पर्वत, १७ वैशाख- पर्वतको फलेवास नगरपालिका वडा नं. ९ भंगरामा मृत चितुवा भेटिएको छ ।
स्थानीय लप्सी खोलामा आईतवार बिहान अन्दाजी ३/४ वर्ष उमेरको भाले चितुवा मृत भेटिएको हो । मृत अवस्थामा चितुवा भेटिएको स्थानीयवासीको खबरपछि पुगेको प्रहरी र डिभिजन वन कार्यालयको टोलीले मुचुल्का गरेर उद्धार गरेको थियो ।
मृत चितुवालाई डिभिजन वन कार्यालय पर्वतको परिसरमा ल्याएर कार्यालयका कर्मचारी र प्रहरीको रोहबरमा गाडिएको डिभिजन वन कार्यालय पर्वतका सहायक वन अधिकृत गोबिन्दबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार चितुवाको शरिरमा कुनै घाउ वा चोटपटक लागेको छैन । प्राकृतिक कारणले नै मरेको हुनसक्ने थापाले बताउनुभयो । चितुवा तीन/चार दिन पहिलेनै मरेको जस्तो अवस्थामा रहेको थियो ।
आहाराको कमी, चितुवाहरुबीच हुने लडाई, रुख वा भिरवाट खसेर वा लडेर जस्ता कारणले पनि मृत्यु हुन सक्ने थापाले बताउनुभयो । पर्वतमा दुई वर्ष यता चितुवा मृत भेटिने क्रम बढेर गएको छ । गत वर्ष मात्रै ९ वटा चितुवा मृत भेटिएका थिए ।