प्रमुख समाचार

पर्वतको पातीचौर-लप्सीवोट सडक एक महिनादेखि अवरुद्ध, मर्मत गर्न बेवास्ता

By लोकतन्त्र अनलाईन

August 16, 2024

पर्वत ३२ साउन ः पर्वतको प्रसिद्ध पर्यटकीय गाउँ भुकताङ्ले जोड्ने सडक विगत एक महिनाअघिदेखि अवरुद्ध बनेको छ ।

जिल्लाको मोदी गाउँपालिकाका देउपुर, देउराली र भुकताङ्ले गरी तीन वटा वडाहरुलाई मध्यपहाडी लोकमार्गसँगसंग जोड्ने पातीचौर – लप्सीबोट सडक अझै खुल्न नसकेको हो । गत असार २६ गतेको भीषण वर्षाको कारण सडक खण्ड अन्तर्गत मोदी गाउँपालिका वडा नं. २ कोरूङ्गामा गएको ठूलो पहिरो पन्छाउन नसक्दा उक्त क्षेत्रका बासिन्दा सास्ती खेप्न बाध्य भएका छन् ।

झण्डै दुई किलोमीटर पक्की सडक पहिरोले पुरिनुका साथै संरचना समेत भत्किएको स्थानीय भूमिराज शर्माले जानकारी दिनुभयो । यो सडक खण्ड अन्तर्गत जरुवा, पानी खोल्सा, कोरूङ्गा लगायतका स्थानमा पहिरोले पुरिएको छ भने कतै बाढीले सडकनै बगाएको उहाँले बताउनुभयो ।

एक महिना भन्दा बढि समय भैसक्दा पनि सो सडक खुलाउने कुनै प्रयास हुन सकेको छैन । सडक संचालनका लागि मोदी गाउँपालिकाले समेत वेवास्ता गरेको स्थानीयवासीको गुनासो छ । लामो समय सडक अबरुद्ध हुँदा यात्रुलाई निकै सास्ती हुनुका साथै अत्यावश्यक सामान ढुवानीमा समस्या भएको मोदी गाउँपालिका वडा नं. १ भुकताङ्लेका वडा अध्यक्ष टेकबहादुर गुरुङले बताउनुभयो । सडककै कारण भुकताङ्ले र लप्सीवोटमा संचालित दुई दर्जन बढि होम-स्टे समेत सुनसान बनेका छन् ।

उक्त क्षेत्रमा संचालन हुने दर्जनौ सवारी साधन महिनादिनदेखि कोरुङ्गामा थन्किएका छन् । त्यहाँ बाट झण्डै दुई किलोमिटर पैदल हिंड्नु पर्ने वाध्यता स्थानीयको छ । सडक अवरुद्ध हुँदा सवारी साधनको अभावमा बिरामीहरूलाई समयमै स्वास्थ्य संस्थाहरुमा पुर्‍याउन समेत नसकिएको स्थानीय सन्तोष तिमिल्सिनाले बताउनुभयो । गाउँमा एम्बुलेन्स जाने अवस्था छैन । सिकिस्त बिरामी, गर्भवती र सुत्केरीलाई डोकोमा बोकेर अस्पताल लैजानु परेको तिमिल्सिनाले बताउनुभयो ।

दैनिक कार्यालय तथा विद्यालय जाने कर्मचारी र शिक्षकहरुले पनि उस्तै सास्ती व्यहोरेका छन् । आफ्ना सवारी साधन पातिचौरमा थन्क्याएर उकालो हिंड्नुपरेको उनिहरुको गुनासो छ । पहिरोले क्षतिग्रस्त भएको सडक तत्काल सुचारु गर्न कठिन भएको मोदी गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष बेलबहादुर कार्कीले बताउनुभयो ।

अध्यक्ष कार्कीका अनुसार वैकल्पिक मार्गको रूपमा बेतेनी-गौडा- राहाले सडक स्तरोन्नति गरी सञ्चालनमा ल्याउने प्रयास थालिएको छ । तर उक्त वैकल्पिक सडक निकै चिप्लो र हिलो भएको कारण सवारी साधन सञ्चालनमा समस्या आउने सवारीचालकहरुले बताएका छन् ।

‘वैकल्पिक सडकबाट सवारी साधन लिएर आउँछन् तर सडक पार गर्न निकै कठिन हुने गरेको छ । कति त फर्किएर जान्छन् । स्थानीय मिठु चापागाईले भन्नुभयो ।’ स्थानीय राजेश गिरीले करिब डेढ किलो मीटर को सडक दुई चार ठाउँमा सामान्य मर्मत गरी दिने हो भने नियमित गाडी चल्न सक्ने अवस्था हुँदा हुँदै पनि बेवास्ता गरिएको गुनासो गर्नुभयो । वैकल्पिक मार्ग लाई पक्की सडकको रूपमा स्तरोन्नती गर्न सके बर्खाको समयमा यात्रुले सास्ती झेल्न नपर्ने उहाँले बताउनुभयो । थोरै लगानीमा धेरै काम दिने छोटो दुरीको सडक निर्माणमा स्थानीय, प्रदेश र केन्द्र सरकारले लगानी गर्नुपर्ने उनिहरुको माग छ ।