समाचार

र पो तिहार आए जस्तै लाग्थ्यो ……..!!

By लोकतन्त्र अनलाईन

November 04, 2024

                                                                    जीवन उच्चै ठकुरी

घुम्म घुम्म मादलुको ताल बज्दा गाउँमा देउसी, भैली र सालैजोको भाका जताततै गुन्जिन्थ्यो र पो तिहार आए जस्तै लाग्थ्यो

आफ्नै बारीमा सितले लछरम्म भिजेको मगमग बसाएको तिहारे भाले फुलको माला लगाइथ्यो र पो तिहार आए जस्तै लाग्थ्यो बिमिराको पातबाट हरियो दुना बनाइ गोबरले लिपि चकमन्न औसिको अध्यारो निसोट रातमा बत्ति बालिन्थ्यो र पो तिहार आए जस्तै लाग्थ्यो

गाउँका अल्लारे दौँतरी सङ्गी साथी जम्मा भइ औसिको रात गाउँमा भैली खेल्दा मकैको झ्योती पाइन्थ्यो र पो तिहार आए जस्तै लाग्थ्यो

कात्तिकको चिसो रातभरको अनिदो सुकेको स्वरले बोल्न नसकी बिहान भरी सुत्दा बुवामुवाको गाली खाइथ्यो र पो तिहार आए जस्तै लाग्थ्यो

भोको पेट बारिको बोडीका कोसा ,मुला,उखु,सुन्तला चोरी खादा कहिलेकाही घरबेटिले चाल पाएर खेदाइन्थ्यो र पो तिहार आए जस्तै लाग्थ्यो

पकाएको चाउचाउ दानमा दिएको सेल रोटी दिएको चामल कसैको घरमा नाता लगाइ पकाएर खाइन्थ्यो र पो तिहार आए जस्तै लाग्थ्यो

साथिले भटयाउदा भटयाउदै छिप्पिएको रातमा घरबेटी बिउझिएर पनि न उठदा भैली गाउदै धाइन्थ्यो र पो तिहार आए जस्तै लाग्थ्यो

देउसी भन्दै थाके पछि भट्याउने कुरा सकिए पछि अब के गाउने वाल्ल परे पछि घरबेटीले गाई भन्दा बल्ल पर्यो निरमाया माकुरी जालैमा गाइन्थ्यो र पो तिहार आए जस्तै लाग्थ्यो

बिहानै पिढिमा हालेको तेल र पिठोको धार गोठमा बाधेको लामो तोरनले सजिएको गोठ गोठ भरी गाई गोरु कराउथे सबैलाई माला चाहिन्थ्यो र पो तिहार आए जस्तै लाग्थ्यो

टोल टोलमा हालिने लिङ्गे पिङ बिरलै पाइने चर्के पिङ बाबियो बास खोज्नु पर्ने तेसैले गाउँ भरी डुल्दै माइन्थ्यो र पो तिहार आए जस्तै लाग्थ्यो

निधारमा सप्तरङी टीका फुलको माला छडके भिरेर लिङ्गे र चर्के पिङ खेल्न खेलाउन पल्लो गाउँ धाउदै जिस्किदै दौँतरी ठिटीहरु सग माया पिरती लाइन्थ्यो र पो तिहार आए जस्तै लाग्थ्यो ….