पर्वत – अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता व्यवस्थापन दिवसको अवसरमा पर्वतको विहादी गाउँपालिकामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय पर्वतको आयोजना र विहादी गाउँपालिकाको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो । महिनावारी स्वास्थ्य र पुरुष सहभागिता विषयक विद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगितामा शालिग्राम माविकी प्रतिमा तिवारी प्रथम, चन्द्र मावि उरामकी अमृता थापा द्धितिय, चन्द्र मावि खोरपोखराका प्रतिक कँडेल तृतिय र वहाकी माविकी नितु भट्टराई उत्कृष्ट सहभागि भएकी छिन् । बिजयी छात्राछात्रलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम विकले महिनावारीका बेला महिलाहरुको स्वास्थ्यको विशेष ख्याल गर्नुपर्ने बताउनुभयो । महिनावारी भएको बेला अझैपनि महिलाहरुलाई घर बाहिर र असुरक्षित ठाउँमा राख्ने प्रचलन रहेको भन्दै यस्ता रुढीवादी परम्पराको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । विहादी गाउँपालिकाका अध्यक्ष परबीन गुरुङले महिलाहरुको स्वास्थ्य अवस्थालाई पुरुषहरुले समेत उत्तिकै ध्यान दिनुपर्नेमा जोड दिनुभयो । महिनावारी भएको बेला उचित सरसफाई र आवश्यक आरामको आवश्यकता पर्ने भएकाले यसमा परिवारले पनि उचित ध्यान पुर्याउन आग्रह गर्नुभयो । गाउँपालिकाका अध्यक्ष गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विहादी गाउँपालिकाकी उपाध्यक्ष मिना तिवारी, प्रमुख प्रशासकिय अधिकृत हरिप्रसाद भुसाल, शिक्षा शाखा प्रमुख दिनेश भुसाल लगायतले बोल्नुभएको थियो ।
कार्यक्रमको स्वागत स्वास्थ्य कार्यालय पर्वतका परिवार नियोजन सुपरभाईजर नारायण रेग्मी र संचालन विहादी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भुपेन्द्रनाथ पौडेलले गर्नुभएको थियो । कार्यक्रमको बारेमा अन्जली पाैडेलले जानाकारी गराउनुभएको थियो ।