बागलुङ – राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीको रगत र पसिना बगाएर बनाएको संविधान कसैले निमोठ्न नसक्ने बताएका छन् । लाखौं नेपालीको आन्दोलनबाट स्थापित संविधानलाई सदुपयोग गर्ने र देश विकास गर्ने जिम्मेवारी सबैले बहन गर्नुपर्ने बताए ।
संविधान लेखनका क्रममा गरिएका संघर्ष र बलिदानले अहिलेको गणतन्त्र संस्थागत गर्नसमेत पहल गर्नुपर्ने बताए । उनले राजनीतिक परिवर्तन जस्तै देशमा अर्थतन्त्रको सुधार, प्रविधिको प्रयोग र उद्योगको विकासमा जोड दिनुपर्ने बताए ।
बागलुङ उद्योग वाणिज्य संघले आयोजना गरेको सातौं बागलुङ महोत्सव उद्घाटन गर्न बुधबार आएका पौडेलले स्थानीय परम्पराको संरक्षण गर्दै घरेलु तथा साना उद्योगको प्रवर्द्धन गर्नुपर्ने बताए । उनले नागरिकको प्रतिस्पर्धात्मक र प्रविधिमा सुधार गरेर पूर्वाधार निर्माण, मेसिनरी प्रतिस्थापन तथा लघु घरेलु उद्योगको बजार प्रवर्द्धन गर्नुपर्ने बताए ।
राष्ट्रपति पौडेलले हरित अर्थतन्त्रमार्फत समृद्धिको मार्ग खोज्नुपर्ने बताए । उनले वातावरण संरक्षण र जलवायु परिवर्तन अनुकूलन तथा असर न्यूनीकरणलाई ध्यान दिएर विकास गर्नुपर्ने बताए । स्थानीय स्तर, निजी क्षेत्र र सरकारी क्षेत्रले पनि ध्यान दिनुपर्ने पौडेलको जोड थियो । पौडेलले वातावरण संरक्षण नभएमा देखिएका हिमशृंखला नष्ट हुने खतरा बढेको औंल्याए । ‘यी देखिएका हिमशृंखला जोगाउन हामीले होस पुर्याएनौं भने भोलि नरहन पनि सक्छन्,’ उनले भने, ‘त्यो बेलाको हामी कल्पना पनि गर्न सक्दैनौं ।’ उनले विकाससँगै वातावरण संरक्षणका काम थाल्न आग्रह गरे ।
नेपालको विकास साना तथा घरेलु उद्योगबाटै सम्भव हुने उनको तर्क थियो । लघु घरेलु तथा साना उद्योगलाई बजार प्रवर्द्धन गर्न सकेमा साना साना व्यवसायीमाथि उठ्ने भन्दै महोत्सवमा ती विषयमा ध्यान दिनुपर्ने उनले सुझाव दिए । क्रेता र विक्रेता एकै ठाउँ जम्मा हुने अवसर सदुपयोग गर्दै वस्तुको उत्पादन र बजारीकरणमा महोत्सवको सफलताको कामना पनि गरे । ‘स्थानीय रोजगारी र बजारीकरणमा महोत्सव सफल हुनुपर्छ,’ पौडेलले भने ।
पौडेलले गण्डकी प्रदेश सबैभन्दा सुन्दर भएको चर्चा गरे । संविधान निर्माणका क्रममा कोरला नाकादेखि त्रिवेणी नाकासम्म जोड्ने गरी गण्डकी प्रदेश बनाउन भूमिका खेलेको उनले स्मरण गरेका थिए । कालीगण्डकी करिडोर छिटो सकेर गण्डकीले समृद्धिको ढोका खोल्ने उनले बताए । ‘अब डेढगाउँदेखि त्रिवेणीसम्मको सुरुङ मार्ग बनाउन सकेमा गण्डकी देशकै सुन्दर र समृद्ध प्रदेश बन्छ,’ उनले भने, ‘यो अभियानमा तपार्इंहरू होस्टे गर्नुहोस्, म पनि हैंसे गर्नेछु ।’
राष्ट्रपति पौडेलले २०४६ सालको आन्दोलनमा बागलुङ कारागार बसेको स्मरणसमेत गरे । त्यतिबेलाका सहयोद्धाहरु गोविन्दप्रसाद शर्मा कँडेल, जगदीशचन्द्र उपाध्यायलगायतको नाम उल्लेख गर्दै परिवर्तनका लागि लडेका सबैलाई सम्मान गरे । ‘म आज आफ्नै घर फर्केर आएझैं भएँ,’ पौडेलले भने, ‘मलाई जेलमा खाना खुवाउनेदेखि संकटका बेला भेटेर साथ दिनेहरू यही हुनुहुन्छ, सबैलाई अभिनन्दन छ ।’ राष्ट्रपति भएपछि पहिलो पटक बागलुङ आएकोले बागलुङवासी र धौलागिरि क्षेत्रका बासिन्दालाई अभिनन्दन गरेको समेत पौडेलले बताएका थिए ।