प्रमुख समाचार

पूर्व शिक्षकको सम्झनामा विद्यालयमा एक लाखको अक्षयकोष स्थापना

By लोकतन्त्र अनलाईन

April 09, 2024

पर्वत : जिल्लाको कुश्मा नगरपालिका–१० पिपलटारी स्थित बितलबका स्वर्गीय रामनिधि पौडेलको सम्झनामा स्थानीय विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ। स्थानीय पूर्णेश्वर माध्यमिक विद्यालयका पूर्व शिक्षक रहेका पौडेल दिवङ्गत भएको १३ औँ दिनको तिथि पारेर उनको परिवारले एक लाख एक हजार एक सय ११ रुपैयाँ मूल धन रहेको अक्षयकोषको स्थापना गरेको विद्यालयका शिक्षक सन्तोष पौडेलले बताए। काजक्रिया गर्दा लाग्ने खर्चमा कटौती गरेर वडाध्यक्ष रामचन्द्र सुवेदी र विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद अर्याललाई स्वर्गीय पौडेलको धर्मपत्नी सावित्री पौडेल तथा छोराहरू अमृत पौडेल र भोलानाथ पौडेलले नगद रकम प्रदान गरेका हुन्। अक्षयकोषबाट प्राप्त हुने रकमले आधारभूत तहको अन्त्यमा लिइने परीक्षा विद्यालयबाट गणित विषयमा उत्कृष्ट अङ्क प्राप्त गर्ने एक जना विद्यार्थीलाई प्रत्येक वर्ष अनिवार्य र अन्य विद्यार्थीलाई विद्यालयको सिफारिसमा परिवारले छनोट गरी छात्रवृत्ति रकम प्रदान गर्ने गरी स्थापना गरिएको स्वर्गीय पौडेलका छोरा अमृतले बताए।