पर्वत, ३ वैशाख ः लामो समयपछि परेको वर्षासँगैको असिनाले पर्वतको सुन्तला पकेट क्षेत्रमा ठुलो क्षति पुर्याएको छ ।
जिल्लाको मोदी गाउँपालिका वडा नं. २ देउपुरमा गरिएको व्यावसायिक सुन्तला खेतीमा असिनाले ठुलो क्षति पुर्याएको हो । शनिवार दिउँसो चार बजेदेखि लगायतार एक घण्टासम्म परेको असिनाले फल लाग्न थालेको सुन्तला पुरै झारे नष्ट भएको स्थानीय कृषक दाताराम चापागाईले जानकारी दिनुभयो । यहाँका झण्डै दुई सय कृषकले लगाएको सुन्तला खेती एकैछिनको असिनाले सखाप बनाएको उहाँले बताउनुभयो ।
यहाँका कृषकले बार्षिक रु. ५ सम्मको सुन्तला विक्रि गर्दै आएका छन् । एक वर्ष धेरै उत्पादन भए अर्को वर्ष कम उत्पादन हुने सुन्तला खेतीवाट लगातारा दुई वर्ष नोक्सानी व्यहोर्नु परेको चापागाईले बताउनुभयो । अघिल्लो वर्ष पनि सुन्तलामा फल लाग्ने बेला आएको असिनाका कारण यस वर्ष उनिहरुले जम्मा रु. ४ करोड रुपैया मात्र भित्र्याउन पाएका थिए । अहिलेपनि सुन्तलाको फुल र बतिला सवै झारेर नष्ट गरिदिएका कारण आगामी वर्षपनि आम्दानी ह्वात्तै घट्ने अर्का कृषक प्रकाश चापागाईले जानकारी दिनुभयो ।
असिनापानीले सुन्तलासँगै भर्खरै उम्रिएका खेतवारीको मकै, लहरे तरकारीवाली र अन्य व्यावसायिक रुपमा लगाईएको काउली, बन्दा, सिमी, केराउ लगायतका तरकारीमा क्षति पुर्याएको छ । दुई साता अघि नेपालकै स्वादिलो रैथाने जातको सुन्तला उत्पादन हुने पर्वतको जलजला गाउँपालिका वडा नं. १ बाँसखर्कमा पनि असिनाले सुन्तलामा क्षति पुर्याएको थियो । फल लाग्नका लागि फुलेको सुन्तला र मुनाहरु पुरै झारेर नष्ट गरिदिएको थियो भने आलु, गहुँ, तोरी र जौ खेतीमा समेत क्षति पुर्याएको थियो ।
कृषि ज्ञान केन्द्र पर्वतले शनिवार साँझ परेको भिषण वर्षासँगैको असिनाले मोदी गाउँपालिकाका विभिन्न वडामा क्षति पुर्याएको जानकारी दिएको छ ।