पर्वत- यतिवेला पर्यटकीय याम चलिरहेको छ । चाडवाड, सार्वजनिक विदा, सफा मौसम लगायतका कारण घुम्न मन पराउनेहरुलाई अनुकुल समय बनेको छ । नेपालका पर्यटकीय क्षेत्रहरुमा आन्तरिक तथा बाह्य पर्यटकहरुको चहलपहल बढिरहेकै बेला पर्वतमा नयाँ बनेको गन्तब्य पर्यटकको रोजाईमा पर्न थालेको छ ।
पर्वतको मोदी गाउँपालिका वडा नं. १ झिलिबराङ्ग स्थित कोखेडाँडा पर्यटकको नयाँ गन्तव्यको रुपमा विकास भएको हो । समुद्री सतहदेखि तीन हजार तीन सय ९ मिटरको उचाईमा रहेको यो स्थान निकै मनमोहक र शुन्दर रहेको छ । यो जिल्लाकै सवैभन्दा उच्च स्थान हो ।
छिमेकी जिल्ला म्याग्दीको प्रसिद्ध पर्यटकीय स्थल मोहोरेडाँडा भन्दा झण्डै आधा घण्टाको पैदल यात्रामा पुग्न सकिने कोखेडाँडावाट सुर्योदय, सुर्यास्त, अन्नपुणर्, माछापुच्छ्रे, धौलागिरि, निलगिरी, लगायतका दर्जनौ हिमश्रृङ्खलाहरु नजिकवाट अवलोकन गर्न सकिन्छ । म्याग्दीको पुनहिल भन्दा पनि उचाईमा रहेको यो स्थान आवश्यक प्रचार प्रसार र भौतिक संरचनाको अभावमा ओझेलमा परेको स्थानीयको गुनासो छ । यहाँवाट पर्वत, कास्की, स्याङ्जा, बागलुङ, म्याग्दी, लमजुङ, तनहुँ जिल्ला प्रत्यक्ष रुपमा देख्न पनि सकिन्छ ।
लामो समयदेखि पर्यटन क्षेत्रको विकासमा लाग्नुभएका लेखबहादुर गुरुङले कोखेडाँडामा कटेज स्थापना गरेपछि यहाँ पर्यटकको चहलपहल बढ्दै गएको हो । गुरुङले रु. एक करोड २० लाख रुपैयाको लगानीमा आपा कटेज खोल्नुभएको छ । कटेजमा एक रातमा नेपालीहरु झण्डै ४० जना सम्म बास बस्न मिल्छ भने बिदेशी १५ जनासम्म राख्ने गरेको उहाँले बताउनुभयो । यो खबर धौलागिरि सञ्चार साप्ताहिकवाट साभार गरिएको हो ।
गुरुङका अनुसार यस क्षेत्रकै उत्कृष्ट गन्तव्यको रुपमा विकास गर्न सकिने भएपनि अहिलेसम्म कुनैपनि तहका सरकारवाट सहयोग नपाएको गुनासो गर्नुभयो । उहाँले यहाँ आउने पर्यटकको सुविधाका लागि तत्काल नेपाल टेलिकम वा एनसेलको टावर स्थापना गर्नुपर्ने, विद्युतीकरण र सहज पदमार्गहरुको अभाव रहेको बताउनुभयो ।
उहाँको रेष्टुरेन्टमा सोलार जडान गरेर बिजुली बाल्ने, मोवाईल तथा क्यामेरा चार्ज गर्ने गरिएको छ । सवैखालको सुविधा उपलव्ध भएमा यहाँ पर्यटकको संख्या थामिनसक्नु हुने उहाँको अनुभव छ । अहिले यहाँ पर्वत, बागलुङ, काठमाण्डौ, चितवन, पोखरा, स्याङ्जा, म्याग्दी, चितवन लगायतका जिल्लावाट आन्तरिक र युरोप, दक्षिण कोरिया लगायतका मुलुकवाट समेत पर्यटकहरु आउने गरेका छन् ।
गुरुङले आफ्नो कटेजमा आउने आन्तरिक र बाह्य पर्यटकहरुलाई छुट्टाछुट्टै दररेटको प्याकेज बनाएको जानकारी दिनुभयो । नेपालीहरुलाई एक रातको जम्मा रु. एक हजार पाँच सय रुपैयाको प्याकेज निर्धारण गरिएको छ ।
कोखेडाँडामा विभिन्न ३० देशका झण्डाहरु समेत राखिएको छ । बाह्य पर्यटकको आकर्षण बढाउनकै लागि भारत, एशियाका अधिकांश मुलुकका साथै, युरोपियन मुलुक, अस्ट्रलिया र अमेरिकन देशका झण्डाहरुले सजाएर आकर्षक बनाईएको छ । यहाँ पुग्ने पर्यटककै सुविधाका लागि गुरुङले कास्कीको अन्नपुणर् गाउँपालिका वडा नं. ८ ताप्राङमा समेत आमा कटेज संचालनमा ल्याउनुभएको छ । दुवै कटेजमा गरी ६ जना युवालाई रोजगारीको अवसर समेत प्रदान गरेको उहाँले बताउनुभयो ।
पर्यटकीय स्थल कोखेडाँडा जानका लागि पर्यटकहरुले तीनवटा मार्ग प्रयोग गर्न सक्नेछन् । कास्कीको नयाँपुल-उल्लेरी-वनठाँटी हुँदै पैदल हिडेर कोखेडाँडा पुग्न सकिन्छ । यो मार्गवाट चार देखि पाँच घण्टा पैदल यात्रा गर्नुपर्दछ । त्यसैगरी पातीचौर-बाजुङ-क्याङ-लेसपारसम्म गाडीमा यात्रा गरी त्यहाँवाट झण्डै ६/७ घण्टाको पैदल यात्रामार्फत पनि कोखेडाँडा पुग्न सकिन्छ भने पर्वतको जलजला गाउँपालिका अन्तर्गत मिलनचोक-शालिजा-तारे-हम्पाल सम्म गाडीको यात्रा गरेर तीन घण्टाको पैदल यात्रा गरी कोखेडाँडा पुग्न सकिन्छ । यो खबर धौलागिरि सञ्चार साप्ताहिकवाट साभार गरिएको हो ।
कोखेडाँडा जाने पदमार्ग निर्माणका लागि चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालयमार्फत रु. १० लाख रुपैया बिनीयोजन भएको छ । यसै वर्ष पदमार्ग निर्माण गरिने मोदी गाउँपालिका वडा नं. १ भुकताङ्लेका वडा अध्यक्ष टेकबहादुर गुरुङले बताउनुभयो । पालिकाकै उत्कृष्ट पर्यटकीय स्थल भएपनि मोदी गाउँपालिकाले भने कुनै बजेट बिनीयोजन नगरेको उहाँको भनाई छ ।
कोखेडाँडा जाने पर्यटकहरु मोदी गाउँपालिका वडा नं. १ लप्सीबोट र भुकदेउराली र ताङ्लेमा रहेको होमस्टेमा समेत बास बस्न सक्नेछन् । त्यस्तै मोदी गाउँपालिका वडा नं. ४ लेसपारमा पनि होमस्टे सुविधा विस्तार गरिएको छ ।