पर्वत- कृषि ज्ञान केन्द्र पर्वतको चालु आर्थिक वर्षको कार्यक्रम मध्ये हालसम्म झण्डै ५० प्रतिशत प्रगति हासिल गरेको छ । बिहीवार आयोजित जिल्ला स्तरीय प्रगति समिक्षा गोष्ठिमा तेस्रो त्रैमासिक सम्म झण्डै ५० प्रतिशत प्रगति गरेको देखाएको छ । वित्तिय प्रगति भने चैत्र मसान्त सम्म जम्मा २९ दशमलब ४८ प्रतिशत रहेको छ । चालु आर्थिक वर्षमा कार्यालयका लागि बिनीयोजन भएको रु ८ करोड १० लाख २१ हजार बजेट मध्ये हालसम्म रु २ करोड ४२ लाख रुपैया खर्च भएको छ । केन्द्रका चालु आर्थिक वर्षमा बजेट बिनीयोजन भएका २४ वछा आयोजना मध्ये २३ वटा संचालनमा रहेका छन् । कतिपय आयोजना सम्पन्न भैसकेको कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख परशुराम अधिकारीले जानकारी दिनुभयो । आयोजना मध्ये ६ वटाको ८० प्रतिशत काम सम्पन्न भएका छन् भने ५० प्रतिशत भन्दा कम प्रगति भएका आयोजनाको संख्या १० वटा रहेको छ । कार्यालयले रैथानेवाली प्रवद्र्धन कार्यक्रम, ग्रामीण पोषण सुरक्षा कार्यक्रम, जलवायु मैत्री कृषि प्रवद्र्धन कार्यक्रम, विऊ उत्पादन, आईपिएम कृषक पाठशाला, फलफुल बगैचा व्यवस्थापन, बमौसमी तरकारी खेती प्रवद्र्धन, व्यावसायिक किट विकास कार्यक्रम, मसला तथा निर्यातयोग्य वाली प्रवद्र्धन, आलु, मकै, तथा खाद्यान्न बाली प्रवद्र्धनका कार्यक्रम संचालन गरेको छ । प्रगति समिक्षा गोष्ठिमा बोल्दै जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम विकले तीनै तहका सरकारबीच आपसी समन्वय गरेर आगामी कार्यक्रम तर्जुमा गर्नुपर्ने बताउनुभयो । एउटै कार्यक्रममा दोहोरो वा तेहेरोपना नआउनेगरी स्थानीय तहसँग समन्वय गर्न आग्रह गर्नुभएको छ । कृषकलाई प्रत्यक्ष फाईदा पुग्ने खालका कार्यक्रम ल्याउन उहाँले सुझाव दिनुभयो । कार्यक्रममा फलेवास नगरपालिकाका उपप्रमुख शोभाकुमारी क्षेत्रीले कृषि क्षेत्रको विकासबाट मात्रै जिल्लाको समृद्धि हासिल हुने भएकाले उत्पादनलाई जोड दिनुपर्ने बताउनुभयो । उहाँले कृषि ज्ञान केन्द्रसँग फलेवास नगरपालिका आपसी समन्वय र सहकार्य गरेर कृषिको क्षेत्रमा काम गर्न तयार रहेको बताउनुभयो । कार्यक्रममा सहभागि कृषक, पत्रकार लगायतले विभिन्न जिज्ञासा तथा सुझावहरु राख्नुभएको थियो । सो अवसरमा आगामी आर्थिक वर्षको लागि योजना तर्जुमा गर्दा कुन कुन क्षेत्रलाई प्राथमिकतामा राख्ने भन्ने विषयमा समेत छलफल गरिएको थियो । कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख परशुराम अधिकारीको अध्यक्षतामा सम्पन्न कामर्यक्रको स्वागत कृषि प्रसार अधिकृत प्रेमप्रसाद आचार्यले गर्नुभएको थियो । कार्यक्रमको संचालन कार्यालयका अधिकृत लालप्रसाद लामिछानेले गर्नुभएको थियो । आगामी वर्षको योजना तर्जुमाका विषयमा बागवानी विकास अधिकृत शंकर पौडेलले प्रस्तुती राख्नुभएको थियो ।