प्रमुख समाचार

सोमबार भगवान शिवको विशेष दिन, पर्वतका शिवालयहरुमा भक्तजनको घुँईचो

By लोकतन्त्र अनलाईन

August 05, 2024

पर्वत-  आज २०८१ साल साउन २१ गते सोमबार तदनुसार सन् २०२४ अगष्ट ५ तारिख। साउन शुल्क पक्षको प्रतिपदा तिथि। गुँलापर्व आरम्भ। आज साउन महिनाको तेस्रो सोमबार परेकाले शिवको महत्त्व र महिमा अझ बढी छ ।

हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो। यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ।

शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ अनि सूर्य अस्ताएपछि सकिन्छ। खाना बेलुकाको आरती सकिएपछि खाइन्छ। दिनमा शिव र पार्वतीको पूजा तथा आराधना गरिन्छ। तर कुनै पनि पूजाको अगाडि गणेशको पूजा भने अनिवार्य नै छ।

सोमबारको उपवासले मानिसको इच्छा अनि आकंक्षा पूरा गर्ने विश्वास रहिआएको छ। त्यस्तै ज्ञान प्राप्ति हुन्छ। अविवाहित स्त्रीले असल पति पाउँ भनि सोमबार व्रत बस्ने चलन अझै पनि छ।

यसैबीच आज विहानैदेखि पवर्तको गुप्तेश्वर, शिवालय मन्दिर, अलपेश्वर, महाशिला, मोदीवेणी, सेतीवेणी, बाटुलेचौर लगायतका स्थानमा रहेका शिवमन्दिरहरुमा भक्तजनहरुको घुँईचो लागेको छ । आजै पर्वतको कावरिया संघले बोलबम यात्रा समेत आयोजना गरेको छ ।