प्रमुख समाचार

सशस्त्रले थाल्यो बिपद् सचेतना तथा प्रतिकार्यको तयारी, पर्वतमा ३० जना परिचालन

By लोकतन्त्र अनलाईन

June 03, 2024

पर्वत- वर्षायाममा विपदतका धेरै घटना घट्ने गर्दछन् । वर्षायाममा घट्ने विपदका घटनाको क्षति न्यूनिकरण गर्नका लागि सशस्त्र प्रहरी बल नेपाल २५ नम्वर गण हेडक्वाटर चण्डिका पर्वतले आवश्यक तयारी थालेको छ । मनसुनजन्य बिपदको कारण हुनसक्ने सम्भावित क्षती न्यूनीकरणको लागि बिपद पूर्व नै समुदायमा नै टोलि पुर्‍याउने लक्ष्य सहित आफ्नो परिचालन योजना बनाइ कार्यान्वयनमा ल्याउन थालेको हो ।

नेपालमा विशेष गरि बर्षा याममा आउने बिपदका घटनाहरुको कारण बर्सेनि जनधनको ठूलो क्षती ब्योहोर्नु पर्ने अनुभवबाट पाठ सिक्दै समुदायमा परिचालित भइ तत्काल उद्दार तथा राहत कार्यमा परिचालन समेत हुनसक्ने गरि देशै भरी परिचालित गराइएको सशस्त्र प्रहरीले जनाएको छ ।

बिपद पूर्व तयारी, सचेतना र प्रतिकार्यमा परिचालन हुनको लागि हाल देश भरका ५० स्थानहरुमा सशस्त्रले बिपद ब्यबस्थापन तालिम प्राप्त टोलिहरु परिचालन गरेको छ भने गण्डकी प्रदेशमा ७ वटा टोलिहरु परिचालन गरिएको सशस्त्रको ४ नम्बर मुक्तिनाथ बाहिनी मुख्यालयले जानकारी दिएको छ ।

यसैबीच गण्डकी प्रदेशको ७ वटा टोलि मध्ये पर्वतमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर २५ गण हे.क्वा. चण्डिका पर्वतबाट सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा ३० जनाको टोलि जिल्लाको विभिन्न स्थानहरुमा खटिने गरि १९ गतेबाट नै परिचालन गरिसकिएको गणका सुचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक बिष्णु प्रसाद धितालले जानकारी दिनुभयो ।

पर्वत जिल्लामा खटिएको टोलिमा बिपद उद्दार तालिम प्राप्त जनशक्तिहरुलाई समेत समावेश गराएको र सो टोलिले बिपदका घटना पूर्व समुदाय स्तरमा सचेतना फैलाउने, क्षमता अभिबृद्धि गराउने कार्यहरु समेत गर्ने उक्त गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र थापाले जानकारी दिनुभयो ।

यस्तै बिपद सचेतना तथा प्रतिकार्यमा परिचालित टोलिले आइतवार कुश्मा नगरपालिकामा रहेको नारायण मा.बि.मा समुदाय सचेतनाको लागि सचेतना कार्यक्रम संचालन गरिएको गणका सुचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक बिष्णु प्रसाद धितालले जानकारी दिनुभयो । सशस्त्र प्रहरी चण्डिका गणले उक्त कार्यलाइ प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय र सबै पालिकाहरुसंगसमन्वय समेत गरिरहेको छ । समुदायलाई लक्षित गरि बिपद प्रतीकार्य क्षमता अभिबृद्धि गराउन समेत निरन्तर लागीएको शसस्त्र प्रहरीले जनाएको छ ।