प्रमुख समाचार

पैयूँमा पहिलो पटक शिक्षक हाजिरीजवाफ प्रतियोगिता, निर्मल जनसेवा प्रथम

By लोकतन्त्र अनलाईन

November 29, 2024

 पर्वत- पर्वतको पैयूँ गाउँपालिकाले शिक्षक प्रतिभा पहिचान अभियान अन्तर्गत पहिलो पटक शिक्षक हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ ।

प्रतियोगितामा निर्मल जन सेवा माविले प्रथम स्थान हासिल गर्न सफल भएको छ। प्रतियोगितामा जन सेवा संस्कृत माविले दोस्रो स्थान प्राप्त गरेको छ भने विनु माविले तेस्रो स्थान हात पार्‍यो। क्यामुने मावि सान्त्वना स्थानमा सीमित रह्यो।

कार्यक्रमको उद्घाटन पैयूँ गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले गर्नु भएको थियो। उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ठकुरीले शिक्षाको गुणस्तर सुधारका लागि शिक्षकहरूको ज्ञान, क्षमता र जिम्मेवारीमा सुधार ल्याउन यस्ता कार्यक्रम महत्त्वपूर्ण हुने बताउनुभयो। उहाँले भन्नुभयो, “शिक्षकहरू समाज परिवर्तनका मुख्य चालक शक्ति हुन्। उनीहरूको सीप र ज्ञानलाई अझ सुदृढ गर्न गाउँपालिकाले यस्ता प्रतियोगिताहरूलाई प्राथमिकतामा राख्नेछ।”

गाउँपालिकाले शिक्षकहरूको ज्ञान र प्रतिभालाई उजागर गर्न र शिक्षाको गुणस्तरमा सुधार ल्याउनका लागि यो कार्यक्रम आयोजना गरेको हो। कार्यक्रमको समापन गर्दै पैयूँ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन गैरेले यस्तो प्रकारका प्रतियोगिताहरूले शिक्षकहरूको क्षमतामा अभिवृद्धि गर्ने र शिक्षामा गुणस्तरीयता थप्ने विश्वास व्यक्त गर्नु भयो । उहाँले आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ प्रभावकारी रूपमा सञ्चालन गरिने प्रतिबद्धता समेत जनाउनु भयो ।

यो कार्यक्रम शिक्षकहरूको ज्ञान परीक्षण, रचनात्मकता र टीमवर्कमा आधारित थियो, जसले सहभागीहरूलाई आफ्नो क्षमताको प्रदर्शन गर्ने अवसर प्रदान गर्‍यो। प्रतियोगितामा सहभागी विद्यालयहरूलाई सम्मानपत्र तथा पुरस्कार प्रदान गरिएको थियो। गाउँपालिकाले आगामी वर्षहरूमा अझ धेरै विद्यालयहरूलाई सहभागी गराउँदै, यो कार्यक्रमलाई नियमित रूपमा आयोजना गर्ने लक्ष्य लिएको छ।