प्रमुख समाचार

तीन तहका सरकार मिलेर युवालाई उद्यम र रोजगारीमा जोड्नुपर्छः नगरप्रमुख तिवारी

By लोकतन्त्र अनलाईन

December 10, 2024

पर्वत – फलेवासका नगरप्रमुख गंगाधर तिवारीले राज्यका होनाहार युवाशक्ति बिदेश पलायत भइरहेको स्थीति चिन्ताजनक रहेको भन्दै अब तिनै तहका सरकार मिलेर युवालाई उद्यमर रोजगारीमा जोड्नुको विकल्प नभएको बताउनुभएको छ । फलेवास–११ पाङराङको श्रीकाङमा स्थानीय चण्डि श्रीकाङ युवा क्लवद्वारा आयोजित चौथो सुन्तला महोत्सवमा प्रमुख अतिथिको मन्तव्य राख्नुहुँदै नगरप्रमुख तिवारीले ग्रामिणक्षेत्रमा विकासले फड्को मार्दैगएको अवस्थामा गाउँबासीहरु भने अवसर, उद्यम र रोजगारीका लागि दिनानुदिन बिदेश पलायन हुनुले गम्भिर बनाएको बताउनुभयो । गाउँका बहुमुल्य जमिन बाँझिँदै जाने र बस्ती रित्तिँदै जाने अवस्थाले मुलुकको आर्थिक उन्नती नहुने बताउनुभयो । तीनै तहका सरकारले संविधानका साझा अधिकारसूचिको भरपुर उपयोग गर्दै सहकार्य गरेर युवालाई रोजगारी र उद्यममा जोड्न सकेमा मुलुकको अर्थतन्त्र छिटो माथि उकास्न सकिने बताउनुभयो । फलेवास नगरपालिकाको उर्वरभूमि रहेको पाङराङबाट करोडौं मुल्यको सुन्तला, तरकारीको बिउ निर्यात हुनेगरेको बताउँदै बिदेशिएका युवा गाउँ फर्किन सकेमा करोडको उत्पादनलाई अर्वौंमा बढाउन सकिने बताउनुभयो । मुलुकमा लोकतन्त्र प्राप्तीपछि गाउँमा बाटोघाटो, शिक्षा, स्वास्थ्य, सिंचाई, खानेपानी, सञ्चार लगायतको उल्लेख्य विकास भएको भए पनि त्यहि विकासका कारण गाउँबासीका आवश्यकता र चाहना बढ्दै जाँदा गाउँ रित्तिंदैगएको भन्दै उहाँले अव गाउँबाटै हरेक सम्भावनाको मुल फुटाउन युवाशक्ति पुनः गाउँ फर्किनुपर्ने र ति युवाहरुलाई तीनै तहका सरकारको पुर्ण साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले नगरको विकासका लागि आफु रातदिन नभनि खटेको उल्लेख गर्नुहुँदै हरेक वडा कार्यालयसम्म कालोपत्रे सडक पु¥याउन आफु लागिपरेको बताउनुभयो । आगामी वर्षभित्र पाङराङको वडा कार्यालयसम्म कालोपत्रे सडक पु¥याइछाड्ने प्रतिवद्धता उहाँले जनाउनुभयो । मध्यपहाडी लोकमार्गले छोएका पालिकाहरुमा मात्रै लागु हुने सुन्तलाजात फलफुलका बिस्तारको (पहाडी क्षेत्र काष्ठफल (नाफा) परियोजना) फलेवासमा ल्याउन सफल भएको भन्दै उहाँले उक्त परियोजनाबाट फलेवासबासीले भरपुर फाइदा लिनसक्ने बताउनुभयो । कार्यक्रममा उपप्रमुख शोभा कुमारी क्षेत्रीले फलेवासबासी किसानका हितमा सधैं नगरपालिकाका हरेक जनप्रतिनिधि लागिपरेको बताउनुहुँदै आगामी दिनमा फलेवासका किसानलाई व्यवसायिक बनाउनमै आफुहरु केन्द्रित हुने बताउनुभयो । युवाहरुको सक्रियतामा हुने हरेक कार्यक्रमलाई साथ दिन नगरपालिका हरदम तयार भएको उहाँले बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पौडेलले सुन्तला र तरकारी खेतीमा फड्को मारिरहेको पाङराङबाट अझै धेरै अपेक्षा गरेको बताउनुभयो । कार्यक्रममा सामाजिक विकास समितिका संयोजक एवं वडा नंवर ८ का अध्यक्ष मनबहादुर कुँवर, वडा नंवर ११ का अध्यक्ष रुद्रबहादुर पाठक, वडा नंवर १० का अध्यक्ष अमरबहादुर क्षेत्री, वडा नंवर ५ का अध्यक्ष नारायण लामिछाने, पाङराङका पुर्व वडाध्यक्ष एवं नेपाली कांग्रेसका जिल्ला सदस्य जितबहादुर सुनार (शेरबहादुर) नेकपा एमालेका उपसचिव बिन्दु अधिकारी जग्गादाता शितल कुँवर लगायतले बोल्नुभएको थियो । ६ दिनसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन समारोहको अध्यक्षता क्लवका अध्यक्ष दिनेश कुँवरले गर्नुभएको थियो । क्लवका सचिव यमन कुँवरले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन पत्रकार दिपेश वि. पोख्रेलले गर्नुभएको थियो ।