प्रमुख समाचार

दमुवाखोलामा झरेको पहिरोले मालढुंगा-बेनी सडक अवरुद्ध

By लोकतन्त्र अनलाईन

August 22, 2024

पर्वत, ६ भदौ ः लगातारको वर्षासँगै झरेको पहिरोले म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा-बेनी सडक खण्ड अवरुद्ध भएको छ ।

पर्वतको जलजला गाउँपालिका वडा नं. ८ स्थित दमुवाखोला नजिकै लेदो सहितको पहिरो झरे। सडक पुरिँदा बिहीवार विहानैदेखि सडक अवरुद्ध भइरहेको जलजला गाउँपालिका वडा नं. ८ का अध्यक्ष हरिविकास जिसीले जानकारी दिनुभयो ।

म्याग्दी र मुस्ताङ जिल्ला जाने मुख्य सडक खण्ड अवरुद्ध हुँदा ती जिल्लाबाट अन्य जिल्लामा आउजाउ गर्ने सवारीसाधन विहानैदेखि अलपत्र परेका छन् । पहिरो झर्ने र लेदो बग्ने क्रम नरोकिएकाले सडक खुलाउन समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

निरन्तर झरेको पहिरोले दुर्घटनाको जोखिम रहेको भन्दै यो सडक प्रयोग नगरी वैकल्पिक सडक प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ । यो सडकको विकल्पमा बागलुङ-रत्नेचौर-बेनी सडकको बाटो प्रयोग गर्न सकिन्छ ।

पहिरो रोकिएपछि सडक खुलाउन पहल गरिने जलजला गाउँपालिकाको सचिवालयले जनाएको छ । निर्माणाधिन अवस्थामा रहेको कालीगण्डकी करिडोर अन्तर्गतको मालढुंगा-बेनी सडक सामान्य वर्षा हुँदासाथ अवरुद्ध हुने गरेको छ ।