पर्वत – दामोदरकुण्ड र मुक्तिनाथवाट उत्पत्ति भई बहने पवित्र कालीगण्डकी नदि किनारका शालग्राम शिलाको महत्व दिन प्रतिदिन बढ्दै गएको छ । शालग्राम शिला पाइने विश्वकै एक मात्र नदी कालीगण्डकी नदी किनारबाट मुर्ति निर्माण तथा शिला पुजनका लागि स्वदेश तथा विदेशमा समेत लैजाने क्रम समेत बढ्दै गएको हो । भारतको अयोध्या, चितवनको माडि र रौतहट जिल्लाको गढीमाई नगरपालिका-७ धर्मपुरामा मुर्ति बनाउने प्रयोजनका लागि शिला लगिएको छ । भने साना प्रकृतिका शिलाहरु खोज्ने र घर वा मन्दिरमा पुजा गर्न लैजाने क्रम निरन्तर चलिरहन्छ । कालीगण्डकीमा मात्र पाईने शालग्राम शिला चोरी, निकासी नहोस् भन्ने उद्धेश्यले संरक्षण र प्रवद्र्धन गर्नका लागि नामाकरण गरिने भएको छ । नदिका दुवै किनारमा रहेका शिलाहरुको नामाकरण गर्न थालिएको हो । प्रकृति र पर्यावरण तथा शालग्राम संरक्षण समिति जलजला गाउँपालिकाले म्याग्दीको पवित्र धार्मिक स्थल गलेश्वरधामदेखि पर्वतको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल मोदीबेणी धाम सम्म रहेका सवैखाले शालग्राम शिलाको नामाकरण गर्न थालेको हो । आगामी जेठ ६ गते श्रीकृष्ण मोहिनी एकादशी तिथिको अवसरमा शालग्राम शिलाहरुमा देवी, देवता र भगवानका अनेकन नामले नामाकरण गरिने भएको छ । एक दिने शालग्राम महोत्सव नै संचालन गरेर नामाकरण गर्न थालिएको शालग्राम संरक्षण समितिका संयोजक तारा रेग्मी पाध्याले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त दिन प्रत्येक भक्तजनले १०८ वटा शिलामा भगवान नामोच्चरण लेख शिलाङ्कित गरी पुण्य कमाउन पनि आयोजकले अनुरोध गरेको छ । किनारमा रहेका साना, ठुला, चक्राङ्कित, निष्चक्राङ्कित सवै शिलाहरुको संरक्षणका लागि यो अभियान थालिएको प्रकृति र पर्यावरण तथा शालग्राम संरक्षण समितिका सचिब हरेमबहादुर खत्रीले जानकारी दिनुभयो । कालीगण्डकी नदि र शालग्राम शिलालाई विश्व सम्पदा सूचिमा समावेश गर्न, नदिको स्वच्छता र पवित्रता कायम गरी प्रकृति र पर्यावरणको समेत जगेर्ना गर्न समितिले अभियान थालेको खत्रीले बताउनुभयो । शिलाको नामाकरण पछि चोरि, निकासी वा उत्खनन गरेमा पनि खोजी गर्न सहज हुने समितिले जनाएको छ । पछिल्लो समय अवैध रुपमा भैरहेको नदि दोहनका कारण पनि शालग्राम शिलाको अस्तित्व संकटमा पर्दै गएको छ । बहुमुल्य र धार्मिक रुपमा महत्वपुणर् मानिने शालग्राम शिला ढुंगा, गिटी र चोकरको रुपमा प्रयोग भैरहेको उहाँको भनाई छ । हिन्दु धार्मिक मान्यताअनुसार शालिग्राम पाइने भएकाले कालीगण्डकी आफैंमा पवित्र नदी मानिन्छ । त्यसमा पनि कालीगण्डकी किनारमा ऋषिहरू पुलह, पुलत्व्स, कपिल र जडभरतले तपस्या गरी सिद्धी प्राप्त गरेको पौराणिक मान्यता भएकाले यहाँको शिला धार्मिक हिसावले महत्पूणर् हुने पण्डित लोकनाथ आचार्यको भनाई छ । कालीगण्डकी नदिको निरन्तर जलप्रवाहले पवित्र बनेका शिलाबाट मुर्ति बनाउन वा दैनिक घरमा पुजन गर्दा राम्रो हुने विश्वास गरिएको छ । शालिग्रामलाई हिन्दू धर्मावलम्बीले विष्णुको अवतारका रुपमा पुज्ने गर्दछन् । हरेक घरमा पाँचवटा शालिग्राम शिला राखेमा उक्त घर पवित्र मानिन्छ । हिन्दुहरुको पवित्र तिर्थस्थल दामोदरकुण्ड क्षेत्र बाट उत्पत्ति दामोदरकुण्डबाट आउने गण्डकी र मुक्तिनाथबाट उत्पत्ति भएको कागखोला कागबेनी भन्ने स्थानमा भेट भएपछि यसलाई कालीगण्डकी भनिएको हो ।