प्रमुख समाचार

पर्वतका दुई पालिका प्रमुख प्रशासकीय अधिकृत बिहिन, कामकाज प्रभावित

By लोकतन्त्र अनलाईन

December 23, 2023

पर्वत –  पर्वतका दुई पालिका लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत विहिन बनेका छन् । जिल्लाको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई प्रहरीले पक्राउ पुर्जि लिएपछि उनी अहिले सम्पर्क विहिन छन् । ११ गतेसम्मका लागि मौखिक विदा लिएर हिडेका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुलीलाई कास्की जिल्ला अदालतले पक्राउ पुर्जि जारी गरेको छ । पुर्जि जारी गरेपछि सम्पर्क विहिन भएका पराजुली नहुँदा नरपालिकाका दैनिक कामकाजहरु रोकिएको नगरप्रमुख रामचन्द्र जोशीले जानकारी दिनुभयो । प्रमुख प्रशासकीय अधिकृत पराजुली उपर घुस लेनदेनको आरोप लागेपछि उनी स्वतः निलम्बनमा परेका छन । नगरपालिकाले आगामी साता राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताको आयोजना गरेको छ । नगरपालिकाको दैनिक प्रशासनिक र आर्थिक काम प्रभावित भएको नगर प्रमुख जोशीको भनाई छ ।

उता, लामो समय देखि दक्षिण पर्वतको विहादी गाउँपालिकामा पनि प्रमुख प्रशासकीय अधिकृत नुहँदा पालिकाका कामकाज प्रभावित बनेका छन् । लेखा अधिकृत अर्जुन रिजालले निमित्त कामकाजको जिम्मेवारी सम्हाले पनि संघीय मामिला मन्त्रालयले अझै पनि विहादीमा प्रमुख प्रशासकीय अधिकृत खटाउन सकेको छैन । विहादी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा जिल्लाकै मोदी गाउँपालिकामा सरुवा भएपछि विहादीमा प्रमुख प्रशासकीय अधिकृतको कुर्चि रित्तो भएको हो । शर्मा कात्तिक १३ गते मोदीमा सरुवा हुनुभएको थियो । लामो समयसम्म पनि कर्मचारी मन्त्रायले नखटाउँदा विहादीमा आर्थिक प्रशासनका कामहरु प्रभावित भएका छन् । निमित्त प्रमुख प्रशासकीय अधिकृत रिजालले सामाजिक सुरक्षा भत्ता वितरण र पौष महिनादेखि कर्मचारीको तलबभत्ता खुवाउन समेत समस्या देखिने अवस्था आएको बताउँनुभयो । यसैगरी उत्तरी पर्वतको जलजला गाउँपालिकामा भने गाउँपालिकामा कार्यरत लेखा अधिकृत फणिन्द्रप्रसाद आचार्यलाई मन्त्रालयले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रायलले स्थानीय पालिकाहरुमा कर्मचारी खटाउन नसक्दा पालिकाका कामहरु प्रभावित हुने गरेका छन् ।