यालयलाई सात दिन भित्र गाउँपालिकामा सम्पर्क गर्न अनुरोध गरिएको छ । उक्त कार्यक्रममा छनौट भएका विद्यालयले २० प्रतिशत लागत साझेदारी गर्नुपर्ने मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माले जानकारी दिनुभयो । यो कार्यक्रमले विद्यार्थीहरुले विद्यालयमा अन्नवाली लगाउन सिक्ने र घरमा समेत बाबुआमालाई कृषि कर्ममा सघाउने भएकाले प्रभावकारी हुने विश्वास लिएको उहाँको भनाई छ । उनिहरुले लगाएको तरकारी, फलफुल लगायतवाट भएको आम्दानी विद्यार्थीलाईनै दिने भएकाले पढाई खर्चमा समेत टेवा पुग्ने शर्माले बताउनुभयो ।

यस वर्ष दुईवटा विद्यालयमा यो कार्यक्रम संचालन गरिने र यसको प्रभावकारिता हेरेर अर्को वर्षदेखि अन्य विद्यालयमा समेत विस्तार गरिने शर्माले बताउनुभयो । शहरबजारमा बस्ने विद्यार्थीहरुले अन्नवाली लगाउने तरिकानै विर्सिसकेको अवस्थामा उनिहरुलाई परम्परागत र आधुनिक प्रविधिवाट अन्नवाली लगाउने सिप समेत शिक्षक र पालिकाका कृषि प्राविधिकहरुवाट सिकाईने भएको छ ।

पर्वतको पैंयँु गाउँपालिकामा पनि एक विद्यालय एक करेशावारी कार्यक्रम अन्तर्गत दुई विद्यालय छनौट गरेर यस वर्षदेखि कार्यक्रम शुरु गरिएको छ ।