प्रमुख समाचार

जलजलामा वार्षिक परिक्षालाई व्यवस्थित बनाउने तयारी

By लोकतन्त्र अनलाईन

March 16, 2024

पर्वत- पर्वतको जलजला गाउँपालिकामा आइतबार देखि सुरु हुने पालिका स्तरीय वार्षिक परिक्षालाई व्यवस्थित र प्रभावकारी बनाउने गरी तयारी गरिएको छ ।

गाउँपालिकाका विभिन्न १५ वटा विद्यालयहरुमा परिक्षा केन्द्र र केन्द्राध्यक्ष समेत तोकिसकिएको पालिकाले जनाएको छ । यसअगाडि प्रथम त्रैमासिक र अर्धबार्षिक परीक्षा समेत गाउँपालिका स्तरमा नै सञ्चालन गरेको गाउँपालिकाले बार्षिक परीक्षामा पनि एकरुपता कायम गर्दै विद्यालयहरुको स्तर थाहा पाउन पालिका स्तरमा परीक्षा सञ्चालन गर्न लागेको गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिनुभयो ।

शैक्षिक गुणस्तर सुधारको अभियान संचालन गरेको जलजलाले व्यवस्थित रुपमा परिक्षा संचालनका लागि आवश्यक तयारी गरेको अध्यक्ष आचार्यको भनाई छ । शैक्षिक सुधार नै आफ्नो प्रामुख एजेण्डा रहेको भन्दै यसैमा निरन्तर र नियमित रुपमा लागिरहेको उहाँले बताउनुभयो ।

गुणस्तरीय शिक्षाको खोजीमा गाउँघर छाडेर बालबच्चा बोकेर सहर पस्ने क्रम नरोकिएकोमा चिन्ता व्यक्त गर्दै उनले रित्तिँदै गएका बस्तीहरुलाई पुनः भरीभराउ बनाउन शैक्षिक क्षेत्र पनि एक अपरिहार्य पक्ष रहेको अध्यक्ष आचार्यले बताउनुभयो । परिक्षामा गाउँपालिकाभरका कर्मचारी, जनप्रतिनिधि र सरोकारवालहरु समेत खटाएर प्रभावकारी बनाउन प्रयास गरिने छ । परिक्षा सकिएपछि सम्पूर्ण विद्यार्थीहरुको सिकाई उपलब्धि स्तरलाई एकीकृत तथ्याङ्कको रुपमा तयार पार्ने गाउँपालिकाको योजना छ । विद्यालय र विद्यार्थीहरुको वर्तमान अवस्थाको बारेमा थाहा पाउन परीक्षा केन्द्रबाट उत्तरपुस्तिकाहरु गाउँपालिकाको केन्द्रमा लगेर परीक्षण गर्ने योजना बनाइएको पालिका अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।

‘हामीले १२ कक्षा सम्मको सबै परिक्षा गाउँपालिकाले नै सञ्चालन गर्दै आएका छौँ । गाउँपालिकाले नै प्रश्न बैंक र परिक्षा समिति निर्माण गरेर परीक्षाको तयारी गरेका छौं । गाउँपालिकाभरका जम्मा १५ वटा विद्यालयमा परीक्षा केन्द्र तोकिएको छ, जसमा बाह्य विद्यालयबाट जनशक्ति खटीएर परिक्षा चलाउँछ’, उहाँले भन्नुभयो, ‘अन्य पालिकाहरुमा ८ कक्षाको परिक्षा मात्रै स्थानीय तह स्तरमा गरेको भए पनि हामीले विद्यालयका सबै कक्षाको परिक्षा पालिका स्तरमा गरिरहेका छौँ ।

सफ्टवेयरका माध्यमबाट परिक्षाको नतिजा विश्लेषण गरिन्छ । विद्यार्थी र विद्यालयको अवस्था थाहा पाएपछि सोही अनुसार नयाँ शैक्षिक सत्रमा योजना निर्माण गरेर कार्यान्वयन गर्ने छौँ ।’