प्रमुख समाचार

वडामै योजना सम्झौता र बैंक खाता खोल्दै पैंयू गाउँपालिका

By लोकतन्त्र अनलाईन

December 14, 2024

पर्वत, २९ मङ्सिर ः दक्षिण पर्वतको पैयूँ गाउँपालिकाले योजना सम्झौता तथा बैंक खाता खोल्ने कार्य वडाबाटै सुरु गरेको छ ।

नागरिकलाई सहज र सरल सेवा प्रदान गर्दै घण्टौंको समय लगाएर पालिका धाउनुपर्ने झन्झट हटाउनका लागि वडामै पुगेर योजना सम्झौताको काम थालिएको हो । पैयूँ गाउँपालिका-१ टकलाकबाट गत बुधवारदेखि शिविर संचालन गर्न थालिएको हो पालिकाको सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने लक्ष्यका साथ अघि बढाइएको यो अभियान पालिकाका सातवटै वडामा संचालन भैरहेको छ ।

पहिलोपटक गाउँपालिकाका सबै कर्मचारी वडा कार्यालयमै पुगेर योजना सम्झौताका काम गर्न थालिएको पैयूँ गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले जानकारी दिनुभयो । वडा नम्बर १, २, ३ र ५ मा गरी अहिलेसम्म ५० भन्दा बढि योजना सम्झौता भइसकेको उहाँले बताउनुभयो । कर्मचारी सँगै स्थानीय बाणिज्य बैंकका कर्मचारी समेत पुगेर सम्वन्धित उपभोक्ता समितिको खाता खोल्ने कार्य समेत गरेका छन् ।

अध्यक्ष ठकुरीले वडाबाटै सम्झौता गर्ने कार्यले उपभोक्ता समिति र नागरिकलाई ठुलो राहत मिलेको छ । विशेषगरी उपभोक्ता समितिमार्फत हुने योजनाहरु सम्झौतामा जोड दिईएको छ । सडक मर्मत, साना सिंचाई, खानेपानी, कृषि तथा पशुपालन फार्मका अनुदानमुलक योजनाहरु, विद्यालय मर्मत, खेलमैदान निर्माण जस्ता योजनाहरु वडामै पुगेर सम्झौता गरिएको अध्यक्ष ठकुरीको भनाई छ ।

यो अभियानले सेवा प्रवाहमा पारदर्शिता, सहजता र सरलता ल्याउने विश्वास उहाँको छ । गाउँपालिकाका उपाध्यक्ष यामकुमारी रानाले यो कदमले ग्रामीण क्षेत्रमा सेवा पालिकाको पहुँच विस्तार गर्न सहयोग पुर्‍याएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यसले नागरिकलाई पालिकासम्म धाउनुपर्ने समस्या समाधान गरेर उनीहरूको समय र खर्च बचत गरेको छ ।’

पालिकाका प्राविधिक प्रमुख अनिल कमल न्यौपानेले नागरिकलाई सहज रुपमा सेवा प्रवाह गर्न र समय बचत गर्न यो कार्यक्रम प्रभावकारी हुने बताउनुभयो । उहाँले सम्झौता लगत्तै उपभोक्ताहरुले सालवसाली योजनाहरुको काम शुरु गर्ने भएकाले असारे विकासलाई रोक्न सकिने बताउनुभयो । समयमै काम गर्दा गुणस्तर पनि हुने र यसमा पालिकाले आवश्यक सहजीकरण समेत गर्ने उहाँको भनाई छ ।

“पहिले पालिका धाउन धेरै समय र खर्च लाग्थ्यो । वडाबाटै सम्झौता गर्न पाउँदा हामीलाई सहज भएको छ ।” भञ्ज्याङ पोखरी निर्माण योजनाका अध्यक्ष भवानी शंकर भुर्तेलले यो प्रयासले विकास निर्माणको कामलाई गति दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “योजनाका काम समयमै सम्पन्न गर्न यो कदम निकै उपयोगी भएको छ ।”

उज्यालो वडा अभियानका अध्यक्ष गंगाधर भुर्तेलले वडामा नै सेवा उपलब्ध गराउनु सकारात्मक रहेको भन्दै भन्नुभयो, “यसले नागरिकलाई प्रत्यक्ष रूपमा लाभ पुर्‍याएको छ ।” गुरुङ गाउँ प्रतीक्षालय निर्माण योजनाका अध्यक्ष बेल बहादुर गुरुङले पनि वडाबाटै सम्झौता कार्य गर्नुले नागरिकलाई राहत दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले पालिका पुग्दा धेरै समस्या थियो, तर अब गाउँकै विकास सहज भएको छ ।”

यस अघि जिल्लाको महाशिला गाउँपालिका र जलजला गाउँपालिकाले पनि वडामै पुगेर योजना सम्झौता गर्ने शिविर संचालन गरिसकेका छन् ।