पर्वत २३ कात्तिक ः नेपालका लागि चीनका राजदूत चेन सोङले नेपालको विकास र समृद्धिका लागि आवश्यक सहयोग गर्न चीन सरकार तयार रहेको बताएका छन् । पर्वतको फलेवास नगरपालिका स्थित भवानी विद्यापीठ माध्यमिक विद्यालयमा आयोजित अध्ययन अवलोकन भ्रमणको अवसरमा बोल्दै राजदुत सोङले नेपाल र चीनबीचको सम्वन्ध सुमधुर रहेको बताए । मित्रराष्टको विकास र समृद्धिका लागि चिनिया सरकार हर समय आवश्यक सहयोग गर्न तयार रहेको उनको भनाई छ । हिमाल र नदिले जोडिएका नेपाल र चीनबीचको कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै आफ्नो मूल हितका विषयमा एक अर्कालाई निरन्तर सहयोग गर्दै आएको बताउँदै सोङले नेपालको सडक, विद्युत, शिक्षा क्षेत्रको सुधारमा सहकार्य गरिने बताए । उनले नेपाल एक स्वतन्त्र र विकासशिल राष्ट्र बनोस भन्ने चीनको इच्छा रहेको समेत बताए । राजदुत सोङले कोरला नाका संचालनका लागि चीन सरकार तयार रहेको बताउनुभयो । कोरला नाकामा नेपालतर्फ पनि पुर्वाधार निर्माणमा चीन सरकारले सहयोग गर्दै आएको बताउँदै नाका संचालन पछि दुईदेशको सम्वन्ध अझै बढ्दै जाने पनि बताए । पर्यटकीय स्थल पोखरामा पटक पटक आएको भएपनि नजिकै रहेका शुन्दर ठाउँहरुमा पनि आउन पाउँदा खुसी लागेको उनको भनाई थियो ।
जिल्लाकै नमुना विद्यालयको रुपमा रहेको भवानी विद्यापीठ माध्यमिक विद्यालयको भौतिक पुर्वाधार विकासका लागि पनि चीन सरकारले सहयोग गर्ने भएको छ । विद्यालयले भौतिक पुर्वाधार निर्माणका लागि रु. ५० करोड रुपैयाको डिपिआर तयार गरी नेपाल सरकार मार्फत दुतावासमा पेश गरेको छ । सोही सहयोगका लागि विद्यालयको शैक्षिक, भौतीक, व्यवस्थापकिय पक्षका बारेमा अध्ययन अवलोकन गर्नका लागि राजदुत सोङको आवागमन भएको विद्यालयमा प्रद्यानाध्यापमक अर्जुन रेग्मीले जानकारी दिए । सो अवसरमा राजदुत सोङलाई पञ्चेवाजा, भजन, सोरठी र नृत्य सहित यस क्षेत्रका कला संस्कृतिद्धारा स्वागत गरिएको थियो । कार्यक्रममा बिशेष अदालत काठमाण्डौका अध्यक्ष न्यायधीस टेकनारायण कुँवर, संविधानसभा सदस्य विकास लम्साल लगायतले सम्वोधन गरेका थिए । चिनिया राजदुत छन सोङलाई फलेवास नगरपालिकामा समेत विशेष कार्यक्रमको आयोजना गरी स्वागत तथा सम्मान गरिएको थियो । सो अवसरमा फलेवासको विकासका लागि विभिन्न योजनाहरु समावेश गरिएको मागपत्र समेत पेश गरिएको छ । फलेवासका नगरप्रमुख गंगाधर तिवारीले योजना र आवश्यक बजेट सहित मागपत्र पेश गरेका थिए ।
नगरपालिकामा आयोजित कार्यक्रममा नगरप्रमुख गंगाधर तिवारी, उपप्रमुख शोभाकुमारी क्षेत्रीले पनि बोल्नुभएको थियो । कार्यक्रमको संचालन प्रमुख प्रशासकीय अधिकृत विष्णु पौडेलले गर्नुभएको थियो ।