मुख्य समाचार

दम्पती हत्या घटनाको निष्पक्ष छानविन हुन्छ ः मन्त्री गिरी

By लोकतन्त्र अनलाईन

April 04, 2024

पर्वत, २२ चैत- पर्वत जिल्लाको जलजला गाउँपालिका वडा न २ मा भएको दम्पती हत्या घटनाको निष्पक्ष छानविन हुने कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले बताउनुभएको छ ।

हत्या भएको भोलीपल्ट बुधवार पिडित परिवार भेटघाट गर्न घटनास्थल पुग्नुभएका मन्त्री गिरीले दम्पती हत्या जस्तो जघन्य अपराध गर्ने जो सुकै भएपनि कारबाहीको दायरमा ल्याउने बताउनुभयो ।

सोमवार राती स्थानीय ६९ बर्षका सूर्यबहादुर जिसी र उहाँकी श्रीमती ६७ बर्षिया कमला जिसीको हत्या भएको थियो । बुधवार साँझ पिडित परिवारको घर जलजला २ दहमा पुग्नुभएका मन्त्री गिरीले परिवारका सदस्यहरुलाई भेटेर घटनाको बारेमा जानकारी लिनुभएको हो ।

हत्या भएको तीन दिनसम्म पनि प्रहरीले हत्यामा संलग्न व्यक्तिलाई पक्राउ गर्न भने सकेको छैन् । भेटमा कानुन मन्त्री गिरीले हत्यारा छिट्टै पक्राउ पर्ने बताउनुभयो । उहाँले हत्या जस्तो जघन्य अपराधमा संग्लग्न जो सुकैलाई पनि सरकारले नछाड्ने भन्दै परिवारले न्याय जसरी पनि पाउने आश्वासन दिनुभयो । अहिले सवै कोणवाट सुक्ष्म अनुसन्धान भैरहेको छ, मन्त्री गिरीले भन्नुभयो -‘एक दुई दिनमा हत्यारा पत्ता लाग्ने छ र कारबाहीको दायरामा आउने छ ।’

पिडित परिवारले न्याय पाउने गरी सुरक्षा निकायबाट अनुसन्धानलाई प्रभावकारी बनाउन आफुले निर्देशन दिइसकेको मन्त्री गिरीले परिवारलाई बताउनुभयो । मन्त्री गिरीले अपराधीलाई कारबाही नगरे देशमा यस्ता आपराधिक घटना अझै बढ्ने भन्दै छिट्टै अपराधीलाई सार्वजनिक गरिने समेत बतउनुभयो ।

हत्यामा संलग्नको खोजीका लागि मंगलवार बिहानैदेखि अनुसन्धान कार्यलाई तीब्र पारिएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुर सहित प्राविधिकहरुको टोली समेतबाट खोजी कार्य भैरहेको पर्वतका प्रहरी नायव उपरिक्षक खुमलाल भुसालले बताउनुभयो । भुसालका अनुसार आफन्तहरुसँग सोधपुछको कार्य समेत भैरहेको छ ।

मृतक दम्पतीको शव पोष्टमार्टमका लागि म्याग्दीको बेनी अस्पतालमा राखिएको छ । दुई छोरा कोरियावाट आईपुगेपछि पोष्टमार्टम गरिने प्रहरीले जनाएको छ ।