पर्वत-ः स्थापना भएको साढे तीन दशकपछि पर्वतको एकमात्र सुविधा सम्पन्न पर्वत अस्पतालमा ‘फिजियोथेरापी’ सेवा शुरु भएको छ ।
शनिवारदेखि औपचारिक रुपमा शुरु भएको फिजियोथेरापी सेवाको गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण पाठकले उद्घाटन गर्नुभएको छ । फिजियोथेरापी सेवाको शुभारम्भ गर्दै मन्त्री पाठकले नागरिकलाई सर्वसुलभ रुपमा स्वास्थ्य सेवा प्रदान गर्नका लागि सरकार निरन्तर सक्रिय भएर लागेको बताउनुभयो । उहाँले प्रदेशका ११ वटै जिल्लाका अस्पताललाई सुविधासम्पन्न बनाईने बताउनुभयो । अब जिल्लामै अधिकांस रोगको उपचार हुनेगरी अस्पतालहरुको क्षमता विकास गर्ने र त्यसका लागि मन्त्रालयले आवश्यक सहयोग गर्ने उहाँको प्रतिवद्धता रहेको छ ।
सरकारबाट १५ शैया क्षमताको अनुमति पाएपनि ६० शैया क्षमतामा चलिरहेको अस्पतालले फिजियोथेरापी सेवा शुरु गरेको हो । गण्डकी प्रदेश सरकारले स्वास्थ्य निर्देशनालयले उपलब्ध गराएको दरबन्दीबाट यो सेवा सञ्चालन गरिएको हो । सेवा सञ्चालनको लागि दुई महिना अघि खुलाइएको विज्ञापनबाट ‘फिजियोथेरापिस्ट’ डा. प्रमीला लामिछाने नियुक्त भैसकेपछि शनिवारदेखिनै नियमित रुपमा सेवा संचालन हुने अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. हेमन्त बास्तोलाले जानकारी दिनुभयो ।
‘फिजियोथेरापी’ विधिले शरीरका विभिन्न अङ्गहरूको चाल, लचकता, बल र समन्वय सुधार गर्न मद्दत गर्ने तथा यो उपचार मुख्य रूपमा शरीरको मांसपेशी, जोर्नी, स्नायु, र हाडहरूको समस्या समाधान गर्न प्रयोग गरिने भएकोले जिल्लाका बिरामीहरुका लागि महत्वपूर्ण रहेको उहाँको भनाइ छ । डा. बास्तोलाका अनुसार प्यारालाईसिस, ढाड दुख्ने, घुँडा दुख्ने, गर्धन दुख्ने, काध तथा कुहिना दुख्ने र मुख बाङ्गिएको समस्या भएका बिरामीले सहज रुपमा उपचार सेवा पाउने भएका छन् ।
अस्पतालले पहिलो चरणमा १० शैयाको व्यवस्था गरेर फिजियोथेरापी सेवा दिन थालेको छ । दैनिक विहान १० बजेदेखि साँझ ४ बजेसम्म सेवा सुचारु हुने डा. बास्तोलाले जानकारी दिनुभयो । स्वास्थ्य बिमा गरेका विमितहरुलाई स्वास्थ्य बिमा कार्ड मार्फतनै सेवा उपलव्ध गराईने भएको छ । जिल्लामै फिजियोथेरापी सेवा नहूँदा यस क्षेत्रकमा बासिन्दा पोखरा, काठमाण्डौ लगायतका ठुला शहरमा जान बाध्य भएका थिए । जिल्लावाटै उक्त सेवा संचालन भएपनि यस क्षेत्रका बिरामीलाई सहज हुने उहाँको भनाई छ ।
विशेषगरी प्यारालाइसिस भएका कारण शरीरका भागहरू नचल्ने, ढाड सड्िकएका, मर्किएका, गर्धनमा समस्या भएका, नशा च्यापिएका लगायतका बिरामीहरूलाई शारीरिक कसरतका माध्यमबाट सेवा दिन लागिएको हो’, अस्पताल विकास समितिका अध्यक्ष शंकर गिरीले भन्नुभयो, ‘सामान्य जोर्नी जाम भएको अवस्थामा हातको फिजियोथेरापी गर्न पनि पोखरा र बागलुङका अस्पतालमा जानुपर्ने यहाँका बिरामीको बाध्यता अन्त्य भएको छ । सामान्य कुराका लागि पनि नागरिकले हजारौँ रुपैयाँ खर्च गर्नुपर्ने अवस्थाको अन्त्यका लागि यो सेवा शुरु गरिएको उहाँको भनाई छ ।
जोर्नी मर्किएका, मांसपेशी चुँडिएका, हड्डी भाँचिएका, हड्डी र जोर्नीमा लचकता नभएका, कम्मर र घुँडाको दुखाइ भएका, ‘स्ट्रोक’का कारण शरीरको एक भागमा कमजोरी भएका, चल्न समस्या भएका, शरीरको चालमा गडबडी भएका तथा कम्पनका समस्या रहेका, जन्मजात शारीरिक अपाङ्गता भएका, शरीरका अङ्गहरू चलाउन समस्या भएको, श्वासप्रश्वासको समस्या भएका, फोक्सोको क्षमता घटेका लगायतका बिरामीहरूको उपचार लागि ‘फिजियोथेरापी’ ले राम्रो सुधार ल्याउने अस्पतालका प्रमुख डा. बास्तोलाले बताउनुभयो । नियमित फिजियोथेरापी गरेमा शल्यक्रिया समेत गर्नु नपर्ने उहाँको भनाई छ । कार्यक्रममा पर्वत अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शंकर गिरी, लायन बसन्तकुमार कर्माचार्य, पर्वत अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बास्तोला लगायतले अस्पतालको विकास र सवै नागरिकको भरोसायोग्य बनाउनकालागि आवश्यक सहयोग गर्न मन्त्रीसँग अनुरोध गर्नुभएको थियो । अस्पताललाई तत्काल ५० शैयाको अनुमती प्रदान गर्न उहाँहरुको आग्रह थियो ।