पर्वत- पर्वतको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल भमरकोटमा भूमि पुजा सम्पन्न भएको छ । हरेक वर्षको दुईपटक गरिने भूमिपुजा अन्तर्गत कात्तिकमा गरिने पुजा गरिएको हो ।
पर्वतको मोदी गाँपालिका अन्तर्गत देउपुर, देउराली र भुकताङ्लेका बासिन्दाहरुको सहभागितामा पुजा सम्पन्न भएको स्थानीय प्रकाश चापागाईले जानकारी दिनुभयो । भुमि पुजा गर्नका लागि उक्र क्षेत्रका झण्डै एक हजार भन्दा बढिको सहभागिता रहेको थियो । शान्ति र समृद्धिको कामनाका साथै लोकको रक्षाका लागि भूमि पुजा गरिँदै आएको छ । भूमि पुजाको मुख्य पण्डितको रुपमा विष्णुप्रसाद सुवेदी रहनुभएको थियो र
समुन्द्र सतहबाट झण्डै २४ सय मिटरको उचाइमा रहेको भमरकोटवाट गण्डकी प्रदेशका बागलुङ, म्याग्दी, कास्की, स्याङ्जा, पाल्पा लगायतका जिल्लाहरू एकै ठाउँबाट नियाल्न सकिन्छ ।
धार्मिक रुपमा समेत महत्वपुणर् मानिने भमरकोट खडेरी लागेको बेलामा मन्दिरमा पूजा गर्दा इन्द्र देवता खुसी भई वर्षा गराइदिने गरेको जनविश्वास रही आएको छ। उक्त मन्दिरमा गएर भाकल गरेमा बर मागेको कुरा पूरा हुन्छ भन्ने विश्वास रहेको स्थानीयले बताएका छन् । ठुला घाँसे मैदान, दर्जनौँ प्रजातिका गुराँस, चाँप, कटुस, लोक्ता, विविध जडीबुटी तथा घना जङ्गल अवलोकनमा रम्न पाइने त्यस क्षेत्रको अर्को आकर्षण हो। विभिन्न प्रजातिका चराचुरुङ्गी, र जङ्गली जनावरहरू देख्न पाइने ठाउँ भमरकोट हो।
भमरकोट क्षेत्र बाइसी चौबिसी राज्यको बेलामा मल्ल राजाले शासन गरेको ठाउँ हो। त्यहाँ अहिले पनि ओखल लगायतका केही भग्नावशेषहरू देख्न सकिन्छ।






