पर्वत- ः पर्वत अस्पतालमा पछिल्ला केहि वर्ष यता बिरामीको संख्या उल्लेख्य मात्रामा बढ्दै गएको छ ।
अस्पतालको नयाँ भौतिक संरचना निर्माणसँगै १५ शैयावाट ५० शैयामा स्तरोन्नती भएपछि बिरामीको संख्या समेत उल्लेख्य मात्रामा बढेको हो । गत आर्थिक वर्ष वि.सं.२०८०/८१ मा झण्डै ६० हजार बिरामीको उपचार गरिएको पर्वत अस्पतालले जनाएको छ ।
अस्पतालको सेवा विस्तारसँगै विभिन्न रोगका बिरामी गरी ५८ हजार छ सय २८ जना बिरामीको उपचार गरिएको हो । पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बास्तोलाका अनुसार सिमीत श्रोत र जनशक्तिका बीच बिरामीहरु उल्लेख्य मात्रामा उपचारका लागि आएको बताउनुभयो ।
डा. बास्तोलाका अनुसार गत आर्थिक वर्ष वि.सं.२०७९/८० मा ५२ हजार चार सय ६६ जनाको उपचारका लागि आएका थिए भने त्यो भन्दा अघिल्लो वर्ष ३९ हजार बिरामीले पर्वत अस्पतालवाट सेवा लिएका थिए ।
अस्पतालवाट विशेषज्ञ सुविधासँगै ५० शैयामा विस्तार भएपछि विगतका वर्षहरुमा भन्दा सेवाग्राहीको चाप ह्वात्तै बढ्न थालेको हो । त्यसैगरी स्वास्थ्य बिमा कार्यक्रम कार्यान्वयनमा आएपछि अस्पतालमा सेवाग्राहीको चाप बढेको डा. बास्तोलाले बताउनुभयो । दुई वर्ष अगाडि दैनिक एक सय देखि डेढ सय जानाको स्वास्थ्य परिक्षण हुने गरेकोमा अहिले दैनिक करिब तीन सय पुगेको छ ।’ डा. बास्तोलाले भन्नुभयो ।
अस्पतालमा सेवाग्राहीको चाप बढी हुनुको अर्को पक्ष अस्पतालको क्षमता र आधुनिक भौतिक सुविधा पनि रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शंकर गिरीले बताउनुभयो । १५ शैया क्षमतामा रहेर सेवा दिँदै आएको अस्पताल आफ्नै अक्सिजन प्लान्टसहित आधुनिक र प्रविधियुक्त भवनमा सरेर सेवा दिँदा व्यवस्थापन गर्न सजिलो भएको उहाँको भनाइ छ । सरकारले १५ शैयाको नै मानेको भए पनि अस्पतालले ६० शैया सञ्चालन गरिरहँदा अस्पतालमा सबैले सहज सेवा पाउन सकेको उहाँको भनाइ छ ।
भौतिक संरचना निर्माण र सेवा विस्तार भएपनि सरकारले ५० शैयाको अनुमति नदिँदा समस्या भैरहेको डा. बास्तोलाले बताउनुभयो । अस्पतालमा अझै बाल रोग विशेषज्ञ, स्त्री तथा प्रशुती रोग विशेषज्ञ, हाडजोर्नी विशेषज्ञ लगायतको अभाव रहेको उहाँको भनाई रहेको छ । अहिले अस्पतालवाट नियमित स्वास्थ्य परिक्षण सँगै दश शैयाको डायलासिस सेवा, आँखा रोग, दन्त रोग, शल्यक्रियामार्फत सुत्केरी सेवा, हाईड्रोसिल, हर्निया, एपेन्डिसाईटिस लगायत सामान्य खालका शल्यक्रिया सेवा, इसिजी, एक्सरे लगायतका सेवाहरु संचालन भैरहेका छन् ।
दक्ष जनशक्तिकै अभावमा अस्पतालमा रहेका आईसियु र भेन्टिलेटर विगत पाँच वर्षदेखि स्टोरमा थन्किएका छन् । सरकारले जनशक्ति दिएर तिनलाई समेत प्रयोगमा ल्याउन पाए अस्पतालको विश्वास अझै बढ्ने डा. बास्तोलाको भनाई रहेको छ । अस्पतालमा बि ग्रेडको एम्बुलेन्स समेत नहूँदा समस्या भैरहेको उहाँको गुनासो रहेको छ ।
यसैबीच शुक्रवार पर्वत अस्पतालको वार्षिक समिक्षा गोष्ठि सम्पन्न भएको छ । कार्यक्रममा अस्पतालमा प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बास्तोलाले अस्पतालका गतिविधि, उपलव्धि र समस्याका बारेमा प्रस्तुती राख्नुभएको थियो । कार्यक्रमा जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम विक, स्वास्थ्य कार्यालय पर्वतका प्रमुख प्रविण शर्मा, उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुरवि पौडेल, पत्रकार महासंघ पर्वतका सचिब राजबाबु पिसी लगायतले बोल्नुभएको थियो । कार्यक्रममा सहभागि पत्रकार सञ्चारकर्मीहरुले विभिन्न जिज्ञासा र सुझाव राख्नुभएको थियो । पर्वत अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शंकर गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन प्रकाश सुवेदीले गर्नुभएको थियो ।