प्रमुख समाचार

पर्वत जिल्ला नघुमेका र घुमेका स्थानहरु

By लोकतन्त्र अनलाईन

October 26, 2024

                                                               याम बहादुर थापा मगर पर्वत जिल्लाको परिचय पर्वत जिल्ला गण्डकी प्रदेश अन्तर्गत पर्ने एक पहाडी जिल्ला हो ।  यो जिल्ला ८३ डिग्री ३३ मिनेट ४० सेकेण्ड देखि ८३ डिग्री ४९ मिनेट ३० सेकेण्ड सम्म पूर्वी देशान्तर र २८ डिग्री १९ सेकेण्ड देखि २८ डिग्री २३ मिनेट ५९ सेकेण्ड उत्तरी अक्षांशसम्म फैलिएर रहेको छ । धेरैजसो पहाडी भूभाग रहेको यस जिल्लामा खोंच, बेसी तथा उच्च डाँडाकाँडाहरु रहेका छन ।  पश्चिम नेपालको पहाडी क्षेत्रमा अवस्थित पर्वत जिल्ला ४९४ वर्ग कि.मि (४९,४०० हेक्टर) क्षेत्रफल भित्र फैलिएको छ । समुन्द्र सतहबाट ५२० मिटर उचाईमा रहेको सेतीवेणी देखि ३३०९ मिटर अग्लो शालिजा हम्पालको लेकसम्मको भू–भाग रहेको यस जिल्लाको सदमुकाम कुश्मा रहेको छ । धरातलीय र भौगोलिक विविधता अनुसार नै यस जिल्लामा हावापानी र अन्य प्राकृतिक अवस्थामा पनि सामान्य विविधता पाइन्छ । गर्मी हावापानी देखि केही ठण्डा हावापानीले गर्दा जैविक विविधताका दृष्टिले यो जिल्ला प्रसिद्ध छ । भौगोलिक र वातावरणीय विविधताले गर्दा यहाँ प्रशस्त नदी नाला तथा खोलाहरु बग्छन, जसले वर्षेनी विपद्का घटनाहरु हुने गर्दछन । यस जिल्लाको पूर्वमा कास्की र स्याङ्जा, पश्चिममा गुल्मी र बाग्लुङ, उत्तरमा म्याग्दी जिल्ला र दक्षिणमा स्याङ्जा र गुल्मी जिल्ला पर्दछन् । यो जिल्ला १ प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र, २ प्रदेश सभा निर्वाचन क्षेत्र तथा ५ गाउँपालिका र २ नगरपालिका गरी ७ स्थानीय तहमा विभाजित रहेकोे छ । वि.सं. २०७८ को राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा अनुसार यस जिल्लामा घरधुरी ३३,०५३ मा बसोवास गर्ने ३७,६०५ परिवार छन् । जिल्लाको कुल जनसंख्या १,३२,७०३ मध्ये महिला ६९,५७५ र पुरुष ६३,१२८ छ ।   जिल्लाको जनघनत्व २९.७ वर्ग कि.मि. रहेको देखिन्छ । यस जिल्लामा गुरुङ्ग, मगर, ब्राह्मण, क्षेत्री, नेवार, कुंवर, घर्ती, ठकुरी, सन्यासी, कुमाल, बोटे, माझी, थकाली, मुस्लिम, दमाई, कामी, सार्की जस्ता विभिन्न जातजाति र समुदायको बसोवास भएको पाइन्छ । यहाँ सबै भन्दा बढी नेपाली भाषा बोल्ने समुदाय रहेका छन् भने क्रमशः नेवारी, गुरुङ्ग, मगर हिन्दी, भाषा बोल्ने व्यक्तिहरुको बसोवास रहेको छ । यस जिल्लाको अधिकाशं जनसंख्या कृषिमा आश्रित छन् । वैदेशिक रोजगारमा पनि यहाँका व्यक्तिहरु हुदाँ रेमिट्यान्स पनि मुख्य आयस्रोत हो । पर्वत जिल्लामा कुश्मा र फलेवास नगरपालिका तथा जलजला, महाशिला,मोदी,विहादी,पैयुं गाऊँपालिका रहेका छन् । राजनैतिक विभाजन अनुसार एक प्रतिनिधि सभा निर्वाचन क्षेत्र, २ प्रदेश सभा निर्वाचन क्षेत्र रहेको छ । मेरो जन्मस्थान बागलुङ भकुण्डेबाट सालिजा, जलजला, बनौ, पाङ, दुर्लुङकोट,राम्जाको केही गाऊँ, कुश्मा बजार, छर्मके स्थानहरु देखिन्छ । पर्वत जिल्लाको बारेमा बहुत चलेको भनाइ थियो कि देउपुरको जस्तो खेती र पाती, बाजुङको जस्तो गाऊँ , उराठ लाग्दो दुर्लुङको डाडा, मोहनी लाग्दो पाङ भनेर जनजिब्रोमा खुब चलेको भनाइ थियो । त्यसै भनाइका कारण घर अगाडीबाट फेस टु फेसमा पाङ गाऊँ पर्ने भएकोले थप स्थलहरु घुम्नु पर्ने रहर मनमा जाँगेको थियो । तर पुरा पर्वत जिल्ला घुम्ने योजना आजका दिनसम्म समेत पुरा भएको छैन ।

सानोमा घुमेका पर्वतका स्थानहरु मैले कक्षा सातमा पढने समयमा भैरव माध्यमिक विद्यालय भकुण्डेले शैक्षिक भ्रमण लगेको समयमा गुप्तेश्वर गुफा काउरे, गलुवा, डब्लेङ, काला खोला, नयाँ पुल हुर्दै पैदल हिडेर गुप्तेश्वर गुफामा पुगेका थियौ । शुरुमा गुफा भित्र पस्न डर लागेको थियो । गुफाको प्रवेश द्धारमा जोगी र पुजारीलाई गुप्तेश्वर गुफाका बारेमा जानकारी समुहका नेता शिक्षकले विस्तृत जानकारी लिए पछि हामी गुफा भित्र प्रवेश गरयौ । धेरै साथीहरु फटाफट गुफा भित्र छिरे । तर हाम्रो केही टोली विस्तारै गुफा भित्रको उकालोमा लागेका थियौ । माथिबाट टपटप पानी पर्ने भएले शरिरमा लगाएको कपडा भिज्दै थियो । जब गुफाको पैदल यात्रामा पक्की गरेको स्थान समाप्त भएपछि अझै उकालो चढने बेलामा कतै कतै अप्ठयारो बाटो थियो । गुफा भित्रका प्राकृतिक तस्विर अंकितहरु हेर्दै उकालो यात्रा लागेका थियौ । जव केही स्थानमा भर्‍याङ चढने स्थानमा पुग्ने समयमा कुनै साथीहरु उक्लेर अझै माथि पुगेका थिए । मसँगै गुफामा पछि पछि चार जना थियौ । हाम्रो समुह भर्‍याङ चढने प्रयास गरेपनि माथि जाने हिम्मत गर्न सकेनौ । एकछिन टर्चलाइट बालेर टाउको माथिका कलात्मक दृश्यहरु हेर्नमा व्यस्त भयौ । भर्‍याङ भन्दा माथि जोखिम मोलेर गएका थुप्रै साथीहरु धेरै समयसम्म माथि नै भुलेका थिए । हाम्रो टिम भने फर्कने तयारीमा बढो सावधानीका साथ फर्कने गरेका थियौ । तर हाम्रो हिडाइ बिस्तारै हिडेको समयले हिसाब गर्दा गुफामा हाम्रो समय तिन चार घण्टा बितेको थियो । यात्रामा केही धार्मिक तथा सास्कृतिक पक्षका कुराकानी पश्चात यात्रा कुश्मा बजार तिर हिडेका थियौ । कुश्मा बजारमा हल्का खाजा खायौ । कुश्मा बजार पैदल हिडेर यात्रा गरयौ । भर्खर कुश्मा बजार देखि खुर्दकेसम्म कच्ची बाटो खन्दै गरेको समय थियो । हामीहरु ट्रकमा चढेर खुर्दकेसम्म आएका थियौ । शैक्षिक भ्रमणको टोली प्रमुखमा भैरव माध्यमिक विद्यालयका पुर्व शिक्षकहरु खिम बहादुर थापा ( हाल सेवा निवृत्त र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ) र हर्क बहादुर थापा ( हाल बागलुङ नगरपालिका वार्ड नम्बर १० भकुण्डेका वडा सदस्य ) हुनुहुन्थ्यो । खुर्दके मालढुगामा बाक्लो रुपमा खच्चड,साना छाप्राका पसलहरु थुप्रै थिए । मानिसहरुको चहलपहल बेलुकीपख भएपनि धेरै थियो । खुर्दकेबाट बेनी,मुस्ताङ जाने मानिसहरु प्रशस्त हुन्थे । बागलुङ बजारमा समेत खुर्दकेबाट नै सामानहरु खच्चड, भरिया मार्फत ढुवानी हुन्थे । भ्रमणको टोली पनि हल्का फुल्का घरायसी कोसेली स्वरुपका सामानहरु किनेर बागलुङ तिर उक्ल्यौ । भकुण्डे घरमा आउँदा अबेर रात परि सकेको थियो । त्यसै गरी जब हामी क्याम्पस पढनका लागि बागलुङ बजार आएपछि नियमित कक्षा कोठामा अध्ययन गरेर फेरी घरमा नै फर्कने जोहो गर्न समय व्यवस्थापन भइ रहेको थियो । कहिले काँही साथीहरुले कुश्माको सिनेमा हलमा नेपाली कथानक फिल्म लागेको छ भन्ने खबर साथीहरु बिचमा गराएपछि कुश्मामा फिल्म हेर्न जाने गरिन्थ्यो । त्यसैगरि छिमेकी स्वर्गीय दाजु गोविन्द श्रेष्ठको शुभविवाह समारोहमा जन्ती बनेर ग्यादीमा जाने काम भयो । जन्ती जाने समयमा अर्भक,पैयुपाटा, पानी टयांकी, नारायणस्थान,बलेवा एयरपोर्ट, कैया हुँदै ग्यादी पुगेर फर्कने समयमा मल्याङदीको किनारै किनार कुश्मा बजार आएर मालढुगासम्म गाडीमा आएर डब्लेङ,एकलेसाल हुँदै उकालो बाटो भोको पेट हिडेर आएका थियौ । मालढुगाबाटको उकालो यात्रा बहुत ठाडो बाटो रहेको छ । पर्वतको यात्रा फेरी पाङ गाऊँमा सुँगुरको पाठा लिनको लागि डम्मर बहादुर थापा बाजे र म वि.स.२०६३ सालमा गएको थिए । कालो सुँगुर पालेर खेतबारीमा मल र मासु खानको लागि सजिलो होला भन्नका लागि प्रयास गरेको थिए । लालन पालन र स्याहार सुसार राम्रो नभएकोले सुँगुर राम्रोसँग बढन् सकेन । मगर गाऊँ भरी सुँगुर पाल्ने व्यवसाय जस्तै हुन्छ र साथै कोदो, चिनी, भेलीको रक्सी पारेर बेचविखन गरी घर र व्यवहार चलाउने प्रथा रहेको हुन्छ । रक्सी चेली बेटीहरुले कोशेली स्वरुप लिएर आएमा चोखो शुद्ध प्रसाद मानेर कुल पितृलाई चढाएर मात्र अरु मानिसहरुलाई खान दिने मगर संस्कृति र परम्परा रहेको हुन्छ । तर हिन्दु धार्मिक चलन अनुसार रक्सीलाई जुठो र अपवित्र मान्ने संस्कृति समेत रहेको छ । त्यसैगरी पर्वत जिल्लाको बनौ स्थान जानु पर्ने रहर थियो । किनकी बनौ गाऊँ हाम्रो भकुण्डे गाऊँ फेस टु फेस रहेको छ । पहिला नै जानुपर्ने थियो तर समय व्यवस्थापन हुन सकेको थिएन । पर्यटन तथा उद्योग कार्यालय बागलुङमा कामकाज गर्ने समयमा सपरिवार सहित बनौ गाऊँमा जाने काम भयो । जसमा जिवनसगिनी रुपक देवी थापा मगर, छोरी रुयासा थापा मगर र छोरा हिम्मत थापा मगर सँग टक्याक्सी लिएर जादा त बनौ डाँडासम्म सडक पक्की भएको रहेछ । बनौ गाऊँमा नजर लगाउदा खासै बाक्लो गाऊँ नदेखे पनि खुल्ला चौर थियो । बनभोज स्थल र सालिजा जानको लागि कच्ची मोटर बाटो रहेछ । हाम्रो भकुण्डे गाऊँ फेस टु फेस वारी हेर्दा त राम्रो गाऊँ देख्न पाइएनन । भकुण्डे गाऊँ पहिचान गर्नका लागि गहिरो गरेर नियाल्नु पर्ने रहेछ । धेरै पहिला देखि पैदल यात्रा गरेर खनियाघाट हुँदै बनौ जाने सोच थियो तर सार्थकता प्राप्त भएको थिएन । झन्डै वि.स.२०५३ साल तिर होला कि धौलागिरी सामुदायिक श्रोत विकास केन्द्र ९ म्ऋच्म्ऋ ० बागलुङको खानेपानी आयोजनाको अनुगमन र समन्वय गर्नको लागि सस्थाका सल्लाहकार तथा संविधान सभा सदस्य नर बहादुर थापा मगरसँग खुर्कोट गाऊँमा जाने काम भएको थियो ।

त्यसैगरि पुष्पलाल मध्यपहाडी लोकमार्गको मालढुगा, स्रहशधारामा रहेको प्रसिद्ध शिवजीको शालिक हेर्नको लागि धेरै मानिसहरुका लागि रोचक भ्रमण हुन सक्दछ । पानीको छहराहरु निरन्तर बगि रहेको मनमोहक दृश्य हेर्न सकिन्छ । धेरै पर्यटकहरुले हेर्नका लागि छुटेको शह्रसधारा प्राकृतिक स्थलहरु मध्ये एक भएको छ । त्यसैगरि गोल्डेन गण्डकी व्रिज मार्फत चार पाँच पटक पारी अदुवाबारी गएर फेरी पुल मार्फत नै फिर्ता भएको छु । एक पटक अदुवा बारी हुँदै पाङ सम्म पुगेर पैदल यात्रा गरेर मालढुगा झरेर कालिका मन्दिर हुँदै बागलुङ बजार बिहानीपखको हिडाइ गरेर आएको छु । त्यसैगरी उपल्लाचौर हुँदै गौरीधाम मन्दिरबाट झोलुङगे पुलको नाग्लीवाङ गाऊँ पुगेर नाग्लीवाङको माथिल्लो गाऊँसम्म पुगेर फर्केको छु । एकपटक परिवार सहित गौरीधामको मार्फत वारपार गरेको छु ।

पाको उमेरका घुमेका पर्वतका स्थलहरु मैले जलजला गाउँपालिकाको मल्लाजमा रहेको द हेरिटेज मल्लाज दरबार आज भन्दा १२ वर्ष अगाडी भ्रमण गरेको थिए । फेरी महाविर पुनको जन्मगाऊँ नागी म्याग्दीे जाने शिलशिलामा मल्लाज हेरिटेज होटलमा खाना खाने गरी अलि लामो सयम हेर्ने र भ्रमण गर्ने समय खर्च भएको छ । मैले पछिल्लो समय हेरेको फिल्म छक्का पञ्चा ३ फिल्म हेर्दा धेरै दृश्यको छायांकन मल्लाज होटलमा भएको जानकारी पाए । अब के होला र अब कसरी कथावस्तु अगाडी जाला भनेर बहुत जिज्ञासु बनेर फिल्म हेरेको थिए । जलजला गाऊँको फलामे डाँडा अत्यन्त मनमोहक डाँडामा रहेको म्याग्दी र पर्वत जिल्लाको सम्म नै यात्रा भएको थियो । नेपाल निजामति कर्मचारी संगठन बागलुङको वि.स.२०८० सालको वनभोज कार्यक्रम छर्मके गाऊँमा भएको थियो । छर्मके गाऊँमा बनभोज भएको सन्दर्भमा मालपोत कार्यालय बुर्तिवाङका सहलेखापाल प्रतिक घर्तीको सहयोगमा दुर्लुङकोट जाने मेसो मिलेको थियो । दुर्लुङकोटबाट हाम्रो भकुण्डे गाऊँ राम्रो र समथर गाऊँका रुपमा देखिने रहेछ । भकुण्डे भ्यु टावरको आधारमा पात्ले, अर्भक, तल्लाथरठुलाताल,माझघर, चौर,धौलेचउर, अर्वाउदी, दुहार, देउराली, इन्द्रेणी गाऊँहरु बल्ल छुटयाउन सकिने रहेछ । समय छोटो भएकोले रेडियो नेपालको रिले स्टेशन, एफ एम स्टेशनहरुको टावर भएकोले छोटो अवलोकन भयो । फर्केर कुश्मा बजारमा आउने बाटोमा नेपालको वृहत नक्सा स्थल छोटो अवधिका लागि जगलको बिचमा रहेको नेपालको नक्सामा फोटो खिचेर फर्कने काम गरेका थियौ । त्यसैगरी म भकुण्डे गाऊँका अगुवाहरुसँग लामो झोलुगे पुल उदघाटनको समयमा गएको थिए । ग्यादी कुश्मा पुलको उदघाटन गर्ने कार्यक्रम तत्कालीन स्वर्गीय सभामुख सुवास नेम्वाङले गरेको उदघाटन कार्यक्रममा सहभागी हुँदा धेरै जसो लामो पुल तरे तर म भने पुल धेरै हल्लेको पुल महसुस गरेकोले तर्ने आँट गर्न सकिन । तमानखोला गाउँपालिकाको तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद गौतमको सरुवा भएकोले म र तत्कालीन लेखा अधिकृत अर्जुन प्रसाद गौतम सहितको टोली मोदी गाउँपालिकाको राम्जा गाऊँमा छोटो कार्यक्रमका साथ जाने काम भयो । त्यसपछि फलेवास खानीगाउँमा रहेको मोती पुस्तकालयको भ्रमण र अनुभुति लिनको लागि फलेवासमा जाने कामले बहुत ठुलो ज्ञान र र अनुभवहरु हासिल भएको थियो । त्यस्तै गरि नेपाल मगर संघ जिल्ला समन्वय समिति पर्वतले आयोजना गरेको एक हप्ते मगर महोत्सवमा सहभागी हुन दुई तिन पटक पुगेको छु । पर्वत उद्योग वाणिज्य संघ, कुश्माले आयोजना गरेको महोत्सवमा सहभागी हुन दुई पटक गरेको पुगेको छु । प्रसिद्ध बन्जी जम्पमा परिवार सहित पुगेको छु । तर बन्जी जम्प गरिएन । पारीको पर्यटकीय स्थलको निर्माण र संयोजन गरेको देख्दा त म छक्क परे । नेपालमा यस्ता खालको थुप्रै पर्यटकीय स्थलहरु बनाउन सकेमा धेरै टेवा पुग्ने थियो भन्ने आभास मलाई भएको थियो ।

बागलुङ नगरपालिका १० भकुण्डे, धौलेचउर