पर्वत- ः मार्ग खुलेको झण्डै दुई दशकपछि पर्वतको पातीचौर-बाजुङ-क्याङ-लेसपार-नागी सडक स्तरोन्नतीको काम धमाधम भैरहेको छ ।
एसियाली विकास बैंक (एडिबि)को सहयोगमा आरसिआईपी परियोजना पोखरा मार्फत सडकको स्तोन्नती थालिएको हो । करिब २८ किलोमिटर लामो यो सडक झण्डै रु. ५४ करोड ९० लाख ४२ हजार नौ सय ७० रुपैयाको लागतमा स्तरोन्नती थालिएको हो । यो अहिले जिल्लामा सञ्चालित सडक आयोजना मध्ये सवैभन्दा ठुलो रहेको मोदी गाउँपालिकाका उपाध्यक्ष बिमल लामिछानेले जानकारी दिनुभयो ।
मार्ग खुलेको लामो समयसम्म पनि सडक स्तरोन्नती नहुँदा पर्वतको मोदी गाउँपलिकाका वडा नंं. ५, र वडा नंं ४ का बासिन्दा कष्टकर रुपमा यात्रा गर्न बाध्य भएका थिए । स्तरोन्नती अन्तर्गत अहिले चक्लाबन्दी गर्ने, नाली बनाउने, ग्याबियन जाली, टेवा पर्खाल निर्माण लगायतका काम भैरहेको उपाध्यक्ष लामिछानेले जानकारी दिनुभयो ।
चौविस महिना भित्र निर्माण सम्पन्न गर्नेगरी गत चैत २९ गते एमएस बानिया निर्माण सेवा प्रालि हेटौडाले निर्माणको जिम्मा पाएको छ । अहिले स्तरोन्नतीका लागि पर्याप्त जनशक्ति राखेर काम गरिरहेको निर्माण व्यावसायिले जानकारी दिएका छन् ।
दुई वर्षमा कालोपत्र सहित सम्पन्न हुने सडकले छिमेकी जिल्ला म्याग्दीको पर्यटकीय क्षेत्र नागीलाई समेत जोड्ने छ । यसले पर्यटकीय र अन्य रणनीतिक महत्व समेत बोकेको गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माले बताउनुभयो । विशेषगरी पर्वतको जलजला, हम्पाल, माटे हुँद्यै म्याग्दीका नागी, मोहोरेडाँडा, पुनहिल लगायतका क्षेत्रमा जाने पर्यटकहरुलाई पनि सडकले राहत मिल्ने अपेक्षा गरिएको छ ।
यो सँगै मोदी गाउँपालिकामै अर्को सडक समेत कालोपत्रको काम भैरहेको छ । गण्डकी प्रदेश सरकारको समपुरक बजेट अन्तर्गत करिब रु.४२ करोडको लागतमा निर्माणाधीन रतिखोला-दराक-चित्रे-गँगटे सडक स्तरोन्नती तथा कालोपत्रको काम पनि दु्रत गतिमा भैरहेको पुर्वाधार विकास कार्यालय पर्वतले जनाएको छ । १२ किलोमिटर लामो यो सडक दुई वर्ष भित्रमा कालोपत्र सहित सम्पन्न हुने छ ।
दुवै सडकको संघीय सांसद तथा पुर्व मन्त्री पदम गिरीले अनुगमन गर्नुभएको छ । सो क्रममा सांसद गिरीले गुणस्तरीय काम गर्न आग्रह गर्नुभएको छ । तोकिएकै समयमा निर्धारित गुणस्तर अनुसारको काम गरेर सडक हस्तान्तरण गर्न निर्माण व्यावसायी र सम्वन्धित कार्यालयलाई आग्रह गर्दै कुनै समस्या आई लागेमा आवश्यक समन्वय गर्न समेत सुझाव दिनुभएको छ ।