प्रमुख समाचार

पर्वतको पैयूँमा शैक्षिक गुणस्तरमा सुधार गर्न विद्यार्थीसंग अध्यक्ष उपाध्यक्ष कार्यक्रम सुरु

By लोकतन्त्र अनलाईन

May 09, 2024

 पर्वत – पर्वतको पैयूँ गाउँपालिकाले अध्यक्ष उपाध्यक्षसँग विद्यार्थी कार्यक्रमको सुरु गरेको छ । स्थानीय सरकार र जनप्रतिनिधिसँग विद्यार्थीको धारणा, अपेक्षा, समस्या, सेवा प्रवाहबाट विद्यार्थी सन्तुष्टि भए नभएको पहिचान गर्न गाउँपालिकाले अध्यक्ष उपाध्यक्षसँग विद्यार्थी कार्यक्रम सुरु गरेको हो ।

गाउँपालिकाले पहिलो पटक सञ्चालनमा ल्याएको अध्यक्ष उपाध्यक्षसँग विद्यार्थी कार्यक्रमको मंगलबार पैयूँ गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले उद्घाटन गर्नुभयो । अध्यक्ष ठकुरीले यस कार्यक्रमले विद्यार्थीको मनोबल उच्च हुने, शैक्षिक गुणस्तर वृद्धि हुने, विद्यार्थीले उठाएका समस्याको छिटोभन्दा छिटो समधान गर्न सकिने बताउनुभयो । उहाँले विद्यालयको सुधारका लागि पर्याप्त मात्रामा भौतिक पूर्वाधार निर्माण भइसकेकाले आगामी दिनमा विद्यार्थीको मागअनुसार नै शैक्षिक गतिविधि अगाडि बढाउने गरी यो कार्यक्रम ल्याइएको जानकारी दिनुभयो ।

विद्यार्थीको वास्तविक समस्याको पहिचान गरी गाउँपालिकाले समाधान गर्ने गरी उक्त कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका उपाध्यक्ष याम कुमारी रानाले जानकारी दिनुभयो । ‘हामी गाउँपालिकाका सबै सामुदायिक विद्यालयका विद्यार्थीहरुको धारणा बुझ्छौं, विद्यार्थीका समस्या सुन्छौं, वास्तविक समस्या पहिचान गर्छौं,’ उपाध्यक्ष रानाले भन्नुभयो’ ‘आर्थिक अवस्था कमजोर भएर विद्यालयमा पढ्न बञ्चित भएका विद्यार्थीको पहिचान गरेर शैक्षिक सामग्री वितरण गर्छौं ।’

कार्यक्रममा विद्यार्थीहरुले शैक्षिक गुणस्तरमा सुधार ल्याउन पालिकाले गरेका काम, विद्यालयको शैक्षिक अवस्था र त्यहाँको समस्या, विद्यालयको भौत्तिक, शैक्षिक अवस्था, नीतिगत पक्ष, लगायतको विषमया प्रश्न राखेका थिए ।

विद्यार्थीहरुले सोधेको प्रश्नको जवाफ गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरी, उपाध्यक्ष याम कुमारी राना, प्रमुख प्रशासकिय अधिकृत राजिव रिमाल र शिक्षा शाखा प्रमुख गोविन्दराज सुवेदीले दिनु भएको थियो ।