प्रमुख समाचार

स्वमूल्याङ्कनमा जलजला गाउँपालिका पर्वतको उत्कृष्ट, गण्डकी प्रदेशमा दोस्रो

By लोकतन्त्र अनलाईन

August 24, 2024

पर्वत –  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको संस्थागत क्षमता स्वमूल्याङ्कनमा पर्वतको जलजला गाउँपालिका पर्वतका सात पालिका मध्ये प्रथम र गण्डकी प्रदेशमा दोस्रो भएको छ । बिहिबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको गुणस्तर परीक्षण पश्चातको अन्तिम नतिजा प्रकाशन गरेको थियो । आर्थिक वर्ष ०७९–०८० मा गरेको मूल्याङ्कनमा जलजला गाउँपालिले ८६ अंक प्राप्त गर्दे गण्डकी प्रदेशभरमा दोस्रो भएको हो । मन्त्रालयले गाउँ÷नगरपालिकाको कार्य प्रक्रिया र उपलब्धीको लेखाजोखा गरी शासकीय प्रकृया र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरु पहिचान गर्ने,आवधिक समिक्षाको आधार प्राप्त गर्ने र स्थानीय सरकारबीच स्वस्थ प्रतिस्पर्धाको भावना जागृत गराउने उद्देश्यले स्थानीय तह संस्थागत क्षमता मुल्याङ्कन गर्ने गर्दछ । सामान्य प्रशासन मन्त्रालयले प्रकाशित नतिजा अनुसार जलजलाले शासकीय प्रवन्धमा ८.५,संगठन तथा प्रशासनमा ८,वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा ५.७५,वित्तीय एवम् आर्थिक व्यवस्थापनमा १०,सेवा प्रवाह १३.७५,न्यायिक कार्यसम्पादनमा ६,भौतिक पूर्वाधारमा ११.५,सामाजिक समावेशीकरणमा १०,वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ८.५ र सहकार्य र समन्वयमा ४ अंक प्राप्त गरेको छ । यसैगरी फलेवास नगरपालिकाले ७५ प्रतिशत अंक सहित पर्वतमा दोस्रो, महाशिलाले ७१ प्रतिशत अंक सहित तेस्रो भएका छन् । मोदी गाउँपालिकाले ६६.७५ अंक प्राप्त गरी चौथो स्थानमा हुँदा पैयु गाउँपालिकाले ६६ अंक प्राप्त गरी पाँचौ स्थानमा पुगेको छ । त्यसैगरी कुश्मा नगरपालिकाले ६४ अंक प्राप्त गरी जिल्लामा छैटौ स्थानमा छ भने सवैभन्दा कमजोर देखिएको विहादी गाउँपलिकाले ५१ प्रतिशत अंक प्राप्त गरेको छ ।  मन्त्रालयले हरेक वर्ष गाउँपालिका तथा नगरपालिकाहरुले सञ्चालन गरेका कार्यक्रम, बजेटको अवस्था, पालिका स्थित विषयगत समितिहरुको कामकार्वाही र अवस्था, सम्बन्धित पालिकाहरुमा बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिको अवस्था तथा लक्षित समुदायका सञ्चालित कार्यक्रमहरुको मूल्याङ्कन गरेर नतिजा प्रकाशन गर्दछ ।