प्रमुख समाचार

पर्वतको पैयूँ गाउँपालिकामा नीति कार्यक्रम एवं बजेट निर्माणका लागि सुझाव संकलन

By लोकतन्त्र अनलाईन

June 02, 2024

पर्वत – पर्वतको पैयूँ गाउँपालिकाले आगामी आर्थिक बर्षको वार्षिक नीति तथा बजेट निर्माणका लागि राय, सुझाव संकलन गरेको छ । पालिकाले विभिन्न तहका व्यक्तिहरुसँग बसेर छलफलसँगै राय, सुझाव संकलन गरेको हो । गाउँपालिकाले शनिवार कार्यपालिका सदस्य, पूर्व जनप्रतिनिधी, राजनितीक दलका प्रमुख, निर्वाचनमा उपविजेता बनेका उम्मेदवार, सामाजिक बौद्धिक एवम् विभिन्न क्षेत्र सम्बद्ध सरोकारवालाहरुको उपस्थिति नीति तथा कार्यक्रम एवं योजनाका लागि सुझाव संकलन सहित छलफल गरेको हो ।उपस्थित सरोकारवालाहरुले विभिन्न शिर्षकमा रहेर सुझाव, सल्लाह र नविनतम कार्यक्रम लगायत थुप्रै बिषयमा आफ्ना धारणाहरु राखेका थिए ।

जनमैत्री नीति तथा कार्यक्रम र बजेटको तर्जुमा गर्नका लागि आम नागरिकहरूको राय सुझाब सङ्कलन महत्वपूर्ण हुने भएकाले राय सुझाव माग गरिएको पैयूँ गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरी ‘राज’ ले जानकारी दिए । पालिका भित्रका नागरिकहरूका लागि के कस्ता नीति तथा कार्यक्रमहरू बनाउँदा उत्तम हुन्छ भन्ने नागरिकका सुझावले आगामी कार्यदिशा निर्माण गर्न र बजेट तर्जुमामा सहयोग पुग्ने भएकाले सुझाव माग गरिएको ठकुरीको भनाई छ । नागरिकहरूले दिएको सुझावलाई प्राथमिकताका साथ राखेर नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्ने ठकुरीले बताए ।

रायसुझाव दिनका लागि पालिकाले यसअघि अनलाईन मार्फत संकलन गर्ने बिधि अपनाएको थियो । नागरिकहरूले फोन, इमेल र गाउँपालिकाले तयार गरेको अनलाइन पोर्टलमार्फत राय सुझाव दिन सक्ने गरी व्यवस्था प्रारम्भ गरिएको प्रमुख प्रशासकीय अधिकृत ई.राजीव रिमालले बताए । उनले अब कृषि, पशु, लघु उद्यम तथा विभिन्न क्षेत्रमा रोजगारी सिर्जना गरिरहेका व्यक्तीहरु सँगपनि छलफल कार्यक्रम राखी क्षेत्रगत रुपमा सुझाव माग गर्ने कार्यक्रम रहेको जानकारी दिए ।

असार १५ गते स्थानीय तहले बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सोही व्यवस्था बमोजिम पैयूँ गाउँपालिकाले आ.वको बजेट, नीति तथा कार्यक्रम तर्जुमाको लागि राय, सुझाव संकलन गरिरहेको छ ।