प्रमुख समाचार

आज बाटुलेचौरमा बृहद तीज मेला, उद्योग तथा पर्यटन मन्त्री बस्यालले उद्घाटन गर्ने

By लोकतन्त्र अनलाईन

September 06, 2024

पर्वत- पर्वतको कुश्मा नगरपालिका वडा नं. १२ ठुलीपोखरीमा रहेको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल बाटुलेचौरमा आज ऐतिहासिक तीज मेला हुने भएको छ । महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा कालीका भगवती मन्दिर क्षेत्र विकास संस्थाको आयोजनामा दोस्रो तीज मेला आयोजना गरिएको हो । आज हरितालिका तीजको दिन हुने मेलामा खुल्ला तीज गित प्रतियोगिता, गण्डकी प्रदेश स्तरीय छेलो हान्ने प्रतियोगिता विद्यालय स्तरीय नृत्य प्रतियोगिता र एकल नृत्य प्रतियोगिता आयोजना गरिएको छ । मेलाको गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ । मेला विहान ११ बजेपछि शुरु हुने भएको छ । त्यसैगरी मेलामा राष्ट्रिय तथा स्थानीय कालाकारहरुको बजोड प्रस्तुती समेत रहने तीज मेलाका मुल संयोजक तथा कालीका भगवती मन्दिर क्षेत्र विकास संस्थाका अध्यक्ष गणेश पौडेलले जानकारी दिनुभयो । तीज गित प्रतियोगितामा प्रथम हुनेलाई नगद रु १० हजार र प्रमाणपत्र, द्धितियलाई रु. ८ हजार र माणपत्र तथा तृतियलाई रु. ५ हजार नगद र प्रमाणपत्र वितरण गरिने भएको छ । त्यसैगरी विद्यालय स्तरीय नृत्य प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने समुहलाई क्रमशः रु. १०, रु. ८ र रु ५ हजार नगद प्रमाणपत्र प्रदान गरिने भएको छ । यस्तै छेलो हान्ने प्रतियोगिताको प्रथम पुरस्कार रु. १० द्धितिय रु. ७ हजार पाँच सय र तृतिय पुरस्कार रु. ५ हजार रहेको छ ।

ऐतिहासिक महत्व बोकेको बाटुलेचौरमा सदिऔँदेखि हरितालिका तीज र चैत्राष्टमीमा मेला लाग्दै आएको थियो । तर तत्कालीन शशस्त्र द्धन्द्ध लगायतका विभिन्न कारणले मेला स्थगन हुँदै आएकोमा गत वर्षदेखि पुनः तीज मेला आयोजना गर्न थालिएको हो । प्रतियोगितामा भाग लिने समुहले समुहले अघिल्लै दिन नाम दर्ता गराउनुपर्ने मुल संयोजक पौडेलले जानकारी दिनुभयो । बागलुङ कालीका मन्दिर जस्तै प्रसिद्धि कमाएको बाटुलेचौरमा टाढाटाढावाट दर्शनार्थीहरु पुजापाठका लागि आउने गर्दछन् । यहाँ विशेषगरी बडादशै, चैत्राष्टमी, बालाचतुर्दशी, शिवरात्री लगायतका चाडपर्वमा विशेष मेला लाग्ने गर्दछ । यहाँ मेला भर्नका लागि पर्वतको कुश्मा नगरपालिका, फलेवास नगरपालिका, मोदी गाउँपालिका र छिमेकी जिल्ला स्याङ्जाका दर्शनार्थी समेत आउने गर्दछन् । मेला संचालनका लागि कुश्मा नगरपालिका वडा नं. १२ ठुलीपोखरी वडा कार्यालयले आर्थिक सहयोग गरेको छ । बाटुलेचौरको विकासका लागि पछिल्लो समय थुप्रै पर्यटकी पुर्वाधार समेत निर्माण भएका छन् । संघ, प्रदेश र स्थानीय तहको सहयोगमा झण्डै डेढ करोडका संरचना समेत निर्माण भएका छन् । एक सय ८ वटा भन्दा बढि बरपिपलका चौतारी, सत्तल, जेष्ठ नागरिक दिवा केन्द्र, भगवान शिवको मुर्ति, प्रवेशद्धारहरु, पदमार्ग लगायतका संरचना निर्माण गरी आकर्षक बनाईको छ । पछिल्लो समय दर्शनार्थी मात्र नभई आन्तरिक तथा बाह्य पर्यटक समेत घुम्न, विभिन्न म्युजिक भिडियो र बृत्तचित्रहरुको छायाकन गर्न समेत आउने गरेका छन् । यहाँ आउने पर्यटक र भक्तजनको सुविधाका लागि घरवास, होटल सुविधा समेत विस्तार भएका छन् । बाटुलेचौर पछिल्लो समय धार्मिक एवम् पर्यटकीय हिसावले गन्तब्यको रुपमा विकास हुँदै गएको स्थानीय युगनाथ पौडेलले बताउनुभयो ।

राजा दशरथले आफ्ना भाञ्जा श्रवण कुमारको हत्या गरेको पाप मोचन गर्न बाटुलेचौरमा आएर अश्वमेध यज्ञ गरेको र सोही समयदेखि सो स्थानमा पुजाआजा तथा मन्दिरहरुको निर्माण गरिएको स्थानीयवासीहरुको भनाई छ । भृगु ऋषिको तपस्या स्थल समेत मानिने सो ठाउँमा रहेका विभिन्न सम्पदाहरुको समेत संरक्षण नहुँदा चोरी भएका थिए । संरक्षण अभावमा हाल रहेको मन्दिरका विभिन्न पुरातात्विक समानहरु समेत विभिन्न समयमा हराईसकेका छन् । स्थानीयवासीहरुका अनुसार मन्दिर रहेको मुख्य ठाउँमा करिब २ सय वर्ष पुराना संरचना भएको भएपनि विक्रम संवत १९७० सालमा स्थानीय पंडित कृतिनाथ उपाध्यायले निर्माण गरेपछि नियमित पुजा हुँदै आएको अध्यक्ष पौडेलले बताउनुभयो ।