प्रमुख समाचार

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना- व्यावसायिक बन्दै पर्वतका कृषक

By लोकतन्त्र अनलाईन

July 04, 2024

माया अधिकारी पर्वत २० असार –  प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना पर्वत जिल्लामा कार्यान्वयन भएपछि ग्रामीण क्षेत्रका कृषकहरु व्यावसायिक बन्दै गएका छन् ।

निर्वाहमुखि रुपमा अन्नवाली तथा तरकारी खेती गर्ने कृषकहरु अहिले व्यावसायिक बन्दै गएका हुन् । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन ईकाई बागलुङले पर्वत जिल्लामा धान, तरकारी र मकै उत्पादनमा कृषकहरुलाई सहयोग गर्दै आएको छ ।

परियोजनाले धान जोनको रुपमा पर्वतको कुश्मा नगरपालिकाका सवै वडा, मोदी गाउँपालिकाका २, फलेवासका ४ र विहादीका ६ र पैंयुँ गाउँपालिका सवै वडामा धान खेतीमा सहयोग गर्दै आएको छ ।

कृषि क्षेत्रको समग्र आधुिनकिरणको प्रक्रियालाई तिब्र पार्न र बाह्य परिवेशसँग सामन्जस्यता ल्याउन आधुनिक कृषिका विभिन्न आयामहरुलाई समावेश गरी आधुनिकरणको प्रक्रियाको थालनी गर्न पर्वतमा १० वर्षे प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागु भएको थियो । परियोजनाले तरकारी जोनतर्फ जलजला गाउँपालिकाका आठ वडा, कुश्मा नगरपालिकाका सवै वडा र मोदी गाउँपालिकाका चारवटा वडामा कार्यक्रम लागु गरेको छ । भने मकै जोनतर्फ फलेवास, विहादी, र महाशिलामा मकैवाली प्रवद्र्धन कार्यक्रम सचालन गरेको छ ।

कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा तरकारी जोनमा समावेश भएका ५१ वटा व्यावसायिक तरकारी उत्पादन फार्मले प्लाष्टिक टनेल निर्माण सहयोग प्राप्त गरेका छन् । ५१ वटा फार्मको लागि रु ७० लाख रुपैया अनुदान उपलब्ध गराइएको छ । त्यस्तै प्याकेजिङ, लेभलिङ तर्फ पर्वतको टकलाक कृषि फार्म पैंयु- १ र रन्तिजा किवि नर्सरी जलजला- ५ लाई सहयोग गरिएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन ईकाई बागलुङका निमित्त प्रमुख नारायण पौडेलले जानकारी दिनुभयो ।

पौडेलका अनुसार महाशिला वडा नं. १ मा रहेको सुभद्रिखर्क कृषक समुहलाई चक्लाबन्दीमा आधारित खेती कार्यक्रम अन्तर्गत ओखर उत्पादन बृद्धिका लागि अनुदान रकम हस्तान्तरण गरिएको छ भने भण्डारण तथा प्राथमिक प्रशोधनका लागि झाक्रिसल्ला लप्सी खाद्य उद्योग कुश्मा-३ दुर्लुङलाई सहयोग गरिएको छ । परियोजनाले चालु आर्थिक वर्षमा पर्वतमा २३ वटा साना सिंचाईका पुर्वाधार निर्माण तथा मर्मत सम्भारका योजना सम्पन्न गरेको छ । विभिन्न कृषक समुह मार्फत माग भएका ती योजना सम्पन्न गरिएको निमित्त प्रमुख पौडेलले बताउनुभयो ।

त्यस्तै कृषकहरुलाई यान्त्रिकरणमा सहयोग कार्यक्रम अन्तर्गत जिल्लाका ५६ वटा कषि समुह वा संस्थालाई एक सय २० वटा यान्त्रिक हलो र थ्रेसर मेशिन वितरण गरिएको कार्यालयले जनाएको छ ।

यो क्षेत्रमा प्रधानमन्त्री कृषि आधुनिकिरण आयोजना संचालन भएपछि धान उत्पादनमा प्रविधि, यान्त्रिक उपकरण र उन्नत विऊ विजन लगायत अन्य प्राविधिक विषयमा कृषकहरुलाई सहयोग पुगेको कुश्मा नगरपालिका वडा नं. ११ मा रहेको साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष तथा पकुवाका अगुवा कृषक डम्वर विकले बताउनुभयो । ‘कार्यालयको सहयोगपछि धान उत्पादनमा उल्लेख्य मात्रामा बृद्धि भएको छ ।’ केहि वर्ष अघिसम्म घरमा खान समेत नपुग्ने यहाँका कृषकले अहिले उत्पादन गरेको धान विक्रि गर्न थालेको उहाँको भनाई छ । यहाँ जेठोबुढो लगायतका धान उत्पादन गरिँदै आएको छ । उहाँले एक सय ५ रोपनी क्षेत्रफलमा पोखरेली जेठो बुढोको उन्नत विऊ उत्पादन गर्दै आएको बताउनुभयो । उहाँले यहाँ उत्पादित विउ पोखरासँगै बागलुङ र पर्वतका विभिन्न ठाउँमा विक्रि गर्ने गरेको बताउनुभयो । उहाँले धान उत्पादन भन्दा बिऊवाट दोब्बर आम्दानी गर्न सफल भएको बताउनुभयो । नयाँ प्रविधि भित्र्याउनका लागि परियोजनाको सहयोग उल्लेख्य रहेको बताउनुभयो ।

त्यसैगरी पाङका अगुवा कृषक विष्णु पौडेलले धानखेती सम्वन्धि प्राविधिक सहयोगका साथै कार्यालयको आवश्यक सहयोग र सहजीकरणपछि कृषकहरुलाई ठुलो राहत मिलेको बताउनुभयो । उहाँले वर्षे मात्र नभई चैते धान खेती विस्तारमा पनि कृषकहरुको आकर्षण बढेको भन्दै आधुनिक प्रविधिवाट खेती गर्दा धेरै खालको फाईदा पुगेको बताउनुभयो ।

फलेवास नगरपालिका वडा नं.-६ का कृषक रमेश चापागाईले धान खेती र मकै उत्पादनमा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको ठुलो सहयोग रहेको बताउनुभयो । निर्वाहमुखि खेती गर्ने यहाँका कृषक परियोजना लागु भएपछि धान, मकै, तरकारी उत्पादन गर्ने मात्र नभई मनग्गे आम्दानी समेत गर्न सफल भएको उहाँले बताउनुभयो । उहाँले मकै र धानको बीऊ समेत उत्पादन गरेर विक्रि गर्दा थप आम्दानी हुनुका साथै जमिन बाँझो रहने क्रम पनि न्यूनिकरण हुँदै गएको बताउनुभयो ।

परियोजना मार्फत जेठो बुढो धानको व्यावसायिक रुपमा उन्नत बिऊ उत्पादनमा लाग्नुभएका पर्वतको विहादी गाउँपालिका वडा नं. २ का कषक रामप्रसाद पराजुलीले खानका लागि चामल मात्र उत्पादन गर्ने नभई विऊ नै उत्पादन गर्न सकेमा कृषकहरुको आम्दानी समेत बढ्ने बताउनुभयो । यस वर्षदेखि प्राविधिकहरुको निगरानीमा वैज्ञानिक प्रद्धतीवाट उत्पादन गरिने जेठो बुढो धानको बिऊले वैधानिकता पाउनेमा कृषकहरु विश्वस्त रहेको उहाँको भनाई रहेको छ । कृषकहरुलाई आधुनिक खेतीतर्फ परियोजनाले प्रेरित गरेको उहाँको विश्वास रहेको छ ।

तरकारी जोन कार्यक्रम अन्तर्गत पर्वतको कुश्मा नगरपालिका वडा नं.- ११ पकुवामा व्यावसायिक तरकारी खेती गर्दै आउनुभएका विश्वबिजय जोशीले परियोजना मार्फत साना सिंचाई आयोजना र यान्त्रिकिकरणमा सहयोग भएपछि तरकारी र धान जोनमा आवद्ध कृषकहरु लाभान्वित भएको बताउनुभयो । सिंचाई मार्फत बाह्रै महिना तरकारी खेती गर्न पाएको र यसले उत्पादनमा बृद्धि भएको बताउनुभयो । पकुवामा मात्र डेढदर्जन बढि साना सिंचाईका योजना संचालन भएको उहाँको भनाई छ ।

सोहि ठाउँका अर्का कृषक भिमकुमारी बस्नेतले परियोजनामार्फत प्लाष्टिक टनेल पाएपछि मौसमी तथा बेमौसमी तरकारी खेती गरेर मनग्गे आम्दानी गर्दै आएको बताउनुभयो । धान भन्दा टनेल भित्र लगाएको तरकारी खेतीगरेर प्रसस्त आम्दानी गर्न सफल भएको बताउनुभयो । उहाँले टनेल आएपछि थोरै जमिनवाट पनि धेरै फाईदा हुन थालेको बताउनुभयो ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन ईकाई बागलुङका प्रमुख नारायण पौडेलले कृषिमा आधुनिकिरण गरि कृषकहरुको आयआर्जनमा बृद्धि गर्नका लागि परियोजनाले विभिन्न कार्यक्रम लागु गरेको बताउनुभयो । उहाँले पर्वत र बागलुङ जिल्लामा धान, मकै, तरकारीको उत्पादनमा बृद्धि गरी कृषकहरुको आयआर्जनमा सुधार ल्याउने कार्यक्रम संचालन गरिरहेको बताउनुभयो । त्यसैगरी ब्यावसायिक बाख्रापालन र व्यावसायिक आलु उत्पादनको क्षेत्रमा पनि काम गर्दै आएको उहाँको भनाई छ ।

परियोजना लागु भएको आठ वर्ष पुगिसकेको छ । यसवाट पर्वत र बागलुङका कृषकहरु व्यावसायिक उत्पादनतर्फ आकर्षित भएको दावी पौडेलले गर्नुभएको छ ।