प्रमुख समाचार

पर्वतको नमुना बोर्डिङ स्कुलका शिक्षकद्धारा विद्यार्थीमाथि निर्घात कुटपिट

By लोकतन्त्र अनलाईन

December 12, 2023

पर्वत-पर्वतको सदरमुकाम कुश्मामा रहेको निजी विद्यालय नमुना आवासीय माध्यमिक विद्यालयका शिक्षकले आफैले अध्यापन गराउने विद्यार्थीमाथि निर्घात कुटपिट गरेका छन् । विद्यालयमा मावि तहका शिक्षक सज्जन पौडेलले कक्षा ७ मा अध्ययनरत विद्यार्थी स्वणर्िम केसीलाई निर्घात कुटपिट गरेका हुन् । सोमबार देशभर मानवअधिकार दिवस मनाउँदै गर्दा यता शिक्षक पौडेलले विद्यार्थी केसीलाई कक्षा कोठामा पढाई चलिरहेका बेला मुक्का र लात्ती प्रहार गरेको पिडित विद्यार्थी स्वणर्िम केसीले बताएका छन् । शिक्षकले आफुलाई हात र खुट्टाले प्रहार गर्दै ढोकाबाट बाहिर फालिदिएको उनको भनाई छ । शिक्षकको कुटाइबाट घाइते भएका केसीलाई विद्यालयका अन्य शिक्षकहरूले कुश्माको एक निजी मेडिकलमा लगेर सामान्य उपचार गराएर घर पठाएका थिए । तर विद्यार्थीको अभिभावकले छोराको दाहिने आँखा हेर्न नमिल्ने गरी सुनिएपछि बेलुका पोखरा अस्पताल पुर्‍याएर फर्काएका थिए । शिक्षकको कुटाइबाट शरीरका अन्य ठाउँहरूमा समेत चोट लागेको विद्यार्थी केसीकी आमा चिनु केसीले बताउनुभयो । उहाँले आफ्नो छोरालाई मरणासन्न हुने गरी कुटपिट गर्ने शिक्षकलाई विद्यालयले उचित कारबाही गर्नुपर्ने माग राख्नुभएको छ । विद्यार्थीमाथि आक्रमण गर्ने शिक्षकले यस भन्दा अघि पनि अन्य विद्यार्थीहरूलाई कुटपिट गरेका कारण विवादमा आएका थिए । यता शिक्षक पौडेलले कक्षामा आफूले पढाउँदै गर्दा अनुशासनहीन गतिविधि गरेपछि रिसमा आउँदा यस्तो घटना घटेको र अबका दिनमा आफू सच्चिन तयार रहेको बताएका छन् । अभिभावकले शिक्षकलाई कारबाही गर्नुपर्ने माग राख्दै जिल्ला प्रहरी कार्यालय पर्वत पुगेर प्रहरी नायब उपरिक्षक खुमलाल भुसालसँग छलफल गरेका छन् । प्रहरी नायब उपरिक्षक भुसालले पिडितको जाहेरी परिनसकेको बताउँदै जाहेरी आएमा कानून अनुसार कारबाही हुने बताउनुभयो । प्रहरीमा पुगेका पिडित पक्षले आपसी छलफल गर्ने भन्दै फर्किको बताईएको छ ।