प्रमुख समाचार

जलजलाका दलित समुदायलाई नौमती बाजा वितरण

By लोकतन्त्र अनलाईन

October 22, 2024

पर्वत – नौमती बाजा संरक्षण गर्नका लागि पर्वतको जलजला गाउँपालिकाले वडा नम्बर ४ का दलित समुदायलाई बाजा हस्तान्तरण गरेको छ । गाउँसमाजबाट मौलिक नौमती बाजा लोप हुनलागेको भन्दै संरक्षणका लागि नौमती बाजाका सामाग्री हस्तान्तरण गरिएको हो ।

सोमबार गाउँपालिका केन्द्र लामाखेतमा पालिका अध्यक्ष राजुप्रसाद आचार्य,उपाध्यक्ष दिपक आचार्य,वडा नम्बर ४ का वडाध्यक्ष भरतबहादुर क्षेत्री,३ का वडाध्यक्ष एकिन्द्र खत्री,१ का जगबहादुर रोका,५ का तिलक जिसी र कार्यपालिका सदस्य भिमसेन बराइली लगायतका जनप्रतिनिधिहरुले लामाखेत नौमती बाजा समुह र काजिन्ने नौमती बाजा समुहलाई संयुक्त रुपमा एकसेट बाजा हस्तान्तरण गर्नुभयो ।

गाउँसमाजबाट लोप हुन लागेको नौमती बाजाको संरक्षण गर्ने उद्देश्यले गाउँपालिकाले दलित समुदायलाई बाजा हस्तान्तरण गरेको पालिका अध्यक्ष आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘हाम्रो गाउँसमाजमा परम्परागत संस्कृतिका रुपमा रहेको मौलिक नौमती बाजा लोप भएर जानथालेको छ । नौमती बाजाको संरक्षण र नयाँ पुस्तामा शिप हस्तान्तरण गर्न सहयोग पुगोस् भनेर वडाले दलित समुदायलाई बाजा सहयोग गरेको हो ।’’

चालु आर्थिक वर्षमा वडाबाट संस्कृति संरक्षण कार्यक्रम अन्तर्गत दुईलाख रुपियाँ बजेटबाट नौमती बाजा खरिद गरी हस्तान्तरण गरिएको वडा नम्बर ४ का वडाध्यक्ष क्षेत्रीले बताउनुभयो । दलित समुदायको पराम्परागत संस्कृति संरक्षणसँगै आयआर्जनमा पनि सहयोग पुग्ने अपेक्षा सहित लोप हुँदै गएको मौलिक बाजा संरक्षण गर्न वडाले दलित समुदायलाई बाजा उपलब्ध गराएको उहाँले बताउनुभयो । बाजाका सामाग्रीहरु पुराना भएकाले समस्या भएको थियो लामाखेत नौमती बाजा समुहका अध्यक्ष राजबहादुर परियारले भन्नुभयो, ‘‘नयाँ बाजा पाएपछि अब गाउँसमाजमा हुने बिबाह,ब्रतबन्ध लगायत अन्य शुभकार्यमा बाजा बजाउन सहज हुन्छ । नयाँ युवाहरुलाई सिकाउन पनि सजिलो हुने विश्वास गरेका छौं ।’’ वडामा रहेका दुईवटा नौमती बाजा समहुलाई संयुक्त रुपमा एकसेट बाजा उपलब्ध भएकाले सहकार्य गरेर गाउँपालिका भित्रका अन्य वडाहरुबाट नौमती बाजाको माग भएमा बजाउन पुग्ने उहाँले बताउनुभयो ।