प्रमुख समाचार

नेकपा माले पर्वतका संस्थापक पौडेलको निधन

By लोकतन्त्र अनलाईन

October 27, 2024

पर्वत- नेकपा माले पर्वतका संस्थापक मध्येका एक बाबुराम पौडेलको निधन भएको छ । साविक पर्वतको फलेवास नगरपालिका वडा नं. १ कार्किनेटा घर भई हाल चितवनको टाँडी निवासी पौडेलको ८० वर्षको उमेरमा आइतवार निधन भएको हो । २०३६ साल असोज २४ गते पर्वतमा नेकपा माले स्थापना भएको थियो । तत्कालीन अवस्थामा कृष्णप्रसाद भट्टराई, गणेश शर्मा पौडेल, तोयानाथ चालिसे, बाबुराम पौडेल र विष्णुप्रसाद भट्टराईको सक्रियतामा पार्टी स्थापना भएको थियो । अन्य चार जना जिवितनै रहनुभएको छ । नेकपा एमाले पर्वतले संस्थापकहरुको अभिलेख तयार गर्ने, सम्मान गर्ने र अनुभव आदानप्रदान गर्ने कार्यक्रमको तयारी गरेका बेला संस्थापक मध्येका पौडेलको निधन भएको हो । लामो समयदेखि विभिन्न रोगवाट ग्रसित पौडेलको निधनले सिंगो नेकपा एमालेलाई अपुरणीय क्षति पुगेको नेकपा एमाले पर्वतका अध्यक्ष गोविन्द पहाडीले बताउनुभयो । उहाँको योगदानकै कारण नेकपा एमाले अहिलेको अवस्थामा आईपुगेको भन्दै उहाँको योगदान र मार्गदर्शनलाई पार्टीले सदैव स्मरण गरिरहने बताउनुभयो । पञ्चायती असहजताकाे बेला पनि उहाँ हिम्मतका साथ कम्युनिस्ट पार्टी स्थापनामा लागी पर्नु भएको थियो।  उहाँले मृतात्माप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना समेत प्रकट गर्नुभएको छ । नेकपा एमाले पर्वतलाई यो स्थानसम्म ल्याईपुर्‍याउनका लागि जिल्लामा कोकोले के योगदान गर्नुभएको रहेछ भन्ने बारेमा भावि पुस्तालाई समेत जानकारी गराउनका लागि यो अभिलेख राख्ने कार्य एमालेले गरिरहेको छ । स्थापनाकालदेखि अहिलेसम्म स्वर्गिय पौडेल सहित १४ जनाले माले र एमाले पर्वतको नेतृत्व गरिसक्नुभएको छ ।