पर्वत, ६ असार- उत्तर—दक्षीण जोड्ने राष्ट्रिय गौरबको आयोजना कालीगण्डकी करिडोरको पर्वत खण्डमा निर्माणाधिन मोटरेबल पुल गएराती आएको बाढीले बगाएको छ ।
पर्वतको फलेवास नगरपालिका वडा नं. ६ देविस्थान र फलेवास नगरपालिका-१० कुर्घाबिचमा रहेको लमाए खोलामा निर्माणाधिन पुल गएराती आएको बाढीले बगाएको हो । दुवैतर्फको संरचना निर्माण सकिएर स्लाब ढलानको तयारीमा रहेको पुलका सवै निर्माण सामाग्रीहरु बाढीले बगाएको कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाले जनाएको छ । उक्त पुलको स्लाब भोली शुक्रवार ढलान गर्ने तयारी गरिएको थियो ।
बाढीले निर्माण स्थलमा रहेको सयौ बोरा सिमेन्ट, बालुवा,रड, फर्मा, पाईप, र अन्य टेवा सामाग्रीहरु पुरै बगाएको निर्माण कम्पनी नयाँवाटो गौचन जेभीका प्रतिनिधि दिनेश थापा मगरले जानकारी दिनुभयो । मगरले झण्डै रु. डेढ करोड रुपैया बराबरको क्षति पुर्याएको दावी गर्नुभएको छ । ‘शुक्रवार ढलान गर्नका लागि सवै तयारी भएको थियो, गएराती आाएको बाढीले सवै संरचना बगाएर क्षति भयो’ उहाँले भन्नुभयो-‘आजदेखि काम रोकिएको छ ।’
यो पुल दुई वर्षमा सम्पन्न हुनेगरी वि.सं. २०७४ असार २८ गते सम्झौता भई वि.सं. २०७५ पुस १९ गतेदेखि निर्माणकार्य शुरु भएको थियो । तर अहिलेसम्म जम्मा ६० प्रतिशत मात्र काम सम्पन्न भएको छ । विंसं. २०७६ साल असार मसान्तभित्र सम्पन्न हुनुपर्ने पुल गलत डिजाईन र निर्माण व्यावसायीको लापरबाहीको कारण अझैपनि पुरा हुन नसकेको हो ।
रु पाँच करोड ८९ लाख ८९ हजार दुई सय ७७ रुपैयाको लागतमा बन्ने पुल निर्माणको जिम्मा नयाँबाटो गौचन जेभी निर्माण कम्पनीले पाएको थियो । तर उक्त कम्पनले सहायक ठेकेदार दिपज्योती निर्माण सेवालाई जिम्मा लगाएको थियो । २५ मिटर लामो र ११ मिटर चौडाईको पुल निर्माण सम्पन्न नहँुदा कालीगण्डकी लोकमार्गमा सिधा यातायात संचालन हुन सकेको छैन ।
यो पुल निर्माणका लागि चौथोपटक थप गरिएको म्याद आगामी असोज मसान्तसम्म रहेको छ । कालीगण्डकी लोकमार्ग आयोजना कार्यालयका इन्जिनियर सुरेन्द्र गौतमले आजभन्दा १५ दिन अगावै ढलान गर्नुपर्नेमा ढिलाई गरेकाले निर्माण व्यावसायिले क्षति व्यहोर्नुपरेको बताउनुभयो । उहाँका अनुसार कार्यालयको टोलीले अनुगमन गरेपछि बास्तविक क्षतिको आंकलन गर्न सकिने बताउनुभयो । अहिले ढलान गरेको भए निर्धारित समयमै पुल सकिने थियो, अब वर्खायाममा खोला बढेपछि काम हुन नसक्ने भएकाले केहि समय थप गरेर भएपनि पुल सम्पन्न गर्नुपर्ने अवस्था आएको उहाँले बताउनुभयो ।
इन्जिनियर गौतमले ठेकेदारलाई एक/दुई महिनाको जरिबाना गराएर भएपनि आगामी मंसिरभित्र पुल सम्पन्न गरिने दावी गर्नुभयो । गौतमका अनुसार हालसम्म पुलको दुवैतर्फका पिल्लरको काम सकिएको छ भने स्लाब ढलानको तयारीमा रहेको थियो । वर्षायाम शुरुवात नहुँदै स्लाब ढलान गरिएको भएमा वर्षायाम अगावै सवारीसाधन वारपार गर्न सक्ने थिए गौतमले भन्नुभयो ।
करिडोर अन्तर्गत स्याङजाको मिर्मिदेखि पर्वतको अर्मादीसम्म सडकको ट्रयाक खुलिसकेको छ भने पर्वतको सेतीवेणीदेखि लमाएखोला सम्मको सडक कालोपत्रे समेत भैसकेको छ । लमाए खोलामा पुल निर्माण सम्पन्न नहुँदा करिडोरमा सिधा यातायात संचालन हुन नसकेको हो । मुख्य ठेकेदार कम्पनीले पुल बनाउन पेटी ठेकेदारलाई जिम्मा दिएको थियो ।
कालीगण्डकी करिडोर आयोजनाका इन्जिनियरले शुरुमा डिजाइन गरेको पुल खोलाको दुवैतर्फको किनारमा ढुंगा माथिबाट बनाइने जानकारी दिइएको थियो । डिजाइनकै क्रममा स्थानीयले विरोध गरेपनि इन्जिनियरहरूले गलत डिजाइनलाई नै निरन्तरता दिँदै ठेक्का खुलाएका थिए । ०७४ को अत्यतिर गरिएको प्रतिस्पर्धामा छानिएको नयाँ बाटो गौचन जेभीले दुई वर्षभित्रै पुल सम्पन्न गर्ने जानकारी दिएको थियो ।
वि.सं. २०७५ पुसमा काम शुरु गरेका व्यावसायिले वि.सं.२०७६ जेठमा पुल निर्माण सकेर आयोजना हस्तान्तरण गर्ने तयारी थियो । दुवैतर्फका पिलर उठाएर स्ल्याब ढलान गर्ने समयमा पुनः आयोजना कार्यालयले पुलको निर्माण रोक्न भनेको थियो । त्यही बेलादेखि अलपत्र छाडिएको पुल गत मंसिरदेखि काम शुरु भएको थियो । यो पुलसँगै शुरु भएको मोदीखोलाको पुल दुई वर्ष अघिनै सम्पन्न भएको थियो । पुल निर्माणमा ढिलाई भएपछि यस क्षेत्रकमा सांसद, नगरप्रमुख लगायत स्थानीयवासीले दबाब दिँदै आएका थिए ।
कालीगण्डकी करिडोरको फलेवास-अर्मादी १४ किलोमिटर खण्ड कालोपत्रे भएमा पर्वतको ५५ किलोमिटर सडक पुरा हुने आयोजनाले जनाएको छ ।