प्रमुख समाचार

आज साउनको अन्तिम सोमबार, पर्वतका शिवालयमा भक्तजनको भीड

By लोकतन्त्र अनलाईन

August 12, 2024

पर्वत-  आज साउन महिनाको अन्तिम सोमबार । पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ ।

सोमबारको पूजाआजा गर्न आएका दर्शनार्थी तथा बोलबम यात्रामा निस्केकाहरूका लागि बिहानदेखि नै मन्दिरमा सहज रूपमा दर्शनको व्यवस्था मिलाएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

दर्शनार्थीका लागि सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानीलगायत व्यवस्थापन मिलाइएको कोषले जनाएको छ ।

साउन महिना र सोमबार भगवान् शिवजीको प्रिय महिना र बार भएकाले पनि यस अवसरमा पशुपतिनाथ मन्दिरमा धेरै भक्तजनको घुइँचो लाग्ने गर्दछ ।

साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरमा दूध र जल चढाई पूजा गरेमा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ ।

साउनमा पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट बोलबम यात्रा गरी जल चढाउने भक्तजनको पनि घुइँचो लाग्ने गर्दछ ।

यसैगरी आज काठमाडौँ उपत्यकामा पशुपतिनाथसहित, गोकर्णेश्वर, सन्तानेश्वर, डोलेश्वर, किरातेश्वर, भालेश्वरसहित, काभ्रेपलाञ्चोकको साँगा, तनहुँको देवघाट, म्याग्दीको गलेश्वरलगायत शिवालयमा भक्तजनले बिहानैदेखि स्नान गरी महादेवको पूजा आराधन गरिरहेका छन् ।पर्वतका गूप्तेश्वर, अलपेश्वर, मोदीवेणी, बाटुलेचौर, डहरेदेउराली, सेतीवेणी, पञ्चासे लगायतका स्थानमा धुमधामसँग मेला लाग्ने गर्दछ ।

सोमबारको व्रत गर्ने भक्तजनले आज व्रत पूरा गरी उद्यापनका लागि गोदान र पूर्णपात्र गर्ने विधि रहेको छ ।