पर्वत- पर्वतको महाशिला गाउँपालिका वडा नं ५ आहालेमा सर्वाधिक पुरस्कार राशीको वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । स्थानिय समावेशी युवा क्लबको आयोजनामा विजयादशमी तथा दीपावलीको अवसरमा खेलकुदको बिकास,कला,संस्कृति र पर्यटन प्रबद्र्धनका लागि आयोजित दशै—तिहार मेलामा वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता एवं विविध कार्यक्रम आगामी असोज २८ देखि कार्तिक ३ गतेसम्म सञ्चालन हुने भएको हो । भलिबल प्रतियोगिता वडा स्तरिय रहने तर दुई खेलाडी देशका जुनसुकै ठाउँबाट पनि समावेश गर्न सकिने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुने समूहले नगद १ लाख, द्धितिय हुने समुहले ५० हजार र तृतिय हुने समुहले २५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यस्तै प्रतियोगितामा, उत्कृष्ट खेलाडी,स्पाइकर,ब्लकर,डिफेन्डर,सेटर र उदयमान खेलाडीलाई सम्मान गरिने आयोजकले बताएको छ । प्रतियोगितामा सहभागि हुन चाहने क्लबले असोज २२ देखि २८ गते सम्म टिम दर्ता गर्न सक्ने खेल संयोजक प्रेम सुनारले बताए । साथै मेलामा एकल नृत्य, महिलाहरुका लागि टपरी बुन्ने प्रतियोगिता आयोजना गरिएको छ भने मेलामा हरेक दिन स्थानिय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती हेर्न पाइने छ, संगै कृषि प्रदर्शनी, स्थानिय समुदायको कला संस्कृति, भजन प्रस्तुती लगायतका कार्यक्रम रहने क्लबका अध्यक्ष सागर वि.कले बताए ।