कृषि उत्पादनको बजारीकरणमा समस्या रहेको पर्वतका कृषकको गुनासो

By लोकतन्त्र अनलाईन

February 28, 2023

पर्वत – कृषि उत्पादनको बजारीकरणमा समस्या रहेको पर्वतका कृषकले गुनासो गरेका छन । कृषि ज्ञान केन्द्र पर्वतले कृषि उत्पादनको बजारीकरण सम्बन्धमा गरेको अन्तरक्रिया कार्यक्रममा किसानले उत्पादित बस्तुले बजार र मूल्य नपाएको गुनासो गरेका हुन । बिहादी २ बराचौरका रामप्रसाद पराजुलीले आफुले उत्पादन गरेपनी खुल्ला बजारमा प्रस्तिस्पर्धा गर्दा समस्या भैरहेको गुनासो गर्नुभयो । उहाँले बजार मूल्य निर्धारण नहुदा अर्गानिक उत्पादनले बजार मूल्य नपाएको गुनासो गरे । किसानले आफ्नो उत्पादनको पहिचान दिन नसकेको बताए ।

कुश्मा ११ पकुवाका विश्वराज जोशीले बिचौलियाले कृषकको उत्पादन र लगानीमा फाइदा लिएपनी किसानले फाइदा लिन नसकेको गुनासो गर्नुभयो । फलेवास उमाकान्त शर्माले किसानले सधै दुख मात्रै गर्ने तर फाइदा अरुले लिने गरेको पिरलो राख्नुभयो । भवरकोट एग्रो कृषि फर्मका सन्चालक राजेन्द्र खड्काले स्थानीय उत्पादन उपभोक्ताले चिन्न नसकेको गुनासो गर्नुभयो । कार्यक्रममा कृषि मन्त्रालय गण्डकी प्रदेशका सचिव सहदेव प्रसाद हुमागाइ, जिल्ला समन्वय समितिका प्रमुख बिस्णुराम बिक, जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्य, कृषि निर्देशनालय पोखराका प्रमुख बासुदेब रेग्मि, प्रमुख जिल्ला अधिकारी चित्राङगत बराल, उधोग बाणिज्य संघ पर्वतका बरिस्ठ उपाध्यक्ष ठाकुर बि पौडेल लगायतले बोल्नुभएको थियो । कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख मनिता थापाको अध्यक्षतामा आयोजित कार्यक्रमको सन्चालन कृषि प्रसार अधिकृत विश्वास काफ्लेले गर्नुभएको थियो भने स्वागत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कृषि अधिकृत नारायण पौडेलले गर्नुभएको थियो । सो अवसरमा गण्डकी प्रदेशमै सर्वोत्कृष्ट कार्यालय बनाउन सफल कृषि ज्ञान केन्द्रका कर्मचारीहरुलाई प्रसंसापत्र प्रदान गरिएको थियो ।