प्रमुख समाचार

महाशिला गाउँपालिकाको बजेट ३९ करोड १९ लाख

By लोकतन्त्र अनलाईन

June 24, 2024

पर्वत १० असार –  पर्वतको महाशिला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । सोमवार सम्पन्न गाउँसभाको १६ औ अधिवेशनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्दै पारित समेत गरेको छ । गाउँपालिकाका उपाध्ययक्ष धनसुवा विकले प्रस्तुत गर्नुभएको बजेट अनुसार महाशिला गाउँपालिकाको आर्थिक वर्ष ०८१/०८२ को कुल बजेट रु.३९ करोड १९ लाख ७५ हजार रहेको छ । बजेट मध्ये कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च तर्फ रु. ४ करोड ५७ लाख २६ हजार ९ सय ८०, संघीय सरकार सशर्त अनुदानबाहेकको पूजींगत कार्यक्रम र क्षेत्रगत विकास खर्च तर्फ रु.१२ करोड ९५ लाख ४६ हजार रुपैंया तथा बिनीयोजन गरिएको छ । संघीय सरकार सशर्त अनुदानतर्फ तोकिएका कार्यक्रमहरु सञ्चालन गर्नका लागि रु १८ करोड १७ लाख, प्रदेश सरकार शसर्त अनुदान मार्फत तोकिएको आयोजानाको लागि रु ४० लाख, प्रदेश सरकार समपुरक योजनाको लागि रु.६० लाख रहेको छ । संघिय सरकार, अन्य विषयगत मन्त्रालय एवं विभागबाट प्राप्त हुने रकम सहित पुँजीगत खर्च, कार्यक्रम खर्च, विकास खर्च र चालु खर्च गरि जम्मा रु ३९ करोड १९ लाख ७५ हजार रुपैंयाको बजेट सार्वजनिक गरेको उपाध्यक्ष विकले जानकारी दिनुभयो । आगामी आ.व. २०८१/०८२ को खर्च व्यहोर्ने स्रोतमा संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान मार्फत रु.७ करोड ११ लाख, संघीय सरकार ससर्त अनुदान मार्फत १८ करोड १७ लाख, संघीय सरकार राजश्व बाँडफाँड बाट ५ करोड ५७ लाख रुपैयाँ, संघीय सरकार समपुरक अनुदान १ करोड, विशेष अनुदान १ करोड ५० लाख, त्यस्तै गण्डकी प्रदेश सरकारबाट वित्तिय समानीकरण तर्फ रु.७२ लाख ६५ हजार, प्रदेश सरकार राजश्व बाँडफाँडबाट २९ लाख ०८ हजार रहेको छ भने गण्डकी प्रदेश सरकार ससर्त अनुदानको ४० लाख, तथा समपुरक अनुदान ६० लाख आय गरिएको छ । जिल्ला समन्वय समितिबाट रु.१२ लाख आय अनुमान रहेको छ । यसैगरि महाशिला गाउँपालिकाको आ.व. २०८१/८२ को जम्मा अनुमानित आन्तरिक राजश्व रु ७१ लाख, र यस वर्ष खर्च नभई बाँकी नगद रकम अनुमानित रु ३ करोड आय अनुमान गरिएको छ । बजेटवाट आगामी आर्थिक वर्षको कार्यक्रममा पनि एक घर एक रोजगार कार्यक्रमका लागि एक करोड ९३ लाख रुपैया बिनीयोजन गरिएको छ । कृषि तथा पशुपालन मार्फत स्वरोजगार सिर्जन ागर्नका लागि रु. एक करोड, सामाजिक विकास तर्फ रु. तीन करोड पाँच लाख ७७ हजार, पुर्वाधार विकास तर्फ रु. चार करोड, ६२ लाख ४७ हजार, विपद व्यवस्थापनमा १७ लाख ५८ हजार, संस्थागत विकासमा ८८ लाख बिनीयोजन गरिएको छ ।

यस अघि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम अध्यक्ष इश्वरी प्रसाद भुसालले प्रस्तुत गर्नुभएको थियो । महाशिलाको समृद्धि र विकासका लागि बजेटलाई उपलब्धिमुलक कार्यमा केन्द्रीत गरिएको उहाँको भनाई छ । शिक्षा, कृषि रोजगार,स्वास्थ्य र पुर्वाधार-सुन्दर समृद्ध महाशिला विकासको आधार भन्ने नारालाई आत्मसाथ गर्दै एक वडा एक आवासीय विद्यालय, पढ्दै कमाउँदै कार्यक्रम, एक घर एक धारा, टोलसम्म पुग्ने सडक बाह्रैमास संचालन गर्ने कार्यक्रम पनि समावेश गरिएको छ । आन्तरिक पर्यटन प्रवद्र्धनका लागि महाशिला सेभेन प्वाईन्ट अन्तर्गत महाशिलाको शिला क्षेत्र, चिसापानी, पैंयुँकोट, गोल्र्याङक्षेत्र, फलामखानीको धुँवाकोट, गंगाधर गुफा र दुक्तान बसाह क्षेत्रलाई प्रवद्र्धन गरिने भएको छ । पशुपालनको क्षेत्रमा गोठगोठमा पशु प्राविधिक कार्यक्रम पनि महाशिलाले अघि सारेको छ । शिक्षाको क्षेत्रमा एक शिक्षक एक ल्यापटप, एक कक्षा एक प्रोजेक्टर कार्यक्रम, स्वास्थ्यको क्षेत्रमा सवै वडामा बर्थिङ सेण्टर स्थापना, अध्यक्ष सुत्केरी भेटघाट कार्यक्रम अन्तर्गत रु दुई हजार पाँच सय रुपैया वितरण अभियानको कार्यक्रमलाई समेत निरन्तरता दिएको अध्यक्ष भुसालले बताउनुभयो । चालु आर्थिक वर्षसम्म रु. दुई हजार सहयो दिने गरिएको थियो । पालिका भित्रकमा एक घर एक घाराको पुहँच नपुगेका ४ सय ९८ घरमा धारा पुर्‍याउने महत्वकांक्षी योजना समेत कार्यक्रममा अघि सारिएको छ । नीति तथा कार्यक्रममा एक टोल एक उत्पादन, एक घर एक व्यावसाय, स्वस्थ्य पशु सुरक्षीत गोठ कार्यक्रम, एक गाउँ एक उत्पादन कार्यक्रम, एक युवा एक उद्यम, स्वयंसेवक सहकारी स्थापना, कामअनुसारको दाम, एक वडा एक लघु उद्योग जस्ता कार्यक्रमलाई जोड दिईएको छ । त्यसैगरी असहाय विद्यार्थीसँग अध्यक्ष कार्यक्रम, एक विद्यालय एक स्वास्थ्यकर्मी, फलामखानी क्षेत्रको अध्ययन, समृद्धिको आधार, हरियाली सडक हाम्रो पुर्वाधार कार्यक्रम समेत नीति तथा कार्यक्रममा समावेश गरिएको छ । सो अवसरमा अध्यक्ष भुसालले संघीय र प्रदेश सरकारसँगको साझेदारीमा कार्यान्वयनमा ल्याउन सकिने लक्षित योजना तथा कार्यक्रम समेत प्रस्तुत गर्नुभएको थियो ।