दिवाकर पाैडेल
जून ५ तारिख सन् २०२४ तदनुसार जेठ २३ गते संसारभर विभिन्न कार्यक्रमहरू आयोजना गरेर विश्व वातावरण दिवस मनाइँदैछ। संयुक्त राष्ट्रसंघको सक्रियता एवं पहलमा स्वीडेनको स्टकहोम शहरमा सन् १९७२ को जून ५ देखि १६ सम्म भएको मानवीय वातावरण विषयक सम्मेलनको निर्णयानुसार संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम स्थापना गरियो। अर्को वर्ष सन् १९७३ देखि जून ५ तारिखको दिनलाई हरेक वर्ष जनचेतना फैलाई विश्वको वातावरणलाई संरक्षण गर्ने र थप बिग्रेर जान नदिने मूलभूत उद्देश्यका साथ विश्व वातावरण दिवस मनाउन थालिएको हो।
अहिले हामी ५२औं विश्व वातावरण दिवस मनाउँदैछौं। यसरी हरेक वर्षको जून ५ मा विश्वका सम्पूर्ण देशहरूमा संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (यूनेप)ले निर्धारण गरेको मूल नाराका साथ विभिन्न चेतनामूलक कार्यक्रमहरू आयोजना गरी विश्व वातावरण दिवस मनाउने गरिन्छ। वातावरण जोगाउन हामी मानव जातिले जे–जति प्रयास गरे पनि वर्तमान समयमा विश्वको वातावरण दिनानुदिन बिग्रँदो अवस्थामा गइरहेको छ र मानव तथा जीवजन्तुका लागि थप चुनौतीपूर्ण एवं कष्टकर बन्दैछ।
विश्वको बिग्रंदै गएको वातावरणका विविध पक्ष तथा समस्या एवं समाधानका लागि सदस्य राष्ट्रहरू लगायत आम विश्व मानव समुदायले पूरा गर्नुपर्ने जिम्मेवारी झल्किने आशयका मूल नारा यूनेपले तय गर्दछ। संयुक्त राष्ट्रसंघ मार्फत विश्वका सबै देशहरूमा सम्प्रेषण गरी सोही मूल नाराको आशय झल्किने राष्ट्रिय नारा तय गरी हरेक देशले विश्व वातावरण दिवस विभिन्न कार्यक्रमका साथ मनाउने चलन छ।
वास्तवमा मानव तथा जीवजन्तुका लागि जीवनको आधारका रूपमा रहेका प्राकृतिक स्रोतहरू- जमिन, जंगल र जलको तीव्र विनाश, जथाभावी एवं अविवेकी प्रयोग, वातावरणीय सोच विना सञ्चालन गरिने विकास निर्माणका क्रियाकलाप, बढ्दो औद्योगिकीकरण, युद्ध तथा लडाईं, आणविक भट्टी सञ्चालन तथा मानवीय स्वार्थका लागि प्रयोग हुने अति सुविधायुक्त साधनहरूको बढ्दो प्रयोगले विश्वको वातावरणीय अवस्था ह्रासोन्मुख हुँदै गएको छ।
वातावरणमा आएको ह्रास र प्राकृतिक स्रोतहरूको जथाभावी प्रयोगले विश्वमा बाढी, पहिरो, अतिवृष्टि, अनावृष्टि, खडेरी, चक्रपात, सुनामी आदि जलजन्य प्रकोप तथा विपत्तिहरूले ठूलो जनधनको क्षति भइरहेको छ। वन जंगलको तीव्र विनाश तथा वातावरणीय पक्षलाई ध्यान नदिई जथाभावी सञ्चालन गरिने विकासका क्रियाकलापहरूका कारण लाखौं हेक्टर कृषियोग्य भूमि मरुभूमिमा परिणत भइरहेको छ। विश्वको वातावरण मानव, जीवजन्तु एवं वनस्पतिका लागि थप कष्टकर बन्न थालेको छ।
नासाको सन् २०२३ को अध्ययन अनुसार पृथ्वीको तापमान विगत (सन् १८५०-१९००) र (सन् १९००-२०२३) वर्षको तुलना गर्दा झण्डै २.४५ डिग्री फरेनहाइट (१.३४ डिग्री सेल्सियस) ले वृद्धि भएको छ। यसबाट ध्रुवीय एवं हिमालय क्षेत्रको हिउँ पग्लँदा समुद्रको सतह बढ्न गई सामुद्रिक एवं तटीय क्षेत्रका देशहरूको भूभाग डुब्दै जाने खतरा बढेको छ। वनस्पति, जीवजन्तुहरूको वासस्थान परिवर्तन हुनुका साथै सयौं जलचर तथा थलचर जीव र वानस्पतिक प्रजातिहरू लोप भइसकेको अवस्था छ।
यिनै वातावरणीय समस्याहरूलाई विश्व जनमानससमक्ष ल्याउने, प्रचारप्रसार गर्ने र वातावरण संरक्षणका लागि आ-आफ्नो क्षेत्रबाट पहल गर्ने पवित्र उद्देश्य लिई संयुक्त राष्ट्रसंघको पहलमा थालिएको वातावरण दिवस मनाउने अभियानलाई समाजका हरेक वर्ग र समूहले सहयोग पुर्याउन जरूरी छ। यस वर्षको विश्व वातावरण दिवसको नारा ‘भूमि पुनर्स्थापना, मरुभूमीकरण र खडेरी उत्थानशील’ भनेर तोकिएको छ। उक्त नारालाई नेपालको सन्दर्भमा वन तथा वातावरण मन्त्रालयले ‘हाम्रो भूमि, हाम्रो भविष्य’ भन्ने तय गरेको छ। यस नाराको मूल मर्म भनेको विश्व र यहाँ बस्ने करिब ८ अर्ब जनसंख्याले यही गतिमा जमिन, वनजंगल, जीवजन्तु र आफैं बसिरहेको वातावरणप्रति बेवास्ता गर्दै अगाडि बढ्ने हो भने यो पृथ्वी अर्थात् विश्व भावी पिंढीका लागि बस्नलायक बन्ने छैन।
एकातर्फ, विश्वमा बढ्दो वन विनाश, बढ्दो जनसंख्याको चाप, वातावरणीय पक्षलाई बेवास्ता गर्दै संरक्षणका योजना विना सञ्चालन गरिने विकास निर्माणका कामहरू र चरम भौतिक विकास र विलासी जीवनशैलीका कारणबाट वनजंगलको क्षेत्र खुम्चिंदै गएको छ भने बाढी, पहिरो, भूक्षय बढेको छ।
त्यस्तै, हाम्रो वरपरको वातावरण तीव्र गतिमा प्रदूषित र उकुसमुकुसयुक्त बन्दैछ। वायु प्रदूषण, ध्वनि प्रदूषण, जमिन प्रदूषण, जल प्रदूषण तीव्र गतिमा बढिरहेको छ। अर्कोतर्फ, विश्वको तापमान वृद्धिले गर्दा हिमालय तथा ध्रुवीय क्षेत्रको हिउँ पग्लिने, हिमनदी र हिमतालहरू फुट्ने सम्भावनाहरू बढ्न थालेको छ। यसबाट माथिल्लो हिमाली क्षेत्र कालो पहाडको रूपमा परिणत हुने जोखिम बढेको छ। पहिरो र भूक्षय बढेका छन्। हिमाली क्षेत्रको जैविक विविधता नाश हुने तथा थुप्रै वातावरणीय समस्या बढ्ने र तल्लो तटीय क्षेत्र बाढी र डुवानको उच्च जोखिममा पर्ने अवस्था देखिएको छ।
यो अवस्था निरन्तर जारी रहेमा विश्वमा प्राकृतिक विपद्का दु:खद् घटनाहरूबाट हजारौं लाखौंका संख्यामा मानवीय क्षति र भौतिक पूर्वाधारहरूको विनाश हुने अवस्था प्रबल बनेको छ। विनाशजन्य मानवीय क्रियाकलापहरूका कारण प्राकृतिक विपत्तिहरूको अधिक रूपमा वृद्धि भइरहेको छ। यस्ता प्राकृतिक विपद्हरुको न्यूनीकरण गर्ने जिम्मेवारी तत्–तत् क्षेत्रमा बसोबास गर्ने मानव समुदाय र सम्बद्ध निकायहरूले लिनुपर्दछ।
प्रकृतिका अनुपम उपहारहरू जमिन, जंगल र जलको उपस्थिति विना मानव एवं प्राणी जगतको जीवनको कल्पना गर्न सकिंदैन। रूख बिरुवाहरूले फालेको अक्सिजन प्राणवायुको रूपमा लिई हामी मानव लगायत जीवजन्तुको जीवनको ढुकढुकी चलिरहेको छ। रूख बिरुवाहरू अर्थात् वन–जंगलले कार्वन सञ्चित गरेर वातावरणको तापमान वृद्धिलाई घटाउँछ, वातावरण स्वच्छ, सफा र हराभरा बनाइराख्छ। यसरी वन–जंगल प्राणी जगतकै जीवनको आधार हो।
यो हामीलाई थाहा छ तथापि एक्काइसौं शताब्दीका हामी मानवहरू वन–जंगलहरू जानी नजानी आफ्नो निहित स्वार्थका लागि विनाश गर्दै आफ्नै जीवनलाई चुनौती दिइरहेका छौं। भनौं कालीदास प्रवृत्ति देखाइरहेका मात्र छैनौं, अन्य प्राणी जगतको जीवन माथि समेत हामी मानवले नै धावा बोलिरहेका छौं।
प्राकृतिक स्रोतहरूको दोहन र अविवेकपूर्ण उपयोगलाई रोक्न अब ढिला भइसकेको छ। तसर्थ यसका लागि लाखौंको संख्यामा रहेका वन्यजन्तु, चराचुरुङ्गी लगायत जीवजन्तुहरूको आश्रयस्थलको रूपमा रहेको वनजंगलको संरक्षण, विकास र क्षेत्र विस्तार गर्दै लैजान जरूरी छ। वनजंगलको क्षेत्र वृद्धिसँगै हाम्रो जमिनको संरक्षणमा टेवा पुग्दछ साथै भूक्षय, बाढी, पहिरो, वन्यजन्तु तथा जैविक विविधताको अवस्थामा सुधार आउँदछ।
वनजंगलको वृद्धिले वरपरको वातावरण सफा, सुन्दर र हराभरा बन्दछ। हरियाली बढेसँगै विश्वको बढ्दो तापमान वृद्धिको क्रमलाई घटाई सन्तुलित बनाउँदछ। विश्व तापमान वृद्धिबाट जलवायु परिवर्तन हुने क्रम बढ्न थालेपछि ध्रुवीय र हिमालय क्षेत्रहरूको हिउँ पग्लेर ती क्षेत्रहरू कुरूप काला पहाड बन्नबाट जोगाउन र वातावरण स्वच्छ, सफा र हराभरा बनाइराख्न विश्वको जुनसुकै देशको भूमिमा बसे पनि संरक्षणप्रति हामी सबैको अथक् मिहिनेत र प्रयास जरूरी छ।
हामी सबैलाई थाहै छ– जमिन, जल र जंगल प्रकृतिप्रदत्त उपहारहरू हुन् र यिनलाई जोगाइराख्ने परम कर्तव्य पनि हामी मानव जातिकै हो। जमिन अर्थात् भूमिमा नै बोटबिरुवा हुर्किने, हामीले खाने अन्नबाली माटोमा नै उब्जन्छ। हाम्रो जीवन प्रणाली भूमि वा माटोसँग जोडिएको छ, पारिस्थितिक प्रणाली यससँगै अखण्डित रूपमा रहेको छ। तसर्थ माटो वा भूमि विना हामीले जीवनको कल्पना किमार्थ गर्न सकिंदैन।
५२औं विश्व वातावरण दिवसको सन्दर्भमा हाम्रो देश नेपालमा यस दिवसको महत्व र औचित्य अहम् रूपमा रहेको छ। विकसित देशहरूमा भएको औद्योगिकीकरण, वनजंगल लगायत प्राकृतिक स्रोतहरूको अधिक दोहन, अत्याधुनिक जीवनशैली परमाणु हतियारको होडबाजी, विभिन्न शक्ति राष्ट्रहरू बीचको खिचातानीले सृजित युद्ध आदिबाट वातावरणमा आएको ह्रास, प्रदूषण र तापमानमा भएको वृद्धिले हाम्रो देश नेपाल पनि अछुतो रहन सकेको छैन।
हामीलाई नखाएको विष लागेको छ, जसले गर्दा हाम्रो हिमालय क्षेत्रमा हिउँ पग्लिएर त्यहाँ रहेका हिमताल, हिमनदीहरूको भविष्य जोखिममा परेको छ यसले गर्दा हिमच्छादित हाम्रा सेता हिमालहरू काला पहाडको रूपमा परिवर्तन हुँदैछन् सदाबहार हिउँले ढाकिने ती क्षेत्रहरूमा वर्षात्को समयमा हिउँको साटो पानी पर्न थालेको र त्यसबाट भूक्षय, पहिरोको प्रकोप बढ्न थालेको छ भने तल्लो तटीय क्षेत्रमा बाढीको प्रकोप र गेग्रान थुप्रिने समस्या विकराल बन्दै गएको छ।
यसबाट तटीय क्षेत्रका गाउँबस्ती र बजारहरू हुँदै बग्ने खोला र नदीको सतह वृद्धि हुँदा ती गाउँबस्ती र बजारहरू बाढीको डुवान, खोलाको कटान र पुरिने जोखिम बढेको छ। उदाहरणको लागि ३-४ वर्षयता मनाङ र मुस्ताङका जलजन्य विपद्का घटनाहरूलाई लिन सकिन्छ।
विश्व वातावरण दिवसको यस परिप्रेक्ष्यमा प्राकृतिक स्रोतको रूपमा नेपालमा विद्यमान रहेका जमिन, जल, जंगल लगायत स्रोतहरूको संरक्षण र समुचित व्यवस्थापन गर्नु हामी सबै नेपालीको परम कर्तव्य हो भन्ने सन्देश दिने गरी यस वर्षको मूल नारालाई यहाँको सन्दर्भमा ‘हाम्रो भूमि: हाम्रो भविष्य’ भन्ने तय गरिएको छ।
वास्तवमा विश्वको सानो मुलुक नेपाल जैविक विविधताले अत्यन्त धनी छ। नेपाल सरकारले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालको वनजंगलले ढाकेको क्षेत्र ६६.१ लाख हेक्टर (४४.७४ प्रतिशत) रहेको छ जहाँ विभिन्न दुर्लभ वन्यजन्तु, चराचुरुङ्गी, सरीसृप र माछाहरू तथा बहुमूल्य वनस्पति र जडीबुटीहरू पाइन्छन्। विश्वको करीब ०.१ प्रतिशत क्षेत्रफल ओगटेको यस सानो भूखण्डले ३.२ प्रतिशत वनस्पति र १.१ प्रतिशत वन्यजन्तुलाई आश्रय दिएको छ।
महत्वपूर्ण र लोपोन्मुख वन्यजन्तु तथा वनस्पतिको संरक्षण र व्यवस्थापनका लागि देशको विभिन्न भौगोलिक क्षेत्र र पारिस्थितिकीय प्रणालीको प्रतिनिधित्व गर्ने गरी राष्ट्रिय निकुञ्ज, आरक्ष, संरक्षण क्षेत्र र मध्यवर्ती क्षेत्रहरू स्थापना गरिएको छ जसले देशको करीब २३.३१ प्रतिशत क्षेत्रफल ओगटेको छ।
त्यसैगरी, २४ हजारभन्दा बढी सामुदायिक वनहरू, हजारौं राष्ट्रिय वन, साझेदारी वन तथा कबुलियती वन, धार्मिक वन र निजी वनहरूको संरक्षण र व्यवस्थापनबाट वन्यजन्तु, वनस्पति र जलाधार क्षेत्रको संरक्षण हुनुका साथै संरक्षणका विभिन्न प्रयास र पहलबाट लाखौं हेक्टर भूमिको संरक्षण भएको छ।
त्यति मात्र होइन वनजंगलको संरक्षणबाट कृषिमा निर्भर नेपालीको कृषि प्रणाली तथा व्यावसायिक पशुपालनमा दिगो रूपमा टेवा पुगिरहेको छ। वातावरणलाई स्वच्छ, सफा र हराभरा बनाउन महत्वपूर्ण भूमिका खेलेको छ।
यस प्रकार संरक्षित हजारौं जलाधार क्षेत्रहरूमा अवस्थित गाउँबस्ती, बजार र खेतीयोग्य जमिनलाई बाढी, पहिरोबाट जोगाउन सहयोग गरेको छ भने तिनै जलाधार क्षेत्रका वनजंगलबाट प्रस्फुटन हुने पानीका मूलहरू करोडौं जनताका लागि शुद्ध पिउनेपानीका अजस्र स्रोतहरू बनेका छन्। यसप्रकार जमिन, जल र जंगलको महत्वपूर्ण भूमिकालाई नेपालको सन्दर्भमा भन्ने हो भने ‘माटो, वनस्पति र पानी, यसैमा अडिएको छ हामी नेपालीको जिन्दगानी’ भन्ने यस पङ्तिकारको अनुभवजन्य भोगाइ हो अनि हाम्रो साँचो यथार्थ पनि।
यही साँचो यथार्थलाई व्यवहारमा उतारी सतत: रूपमा जोगाइराख्न हामी सबै नेपाली आ-आफ्नो क्षेत्रबाट लाग्न प्रेरणा मिलोस् भन्ने अभिप्रायले माथि उल्लेख भएअनुसार यस वर्षको विश्व वातावरण दिवसको नारा नेपालको सन्दर्भमा तय गरिएको हो जस्तो लाग्छ।
विकासको नाउँमा अव्यवस्थित ढंगले खनिएका सडकहरूको कारण बाढी, पहिरो र भूक्षय भई हाम्रो बहुमूल्य उर्वरभूमि क्षतिग्रस्त बनेको छ। विकासको मिठो फल चाख्न आतुर ग्रामीण जनता पहिरो र बाढीबाट बेसहारा बनेका हजारौं उदाहरण तपाईं हामीले देखे भोगेका छौं। विश्व वातावरण दिवसमा विनाशमुखी विकासलाई रोकी सुन फलाउन सकिने माटो अर्थात् भूमिको संरक्षण गर्ने प्रतिज्ञा गर्नुपर्छ।
यससँग अन्योन्याश्रित सम्बन्ध भएका स्रोतहरू जंगल, जल, जीवजन्तु र समग्रमा यहाँको भौगोलिक विविधता अनुसारको पारिस्थितिक प्रणालीलाई जोगाई राष्ट्रले तय गरेको समृद्धिको लक्ष्य हासिल गर्न विकाससँग संरक्षणलाई जोडेर तदनुरूपका नीति संघीय सरकारको नेतृत्वमा तीनै तहका सरकार र मातहतका निकायले समन्वय र सहकार्यका माध्यमबाट अगाडि बढ्न अब ढिला गर्नुहुँदैन।
नेपालको भिरालो भूमिलाई बुझेर डोजरे विकास मात्र विकास हो वा भौतिक पूर्वाधार मात्रै विकास हो भन्ने गलत बुझाइलाई चिर्नुपर्छ। वातावरणमैत्री विकास नै दिगो र प्रकृतिमैत्री विकास हो भन्ने आम धारणाको विकास र साझा बुझाइ हुनसकेमा मात्र वातावरण दिवस मनाएको सार्थकता हुनेछ।
त्यसैले, बढ्दो वातावरणीय विनाश न्यून गर्न र वनजंगलको जथाभावी विनाश गर्ने कार्यलाई घटाउन संरक्षणको क्षेत्रमा लाग्ने सरकारी तथा गैरसरकारी निकायहरूको जोड र प्रयास मात्र पर्याप्त छैन। यसका लागि विकासका साझेदार निकायहरूले पनि भूमि, जंगल, वन्यजन्तु र वातावरणको महत्वलाई नजरअन्दाज गर्ने साँघुरो सोच र व्यवहार तुरुन्त सच्याउनुपर्दछ र संरक्षण एवं वातावरणमैत्री विकासमा जोड दिनसकेमा प्राकृतिक स्रोतहरूको संरक्षणको साथसाथै भौतिक विकासका पूर्वाधारहरूको दिगोपनामा समेत बढोत्तरी हुनेछ।
त्यसैले, विश्व वातावरण दिवसको यस पवित्र एवं पुण्य दिनमा वातावरण दिवसको नाराले दिएको सन्देशलाई आत्मसात् गरी तपाईं हामी सबैले मनन र प्रण गरौं कि आ-आफ्नो क्षेत्रबाट वातावरणको संरक्षण अर्थात् वनजंगल वन्यजन्तु, माटो र पानीको समुचित संरक्षण र व्यवस्थापन गरी आफ्नो गाउँ, टोल र शहर–बजारको वातावरण सफा, सुन्दर, सुरम्य र हरियाली बनाऔें। संरक्षण कार्यमा सबैले गच्छे अनुसार तन, मन र धन लगाऔं।
यसबाट बिग्रंदो वातावरण जोगाउन मद्दत पुग्नेछ। गाउँ, टोल, शहर, बजार र सिङ्गो देशको वातावरण संरक्षण भएपछि विश्व वातावरणको संरक्षणमा समेत योगदान पुग्न जान्छ। बिग्रिरहेको वातावरण सपार्न एक–दुई जनाको प्रयास सफल र प्रभावकारी नहुने भएको हुँदा सबैको एकमना एकता र अथक् परिश्रम आवश्यक छ।
वातावरणीय तापमान कम गर्ने कार्यहरू जस्तैः वन जंगल एवं रूख बिरुवाहरूको संरक्षण गर्ने, बढाउने र विवेकपूर्ण उपयोग गर्ने गराउने, फोहोरमैलाको उचित व्यवस्थापन गर्ने, संरक्षण एवं वातावरणमैत्री विकासमा जोड दिने, वातावरणीय प्रदूषण र कार्बन फुटप्रिन्ट घटाउने नै हो जसले गर्दा हामीले टेक्ने भूमिको संरक्षण हुनेछ अनि मात्र हाम्रो र हाम्रा भावी सन्ततिको भविष्य सुनिश्चित हुनेछ, यो नै विश्व वातावरण दिवसको सार सन्देश हो।
यो सन्देश हरेकले मनन् गरेर व्यवहारमा उतार्न सकेमा मात्र विश्व वातावरण दिवसको सार्थकता झल्किने छ र हामी मानव लगायत प्राणी जगतको जीवन सुरक्षित हुनेछ। यस सन्दर्भमा तपाईं–हामी हरेक नागरिकको साँचो कर्तव्य भनेको नै वातावरणीय संरक्षण कार्यमा निरन्तर लाग्ने र प्रकृतिले दिएको अनुपम उपहार यस सुन्दर धर्तीलाई भावी पुस्ताका लागि जस्ताको तस्तै सुम्पिनु हो। यसमा नै तपाईं हामी सबैको कल्याण निहित छ।
लेखक वरिष्ठ जलाधार व्यवस्थापन अधिकृत हुन्।