पर्वत : स्वर्गीय पतिको सम्झनामा एकजना महिलाले जग्गा दान गरेपछि जिल्लाको कुश्मा नगरपालिका–२ खुर्कोटमा शहरी स्वास्थ्य केन्द्र निर्माण हुने भएको छ।
स्वर्गीय कालिकाप्रसाद उपाध्यायको सम्झनामा उनकी धर्मपत्नी कुलकुमारी उपाध्यायनीले करिब ५ आना जग्गा उपलब्ध गराएपछि गोलेविसाउना शहरी स्वास्थ्य केन्द्र भवन निर्माणको लागि शुक्रवार शिलान्यास गरिएको छ।
आगामी वैशाख मसान्तसम्म बनिसक्ने चारकोठे भवन जनश्रमदानसहित कुल ३८ लाख रुपैयाँको लागतमा निर्माण हुनेछ। उक्त रकमको व्यवस्थापन वडा र कुश्मा नगरपालिकाले गर्ने भएका हुन्।
उक्त स्थानवरपरका बासिन्दा सामान्य विरामी हुँदा पनि एक घण्टाभन्दा बढी पैदल हिँडेर ढाणमा रहेको स्वास्थ्य चौकीमा सेवा लिन जानुपर्ने बाध्यता थियो। यो स्वास्थ्य केन्द्र बनेपछि भने आसपासका क्षेत्रका बासिन्दा २० मिनेट नै स्वास्थ्य सेवाको पहुँचमा पुग्ने छन्।
भवन शिलान्यास गर्दै कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले स्वास्थ्य सेवा पाउनु नागरिकको मौलिक अधिकार भएको बताए।
सबैको पहुँचमा हुने गरी स्वास्थ्य संस्था बढ्दा स्थानीयमा पनि स्वास्थ्य सेवाको पहुँच पुग्ने उनले बताए। स्वास्थ्य सेवाका लागि घण्टौँ हिँडेर टाढा जानुपर्ने ठाउँका बासिन्दालाई यो स्वास्थ्य संस्थाले धेरै सुविधा दिने उनको भनाइ छ।