प्रमुख समाचार

निर्वाचनको एक वर्षपछि प्रमुख सचेतक गिरी जनगुनासो सुन्न पर्वतवासीका घरदैलोमा

By लोकतन्त्र अनलाईन

December 20, 2023

पर्वत– प्रतिनिधि सभामा दोस्रो कार्यकालका लागि निर्वाचित भएको एक वर्ष पछि सांसद एवम् एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरी निर्वाचन क्षेत्रका जनताको गुनासो सुन्न घरदैलो अभियानमा निस्किनुभएको छ । संसद संचालन नभएको मौका छोपेर बुधवारदेखि गिरी गाउँ अभियानमा निस्किनुभएको हो । उहाँले आफुले निर्वानका बेला गरेका प्रतिवद्धता के कति पुरा भए, के कति बाँकी छन् र जनताको आशा र अपेक्षा तथा आवश्यकता के छन् भन्ने बुझन्का लागि निर्वाचन अघिकै जसरी घरदैलो अभियानमा निस्किएको बताउनुभयो । यो अभियान एक साता सम्म संचालन हुने गिरीले बताउनुभयो । पर्वत जिल्लाका विभिन्न गाउँ वस्तीहरुमा घरदैलो अभियान सहित जनगुनासो सुन्ने कार्यक्रम लिएर सांसद गिरी बुधवार देखि निस्किएको र जिल्लाका सवैजसो वडामा पुग्ने तयारी गरेको बताउनुभयो । एमाले जिल्ला उप सचिव बिमल लामिछानेका अनुसार गिरीले मोदी गाउँपालिकाका विभिन्न वस्तीहरुमा घरदैलो सकेपछि फलेवासका विभिन्न वडाहरुमा जनगुनासो सुन्ने कार्यक्रम लिएर जाने बताईएको छ । आर्थिक मन्दीका कारण विदेश पलायन बढिरहेको बेलामा विकास आयोजनाहरु ठप्प प्रायः बनेका छन् । गिरीले जनतासंग दोहोरो सम्बाद नगर्दा देशको वर्तमान अवस्थाको बारेमा जनतालाई थाहा नहुने भन्दै गाउँ वस्तीमै पुगेर जनतासँग भेटेने नियमित योजना बनाएको लामिछानेले बताउनुभयो । निर्वाचित भएपछि संसदका २ वटा अधिवेशनहरू सकिएका छन । संसद बैठकको यस अवधिभित्र संसदमा कानुन निर्माण, बिनियोजित बजेटको बारेमा छलफल, विकास निर्माणका मुद्दा उठान लगायत थुप्रै बिषयमा काम गरेको बताउँदै सांसद गिरीले अहिले संसदको बर्षे अधिवेशन सकिएको छ र केही समय सदन स्थगित भएको बेला मतदाताहरूको घरदैलोमा सांसद संग जनता भेटघाट कार्यक्रम लिएर हिडेको बताउनुभयो । आम निर्वाचन पछिको यो एक बर्षको बिचमा आफुले गरेका कार्यहरूको सम्बन्धमा प्रतिक्रिया, जनताका समस्य , गुनासो, विकास निर्माणका कार्यको अवस्था, अनुगमन र कानुन निर्माणमा सुझाव संकलन जस्ता थुप्रै बिषयमा जनतासँग छलफल हुने उहाँको भनाई छ । जिल्लाको जलजला गाउँपालिकाको बाँसखर्क देखि दक्षिणमा पर्ने पैंयु गाउँपालिकाको टकलाक सम्मनै पुग्ने गरि कार्यक्रम तय भएको उहाँको भनाई छ ।