प्रमुख समाचार

कालीगण्डकीको शालिग्राम शिला चितवनको माडि लगियो

By लोकतन्त्र अनलाईन

November 20, 2023

पर्वत – दामोदरकुण्ड र मुक्तिनाथवाट उत्पत्ति भई मुस्ताङ, म्याग्दी, पर्वत, बागलुङ स्याङ्जा हुँदै बग्ने पवित्र कालीगण्डकी नदिको शिला(ढुंगा) चितवन लगिएको छ । धार्मिक पर्यटनको विकास गर्ने उद्धेश्यले पर्वतको कुश्मा नगरपालिमा वडा नं. १ सहस्रधारा स्थित कालीगण्डकी नदीबाट शालिग्राम शिला चितवनको माडीमा लगिएको हो । माडी नगरपालिकाले कुश्मा नगरपालिकासँग सहकार्य गरेर नदीमा रहेको शालिग्राम शिला लगेको हो । सोमबार नदी किनारमा कुश्मा नगरप्रमुख रामचन्द्र जोशी र उपप्रमुख स्वस्थानी रिजालले माडी नगरपालिकाका नगरप्रमुख तारा कुमारी काजी महतोलाई धार्मिक पुजा विधि पश्चात शालग्राम शिला हस्तान्तरण गर्नुभएको छ । उक्त शिला १ हजार बर्षमा १ सेन्टीमिटर पनि पानीले खिवाउन नसक्ने ललितकला प्रज्ञा प्रतिष्ठानका मुर्ति विशेषज्ञ दिनेश्वर महतोले जानकारी दिनुभयो । उहाँले गैडाकोट देखि गलेश्वरसम्म मूर्तिका लागि उत्तम शिलाको खोजी गर्दा कुश्मा – १ सहस्रघारा नजिक उक्त शिला फेला पारेको समेत जानकारी दिए । धार्मिक पर्यटनको विकासको लागि उक्त शिलालाई माडी नगरपालिकाले मुर्तिआकार बनाएर राख्ने माडी नगरप्रमुख महतोले जानकारी दिनुभयो । उहाँले बहुमूल्य शिला उपलब्ध गराएर सहयोग गरेको भन्दै कुश्मा नगरपालिकासँग माडी नगरपालिकाले भागिनी सम्बन्ध स्थापित गर्न आफूहरु तयार रहेको समेत बताउनुभयो । दुई नगरपालिका वीच अन्य विकास आयोजनाहरुमा समेत सहकार्य हुनसक्ने महतोको भनाई थियो । कुश्मा नगरप्रमुख रामचन्द्र जोशीले धार्मिक रुपमा निकै पवित्र मानिएको कालीगण्डकी नदी निरन्तर दोहनको चपेटा परीरहेको भन्दै दुःख ब्यक्त गर्नुभयो । उहाँले कानूनी रुपमा समेत नदी उत्खनन गर्न नपाइने भएपनि लुकीछिपी दोहन भइरहेको बताउनुभयो । उहाँले धार्मिक पर्यटन विकासको लागि माडी नगरपालिकालाई शिला उपलब्ध गराउँदा कालीगण्डकी नदीको महिमा अझै बृद्धि भएको उल्लेख गर्नुभयो । उपप्रमुख स्वस्थानी रिजालले पवित्र कालीगण्डकी नदी किनारको शालिग्राम शिला मार्फत माडी नगरपालिकाले धार्मिक पर्यटन विकास गर्ने कार्य गरेको भन्दै नगरपालिकाका प्रशंसा गर्नुभयो । कालीगण्डकी नदी विश्वमै एकमात्र शालिग्राम शिला पाईने नदी हो । केहि समय अघि मात्र भारतको अध्योयामा समेत म्याग्दीबाट कालीगण्डकी नदीको शालिग्राम शिला लगिएको थियो । अध्योयामा रामको मूर्ति बनाउनका लागि उक्त शिला भारत लगिएको थियो ।