पर्वत १२ चैत ः नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेले बढ्दो युवा पलायन नरोकेसम्म यो मुलुकले समृद्धि हासिल गर्न नसक्ने बताउनुभएको छ ।
प्रेस चौतारी नेपाल पर्वत शाखाले एडभेन्चर रिसोर्ट साउनेबगरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष थेवेले समृद्ध नेपाल, सुखी नेपाली को राष्ट्रिय आकांक्षा पूरा गर्नका लागि प्रमुख खम्बाको रुपमा रहेको युवा पुस्तालाई स्वदेमै टिक्ने बातावरण बनाउनु अहिलेको मुख्य चुनौती रहको बताउनुभयो । नेपाली युवाको आगामी गन्तव्य र कार्यभारबारे स्पष्ट नीति र कानून निर्माण गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष थेवेले त्यसका लागि युवा मन्त्रालय, युवा परिषद्, युवा रोजगार कोषजस्ता युवाको नीति निर्माण गर्ने राज्यका निकायहरूले काम गर्नुपर्ने बताउनुभयो ।
सूचना प्रविधिमा भएको अभूतपूर्व विकासले अहिले नेपाली युवाले विदेशीहरुसँग प्रतिस्पर्धा गर्नु परिरहेको भन्दै नेपाली युवालाई अब उद्यममा केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले युवा संघले युवा रोजगार कोष, एक वडा एक उद्यम, सर्टिफिकेटका आधारमा ऋणजस्ता कार्यक्रमलाई अझ प्रभावकारी र वैज्ञानिक बनाउनेतर्फ लागेको दावी गर्नुभयो । उहाँले युवा संघकै पहलमा राष्ट्रपति महिला उद्यम कार्यक्रम, युवा ऋण सहुलियत कार्यक्रम, प्रधानमन्त्री रोजगार कार्यक्रम, बीउ पुँजी, स्टार्टअप फन्डजस्ता युवा उद्यमसँग जोडिएका कार्यक्रमहरू ल्याएको भन्दै यसलाई देशव्यापी बनाउनुपर्नेमा जोड दिनुभयो ।
युवाहरू रोजगारीको खोजीमा खाडी मुलुकहरूतिर भौंतारिरहेको यो बेला उद्यमशीलता, उत्पादनको बजारीकरण, उत्पादनको मूल्यमा राज्यको ग्यारेन्टीमा जोड दिनुपर्ने उहाँको भनाई छ । जवसम्म युवालाई स्वदेशमै गरिखाने बातावरण राज्यले बनाउन सक्दैन तबसम्म कुनै परिवर्तन को अपेक्षा गर्न नसकिने उहाँको भनाई छ ।
अर्को प्रसंगमा अध्यक्ष थेवेले मुलुकको संकट मोचन गर्नका लागि नयाँ गठवन्धन बनेको दावी गर्नुभयो । उहाँले बढ्दो भ्रष्टाचार, बेथिति, आर्थिक संकट लगायतका समस्याहरुको समाधानका लागि नयाँ गठवन्धनको सरकार बनेको बताउँदै अब विस्तारै बेथिति र विसंगती हट्दै जाने दावी गर्नुभयो । उहाँले पहिचानवादको नाममा मुलुकलाई अराजकतातिर लैजाने छुट कसैलाई नभएको बताउनुभयो । धार्मिक स्वतन्त्रता भएको यो मुलुकमा पहिचानवादीको नाममा विदेशीहरुलाई खेल्ने ठाउँ बन्न नदिईने उहाँको भनाई रहेको छ ।
अध्यक्ष थेवेले इलाम क्षेत्र नं. २ मा नेकपा एमालेको बिजयी सुनिश्चित रहेको दावी गर्नुभयो । एमालेको प्रतिपक्षि नेपाली काँग्रेसनै भएको दावी गर्दै उहाँले अन्य दलसँग सहकार्य समेत गर्न सकिने बताउनुभयो ।
प्रेस चौतारी पर्वतका अध्यक्ष कृष्ण अखेलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटि सदस्य अर्जुन पौडेल निर्जन, एमाले जिल्ला उपसचिब शिव पौडेल, युवा संघका केन्द्रीय सदस्य सुनिल बाँनीया, प्रेस चौतारीका केन्द्रीय सदस्य गणेश पौडेल लगायतको सहभागिता थियो । कार्यक्रमको संचालन प्रेस चौतारी पवर्तका पुर्व अध्यक्ष लक्ष्मण सापकोटाले गर्नुभएको थियो ।