पर्वत- नेकपा एमाले पर्वतको दशौ जिल्ला अधिवेशन नजिकिदै गएको छ । यहि चैत २७ देखि २९ गतेसम्म हुने अधिवेशनको तयारी तीब्र रुपमा भैरहेको छ ।
अधिवेशनका लागि शुक्रवार जिल्लाका ६१ वटै वडामा प्रतिनिधि छनौट हुँदैछ । अधिवेशनमा झण्डै साढे ४ सयको हाराहारीमा प्रतिनिधि सहभागि हुने छन् । तीनै प्रतिनिधिलाई वितरण गर्नका लागि एमाले निकट नेपाल उद्योग तथा व्यावसायी महासंघ पर्वतले झोला सौजन्य गरेको छ । अधिवेशनका लागि पाँच सय झोला सौजन्य गरेको हो । प्रतिनिधिहरुका लागि आवश्यक सामाग्री राख्न मिल्ने झोला महासंघको तर्फवाट सौजन्य गरिएको अध्यक्ष हरिओम शर्मा लामिछानेले जानकारी दिनुभयो ।
उक्त झोला बिहीवार नेकपा एमाले पर्वतको पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच पार्टी अध्यक्ष राजुप्रसाद पौडेल लगायतका पदाधिकारीहरुलाई हस्तान्तरण गरिएको छ । अध्यक्ष लामिछानेले झोला हस्तान्तरण गर्नुभएको हो ।
नेकपा एमालेको भातृ संगठन भएकाले मुल पार्टीको अधिवेशन हुँदा संस्थाको तर्फवाट केहि योगदान गर्ने उद्धेश्यले झोला बनाएर हस्तान्तरण गरिएको लामिछानेले बताउनुभयो । उहाँले अधिवेशनलाई सहमति सहकार्य र एकतावाट सर्वसम्मत नेतृत्व चयनमा केन्द्रीत गर्न समेत आग्रह गर्नुभयो ।
कार्यक्रममा नेकपा एमाले पर्वतका अध्यक्ष राजु पौडेलले अधिवेशनको तयारीका बारेमा जानकारी गराउनुभएको थियो । तीन दिन सम्म संचालन हुने अधिवेशनको आवश्यक व्यवस्थापनको काम भैरहेको उहाँले बताउनुभयो । शुक्रवार प्रतिनिधि छनौट भैसकेपछि अन्य बाँकी रहेका व्यवस्थापनका काम गरिने उहाँको भनाई छ । झोला हस्तान्तरण कार्यक्रममा नेपाल उद्योग तथा व्यावसायी महासंघका पर्वत इन्चार्ज केदारनाथ शर्मा, एमाले उपाध्यक्ष पदमपाणी शर्मा, उपसचिब शिव पौडेल, पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुरवि पौडेल लगायतको सहभागिता रहेको थियो ।
अधिवेशन नजिकिदै जाँदा आगामी नेतृत्वका लागि बहस र चर्चा पनि बढ्दै जान थालेको छ । आगामी नेतृत्वका लागि अध्यक्षमा तीन जना आकांक्षी देखिएका छन् । वर्तमान अध्यक्ष राजु पौडेल, उपाध्यक्ष पदमपाणी शर्मा र सचिब गोविन्द पहाडीले अध्यक्षमा दाबी गरेका छन् ।
श्रोतका अनुसार अन्तिमममा राजु पौडेल र पदमपाणी शर्मा मध्ये १ जना उम्मेदवार हुने छन् भने अर्कोतर्फ गोविन्द पहाडीले आफु कुनैपनि परिस्थितिमा पछि नहट्ने अडान लिनुभएको छ । म पछि हट्ने कुनै अवस्था छैन, सहमतिमा भएपनि, निर्वाचनमार्फत भएपनि आफु अध्यक्षको नेतृत्व लिनका लाग सवै तयारीमा लागेको उहाँले बताउनुभयो ।