प्रमुख समाचार

नेन्सर यूवा क्लव द्धारा विपन्न समूदायलाई खाद्यन्न सामाग्री वितरण

By लोकतन्त्र अनलाईन

December 14, 2023

पर्वत – पर्वतको कुश्मामा सामाजिक कार्यमा क्रियाशिल नेन्सर यूवा क्लवले स्थानीय विपन्न समूदायलाई खाद्यन्न सामाग्री वितरण गरेको छ । कुश्मा नगरपालिका ७ मा रहेका सिमान्तकृत माझी समूदायका ५ परिवारलाई चामल, दाल, नुन, तेल लगायतका खाध्य सामाग्री क्लवले प्रदान गरेको हो । आज गोदाममा आयोजित एक कार्यक्रममा क्लवको तर्फबाट प्राप्त सामाग्री कुश्मा नगरपालिका ७ का वडाध्यक्ष परशुराम पुरीले हस्तान्तरण गर्नुभयो । क्लवले यहि मंसिर २२ गते देखि २५ गते सम्म आयोजना गरेको फुटवल प्रतियोगितामा प्राप्त आर्थिक सहयोग बाट बचेको रकम बाट सामाग्री खरिद गरि विपन्न समूदायमा वितरण गरेको नेन्सर यूवा क्लवका अध्यक्ष अमर गुरुङले जानकारी दिनुभयो । वडाध्यक्ष परशुराम पुरीले क्लवले खेलकुदको कार्यक्रम गरेर मनोरन्जन दिनुका साथै समूदायका विपन्नलाई सहयोग गरेर सामाजिक भावनाको विकास गरेको भन्दै खुशी व्यक्त गर्नुभयो । उहाँले क्लवले देखाएको सामाजिक सेवाभावको अरुले पनि अनुसरण गर्नुपर्ने कुरामा जोड दिनुभयो । वडाको तर्फबाट विपन्न माझी समूदायको जीवनस्तर उकास्ने खाले कार्यक्रम ल्याउने योजनामा रहेको वडाध्यक्ष पुरीले बताउनुभयो । उक्त कार्यक्रममा वडा सदस्य गंगा नेपाली, समाजसेवी राम्जी शर्मा, क्लवका उपाध्यक्ष, सचिव लगायत पदाधिकारी सहभागी हुनुभएको थियो । क्लवको खेलकूद कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको र यसमा सहयोग गर्ने सबैलाई क्लवको तर्फबाट अध्यक्ष अमर गुरुङले धन्यबाद दिनुभयो । उहाँले आफ्नो क्लवले विगतका वर्षहरुमा पनि खेलकुद संगै अन्य सामाजिक काम गर्दै आएको र आगामी दिनमा पनि सामाजिक काममा क्रियाशिल हुने अध्यक्ष गुरुङले बताउनुभयो ।