प्रमुख समाचार

शैक्षिक गुणस्तर बढाउन महाशिलामा आवासीय विद्यालय संचालन

By लोकतन्त्र अनलाईन

January 25, 2023

पर्वत –  विद्यार्थीमा पढाइप्रति रुचि बढाउन र शिक्षाको गुणस्तरमा सुधार ल्याउने उद्देश्यले पर्वतको महाशिला गाउँपालिकाले निःशुल्क आवासीय विद्यालय सञ्चालन गरेको छ । गाउँपालिका र अभिभावकको साझेदारीमा साविककै सामुदायिक विद्यालयमा आवासीय सुविधा सहितको पठनपाठन सञ्चालनमा ल्याइएको हो । यो जिल्लामै नयाँ अभ्यास हो । महाशिला गाउँपालिकाको आवासीय विद्यालय सञ्चालन तथा व्यवस्थापन कार्यविधि-२०७९, बमोजिम जारी भएको सूचनामा ७ वटा विद्यालयले आवासीय विद्यालयको प्रस्ताव पेश गरेकोमा माध्यमिक तहबाट महेन्द्र ज्योति माध्यमिक विद्यालय लुंखुदेउराली, स्वधर्म माध्यमिक विद्यालय पाखापानी र नि.मा.वि. तहमा गोल्र्याङधाम आधारभुत विद्यालय होश्राङ्दी छनोट भएका छन् । छनोट भएका विद्यालय मध्य महाशिला गाउँपालिका वडा नं ४ पाखापानी स्थित स्वधर्म माध्यमिक विद्यालयलाई मंगलवार देखि आवासीय विद्यालयका रुपमा शुभारम्भ गरिएको छ । आवासीय विद्यालय शुभराम्भ गर्दै गाउँपालिका अध्यक्ष इश्वरी प्रसाद भुसालले सामुदायिक विद्यालयको गुणस्तर उकास्न तथा गाउँपालिकालाइ शैक्षिक केन्द्र बनाउन आवासीय विद्यालय सञ्चालन गरिएको बताउनुभयो । उहाँले छोराछोरीलाई पढाउनकै लागि ग्रामिण क्षेत्रका अभिभावक शहरी क्षेत्रमा बसाईसराई गर्ने क्रम न्यूनिकरणमा यस कार्यले टेवा पुर्याउँने बताउनुभयो । भुुसालले विहान ६ देखी बेलुकी ६ बजे सम्म विद्यार्थी विद्यालयमै रहनाले पढाईसंँगै अतिरिक्त क्रियाकलापमा समेत संलग्न हुनाले अध्ययन अध्यापनमा सुधार ल्याउँने विश्वास व्यक्त गर्नुभयो । उहाँले आगमी पाँच बर्ष सम्म पालिकाका प्रत्यक वडामा आवासीय विद्यालय सञ्चालन गर्ने उदेश्य रहेको समेत बताउँनुभयो । विद्यालयका प्रधानध्यापक शेषकान्त शर्माले गाउँपालिका तथा सामुदायिक विद्यालयको शैक्षिक उन्नयनमा पालिका र अभिभावक यस्ता कार्यक्रममा सँगसँगै सहकार्य गरेमा पालिकाको अपनत्व तथा समुदायको चासो विद्यालय प्रति सकारात्मक रहने बताउँदै गाउँपालिको कार्यविधि बमोजिम आवासीय विद्यालय सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । आवासीय विद्यालय सञ्चालन गर्न अभिभावकले आलोपालो स्थानीय स्तरमा उत्पादित खाद्यान्न र तरकारी विद्यालयलाई उपलब्ध गराउने छन् भने शिक्षकको अतिरिक्त समयको भत्ता र व्यवस्थापन खर्च गाउँपालिकाले उपलब्ध गराउँने छ । विहान सवेरै विद्यालय जाने विद्यार्थीहरुलाई विहानको खाना र दिउँसो खाजाको व्यवस्था विद्यालयमै हुने छ । विद्यार्थीले १२ घण्टासम्म विद्यालयमै रहेर निरन्तर रुपमा पठनपाठन गर्न पाउने भएका छन् । यसले उनिहरुको दक्षता समेत बढाउने अपेक्षा गरिएको छ ।