पर्वत १० भदौ ः म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी कोरिडोर आयोजना अन्तर्गत पर्वतको मालढुङ्गा-बेनी सडक पुनः अबरुद्ध बनेको छ ।
शनिवार रातीको भारी वर्षापछि अवरुद्ध बनेको सडक गएराती ११ बजे एकतर्फि संचालनमा ल्याईएको भएपनि पुनः आज विहान तीन बजेदेखि अवरुद्ध बनेको जलजला गाउँपालिकाले जनाएको छ । जलजला गाउँपालिका वडा नं. ७ केरावारीमा भिरवाट लेदो सहितको पहिरो निरन्तर झरिरहेकाले सडकमा सवारीसाधन चलाउन सक्ने अवस्था नरहेको गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले जानकारी दिनुभयो ।
सोहि ठाउँमा खसेको ठुलो ढुंगा आइतवार दिनभर ब्रेकर लगाएर फुटाई राती ११ बजे सडक सुचारु गरिएको थियो । सडक सुचारु भएपछि शनिवार रातीदेखि अलपत्र सवारीसाधन गन्तव्यतर्फ लागेको भएपनि पुन सडक अवरुद्ध भएको आचार्यले जानकारी दिनुभयो
निर्माणाधिन अवस्थामा रहेको मालढुंगा-बेनी सडकमा सामान्य वर्षा हुँदा पनि पहिरोले अवरुद्ध भैहाल्ने समस्या भएकाले बैकल्पिक सडकको प्रयोग गर्न पर्वतका जिल्ला ट्राफिक प्रहरी प्रमुख सिताराम ओझाले आग्रह गर्नुभएको छ । यो सडकको विकल्पमा मालढुंगादेखि बागलुङबजार हुँदै रत्नेचौर निस्केर म्याग्दी पुग्न सकिने उहाँले बतनाउनुभयो ।
केरावारीमा पहिरो खस्न नरोकिएकाले सडक खुलाउन समस्या भैरहेको प्रहरीले जनाएको छ । यस अघि शनिवार रातीको वर्षाका कारण १३ किलोमिटर लामो यो सडक खण्ड अन्तर्गत दमुवाखोला, खनियाँघाट, फर्से, लामाखेत र केरावारी गरी पाँच ठाउँमा अवरुद्ध भएको थियो । आइतवार दिनभरको प्रयासमा सवै ठाउँको पहिरो पन्छाएर राती सडक सुचारु गरिएपनि पुनः केरावारीमा पहिरो खस्ने क्रम नरोकिएकाले समस्या भएको प्रहरीले जनाएको छ ।
सडक अवरुद्ध भएपछि म्याग्दी र मुस्ताङदेखि छुटेका र अन्यत्रवाट ती जिल्लामा आएका सवारीसाधन तथा यात्रुहरु समस्यामा परेका छन् । —