प्रमुख समाचार

पूर्णेश्वरमा विद्युतीय अपराध तथा आधारभूत कानुनी सचेतना कार्यक्रम सम्पन्न

By लोकतन्त्र अनलाईन

June 17, 2024

पर्वत : पर्वतको कुश्मा नगरपालिका–१० पिपलटारीमा रहेको पूर्णेश्वर माध्यमिक विद्यालयका भूतपूर्व विद्यार्थीको आयोजनामा विद्युतीय अपराध तथा आधारभूत कानुनी सचेतना कार्यक्रम सम्पन्न भएको छ । जानेर वा नजानेर बढ्दै गइरहेको विद्युतीय अपराध तथा ज्ञानको अभावमा हुन सक्ने कानुनी त्रुटिलाई न्यूनीकरण गर्न कार्यक्रमको आयोजना गरिएको हो । शैक्षिक तथा सामाजिक क्षेत्रमा दर्जनौँ कार्य गर्दै आइरहेको भूतपूर्व विद्यार्थी समाजले मातृ संस्थाका विद्यार्थी, शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घका सदस्य, विद्यार्थी समाज, राजनीतिक दलका प्रमुखहरू, वडा कार्यसमितिका बिच सो कार्यक्रमको आयोजना गरेको हो । विद्यालयमा नै आयोजित उक्त कार्यक्रममामा विद्युतीय अपराध सम्बन्धी सहजीकरण जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अर्जुन पौडेलले गर्नुभएको थियो भने आधारभूत कानुनी ज्ञानको बारेमा जिल्ला अदालत वार इकाईका अध्यक्ष अधिवक्ता दिलीप पौडेलले सहजीकरण गर्नुभएको थियो । दुई सत्रमा सञ्चालन भएको उक्त कार्यक्रमको उद्घाटन सत्रमा भूपू समाजका सल्लाहकार शान्त पौडेलले ब्यानर बढेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै पौडेलले भूतपूर्व विद्यार्थी समाजले पिपलटरीमा शैक्षिक तथा सामाजिक क्षेत्रमा गरेका सकारात्मक कार्यले शैक्षिक क्षेत्रमा उल्लेखनीय टेवा पुगेको र अरूलाई पनि केही गर्न उत्प्रेरित गरेको बताउनुभयो । पर्वत जिल्लामै पहिलो भूतपूर्व विद्यार्थी समाजको रूपमा रहेको पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाज शिक्षा, स्वास्थ्य लगायत अन्य सामाजिक विकासका क्षेत्रमा अग्र भागमा रहेर काम गरिरहेको उहाँको भनाइ छ । समाजले गर्ने यस्ता कार्यमा सबैले सहयोग र सहकार्य गर्दै सामाजिक सेवामा लाग्नुपर्ने उहाँको भनाइ छ । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद अर्याल, पिपलटारीको वडा समिति सदस्य डम्मरु लामिछाने, नेपाली काँग्रेसका क्षेत्रीय सदस्य लोकप्रसाद अधिकारी, नेकपा (एमाले) वडा कमिटीका सचिव शोभाखर खनाल, नेकपा माओवादी केन्द्रका वडा कमिटी अध्यक्ष कृष्णप्रसाद सुवेदी (राजु) लगायतले मन्तव्य राख्नुभएको थियो । समाजका अध्यक्ष राजु पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्वागत समाजका कोषाध्यक्ष शर्मिला तिवारीले गर्नुभएको थियो भने सञ्चालन समाजका सचिव सन्तोष पौडेलले गर्नुभएको थियो ।